Loktantra Khabar National Weekly
Ad

बालिकासँगको प्रेमको कारण अजिमको हत्या

लोकतन्त्र खबर
१५ आश्विन २०८०

जनकपुरधाम असोज १५  , सप्तरीको खडक नगरपालिका ११ बनौलीमा प्रहरी सर्चअप्रेसन गरि पोखरीमा फेला परेको शव बेपत्ता युवक १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ ।

शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव युवक अजिमकै रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए । अजिम गाउँकै मोहम्मद समिउल्लाका छोरा हुन् ।

प्रहरी स्रोतका अनुसार अजिमको एक  बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ ।

भदौ २१ गते कृष्णाष्टीमीको दिन गाउँमै लागेको मेला हेर्न अजिम दिउँसो घरबाट निस्केका थिए । साँझ ६ जना साथीसित मेला हेरेर रमाइलो गरे । चार जना साथी घर फर्किए । रात परेपछि अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे ।

तर अजिमले आफू प्रेमिका भटेर आउने भन्दै ती साथीलाई घर फर्किन भनेका थिए ।  तर उनी बेपत्ता भए । घरपरिवार राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।

प्रहरी लामोसमय सम्म खोजे । तर पत्तो लागेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अन्तमा मेलाबाट छुटेका साथीको क्लुबाट अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाले । त्यसपछि शंकास्पद व्यक्ति पक्राउ गरे ।

तर उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार सर्च अप्रेसन गरेको थियो ।  त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिंग भेटियो ।

रिंग फेला परेपछि पोखरी सुकाउन थालियो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । साँझ परेपछि छाडियो । भोलिपल्ट शनिबार बिहान थप खोजेपछि रिंगको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।युवकको बीभत्स तरिकाले हत्या गरेको र घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ हत्यामा संलग्न भएको आरोमा बालिकाकी आमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय  छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । आज दिउँसो प्रेस रिलिज गरेर घटनाको विस्तृत जानकारी दिन्छौं’, डीएसपी न्यौपानेले भने ।

हत्यामा संलग्न आरोपी प्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीरबन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ । बालिकाको बुबाको मृत्यु भइसकेको छ ।

प्रहरी स्रोतका अनुसार हत्या भएका अजिम गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीमा पढ्थे ।

उनले एसईई दिएका थिए । त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम परेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: