Loktantra Khabar National Weekly
Ad

धर्मको नाममा द्वन्द्व सिर्जना गरेर सामाजिक सद्भावमा खलल नपुर्‍याउन रास्वपाको अपिल

लोकतन्त्र खबर
१० आश्विन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,असोज १०

बिगत केही समयदेखि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका र आसपासका क्षेत्रहरुमा भइरहेको सामाजिक सद्भावमा खलल पुर्याउने खालका गतिविधिहरु प्रति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति सर्लाहीले चिन्ता ब्यक्त गरेको छ।

पार्टीका संयोजक एवं मधेस प्रदेश सदस्य कमलेश साहले आज एक विज्ञप्ति जारी गर्दै सबै धर्मको एक आस्था रहेको मलंगवा स्थित धार्मिक स्थलमा शदियौंदेखि आपसी सद्भाव ,सहयोग र भाइचाराले मिलिजुली बसेको समाजमा केही उच्छृङ्खल ब्यक्तिहरुका कारण मुर्ती सेलाउने क्रममा भएको घटना र त्यसपछिको घटना क्रमले यहाँको समाज तथा अर्थ व्यवस्थामा नकारात्मक असर पर्दै गइरहेको अवस्था देखिनुको साथै स्थानीय प्रशासनले जारी गरेको कर्फ्युका कारण जनजिवन अक्रान्त एवं कष्टकर बनाएकोमा चिन्ता व्यक्त गरेका हुन।

संयोजक साह द्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत केही अवाञ्छित ब्यक्तिहरुले आफ्नो स्वार्थ पुर्तिका लागि जाती,धर्मको नाममा समाजमा हिंसा मात्र भड्काउने गरेकोले त्यस्ता ब्यक्तिलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने जोडदार माग गरिएको छ।

साथै पार्टीको जि.का.समितिले जारी गरेको विज्ञप्ति मार्फत सामाजिक संजालको प्रयोग संयमित भएर प्रयोग गर्न र सामाजिक सद्भाव विगार्ने तथा एकअर्कालाई भड्काउने खालका स्टेटस र भिडियोहरु सामाजिक संजालमा पोस्ट तथा सेयर नगर्न ,नगराउन सबैसँग अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्: