Loktantra Khabar National Weekly
Ad

प्रदेश सरकारले गौरवको आयोजनामा राखेको साढे २ किलोमिटर सडक ३ वर्षमा पनि बनेन

लोकतन्त्र खबर
१० आश्विन २०८०

धनगढी । कैलालीमा डेढ वर्षमा बन्नुपर्ने साढे २ किलोमिटर सडक ३ वर्षमा पनि बन्न नसकेपछि पुनः म्याद थपिएको छ । निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित सरकारी निकायको बेवास्ताले कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा फल्टुडे सडक निर्धारित समयमा बन्न नसकेको हो ।

प्रदेशकै गौरव आयोजना अन्तर्गत यो सडक निर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार सडक निर्माणको काम २०७८ माघ १७ गतेभित्र सम्पन्न हुुनुपर्ने थियो । तर तेस्रो पटक म्याद थप गर्दा ४० प्रतिशतको हाराहारीमा मात्रै काम भएको बताइएको छ ।

निर्माण कम्पनीले पहिलोपटक तोकिएको म्यादमा काम नसकेपछि दोस्रो पटक २०८० असार मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि हाल २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको भौतिक पूर्वाधार विकास कार्यालय सबइन्जिनियर जनक रोकायाले जानकारी दिए ।

उनले म्याद थप गरिए पनि हाल काम सुरु नभएको बताए । हाल उक्त सडकमा निर्माण कम्पनीले नाला निर्माणको काम पनि पूरा गर्न सकेको छैन ।

चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले गौरवको योजनामा राखेर क्रमागत योजना अन्तर्गत काम अगाडि बढाएको थियो । प्रदेश सरकारले निर्माण सुरु गरेको पहिलो खण्डको काम नसकिँदै गत आर्थिक वर्षमा पुनः थप ३ किलोमिटर सडक कालोपत्रे गर्न नयाँ ठेक्का गरिसकेको छ ।

३ किलोमिटर थप सडक कालोपत्रे गर्नका तेडी निर्माण सेवासँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको छ । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । दोस्रो खण्डको काम पनि हाल सुरु हुन सकेको छैन ।

पहिलो खण्डको सडक निर्माणको लागि थेगिङसँग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो ।

चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले लथालिङ्ग पारेपछि हाल संघीय सरकारले पनि उक्त सडकमा काम सुरु गर्न प्रक्रिया अगाडि बढाएको छ । तर, संघीय सरकारको काम पनि अझै सुरु हुन सकेको छैन ।

स्थानीयलाई हैरानी

गोदावरी नगरपालिका– १२ का वडा अध्यक्ष भीम खड्काले सडक निर्माणमा ढिलाइ हुँदा ओलानीवासीले आवतजावतमा निकै हैरानी खेप्नु परेको बताए । उनले सडकमा प्रदेश, संघ र एडीबीको योजना परे पनि ओलानीसम्म कालोपत्रे सडक जोडिन नसक्दा निकै समस्या भोग्नु परेको बताए । हाल संघीय सरकारले पनि सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाएकाले सडक बन्ने आशा बढेको स्थानीयले बताएका छन् ।

चौकीडाँडा फल्टुडे सडक ओलानी क्षेत्र भएर जाने भएकाले त्यस क्षेत्रका जनताले यो सडक बनेपछि लाभ लिने अपेक्षा गरिएको छ । तर, सडक निर्माणमा निकै ढिलाइ हुँदा त्यस क्षेत्रका जनता निराश भएका हुन् । वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिंह बडौलाले प्रदेश सरकारले चौकीडाँडा फल्टुडे सडकलाई प्रदेशको गौरवको योजनामा राखे पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगर्दा सडक निर्माण हुनेमा अन्योल बढेको बताए । उनले हाल संघीय सरकारले काम अगाडि बढाउने भनेकाले सडकले गति लिनेमा आफूहरू आशावादी रहेको बताए ।

चौकीडाँडा फल्टुडे सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रुपमा लिइन्छ । ३४ किलोमिटर रहेको उक्त सडकको ट्रयाक खुले पनि २२ किलोमिटरको मात्रै डीपीआर तयार भएको जनाइएको छ । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: