Loktantra Khabar National Weekly
Ad

अस्पतालभित्रै फेरि कुटिए डाक्टर, विरोधमा सिनामंगलमा प्रदर्शन

लोकतन्त्र खबर
१४ आश्विन २०८०

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

आज दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।

उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। एक डाक्टरका अनुसार १ बजेतिर एक व्यक्ति बिरामी लिएर ओपिडिमा आएका थिए।

ओपिडी अगाडि भीड भएपछि डा.मनिष खड्काले उनलाई लाइनमा बस्न भनेका थिए। त्यसपछि बिरामी लिएर आएका व्यक्तिले डा.खड्कामाथि कुटपिट गरेका हुन्।

केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।

चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागेपछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरूलाई सडकमा निस्कन  दिएका छैनन्।

यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए।

डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: