Loktantra Khabar National Weekly
Ad

व्यापारीलाई १५ दिनभित्र ५ लाख दिने सर्तमा विद्यालयमा लगाइएको ताला खोल्ने सहमति

लोकतन्त्र खबर
१५ आश्विन २०८०

विद्यालय भवन बनाएको ऋण तिर्न चन्दा संकलन गरिने

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-७ स्थित जनज्योती आधारभुत विद्यालयमा लगाइएको ताला खोल्ने सहमति भएको छ।

पाँच वर्षअघि विद्यालय भवन निर्माण गर्दा सानीभेरी हार्डवेयरबाट उधारोमा ल्याइएको निर्माण सामग्रीको भुक्तानी नगरेपछि आइतबार हार्डवेयर व्यवसायी मनिषा विसी वलीले विद्यालयको मूल गेटमा ताला लगाइदिएकी थिइन्।

विद्यालमा ताला लागेपछि त्यहाँ अध्ययनरत ५० विद्यार्थी र शिक्षकहरू घर फर्किन वाध्य भएका थिए।

त्यसपछि विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि र व्यवसायीबीच छलफल भएको थियो। छलफलपछि १५ दिनभित्र पाँच लाख रूपैयाँ उपलब्ध गराउने सर्तमा व्यवसायी वली ताला खोल्न सहमत भएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर वलीले जानकारी दिए।

वलीले बैंकले ऋण तिर्न दबाव दिएपछि आफूले पाउनुपर्ने भुक्तानीका लागि बारम्बार विद्यालयसँग अनुरोध गर्दापनि सुनुवाइ नभएपछि ताला लगाउनुपरेको बताइन्।

आइतबारको छलफलपछि आफू ताला खोल्न सहमत भएको पनि उनले जानकारी दिएकी छन्।

‘भोलिसम्म उहाँहरुले पाँच लाखको चेक पनि दिने भन्ने कुरा छ,’ मनिसाले भनिन् ‘ त्यही सर्तमा मैले विद्यालयमा लगाएको ताला खोल्न दिने सहमति गरेकी हुँ।’ उनले आफैं गएर विद्यालयको गेटमा लगाएको ताला खोल्ने बताइन्।

विद्यालयका प्रधानाध्यापक वलीले भने चेक दिने सहमति नभई १५ दिनभित्र पाँच लाख रूपैयाँ दिने सहमति भएको बताए।

यसका लागि विद्यालयले चन्दा संकलन सुरू गरेको छ।

‘हिजो एकै दिनमा हामीले एक लाख ३२ हजार चन्दा संककलन गरेका छौं,’ प्रधानाध्यापक वलीले भने।

वली प्रधानाध्यापक हुनुभन्दा एक वर्ष अघि २०७५ साउनमा विद्यालयले जग्गा खरिद गरेर दुईवटा भवन बनाएको थियो।

जग्गा खरिद गर्दा २२ लाख र भवन बनाएको समेत गरी अझैं ३३ लाख जति ऋण तिर्न बाँकी रहेको वलीले बताए।‘विद्यालयसँग स्रोत छैन, त्यत्रो पैसा कसरी तिर्ने,’ वलीले भने, ‘हामीले गाउँपालिकादेखि नेता सबैलाई गुहार्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको हो।’

वलीका अनुसार असोज १० गते पनि व्यापारीले गेटमा ताला लगाइदिएकाले पढाइ हुन सकेको थिएन। त्यसदिन पनि उनीहरू समस्या लिएर गाउँपालिका पुगेको र छलफल पछि ११ गते ताला खुलेको थियो।

२०७५ सालमा विद्यालय भवन बनाउँदा छड, सिमेन्टलगायत सामग्री विद्यालयले सानीभेरी हार्डवेयर प्रालिबाट लगेको थियो। करिब दश लाखको सामग्री लगेकोमध्ये चार लाख विद्यालल भुक्तानी गरिसकेको छ।

ब्याजका कारण अझैं ८ देखि ९ लाख रुपैंया भुक्तानी गर्न बाँकी रहेको प्रअ वलीले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: