Loktantra Khabar National Weekly
Ad

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

लोकतन्त्र खबर
१० आश्विन २०८०

काठमाडौं  असोज १० ,  नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।

२०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो ।

नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो ।

यो खेलमा नेपालले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो ।

३४ बलमा शताब्दी रन हानेर कीर्तीमानी बनाएका मल्लले ५० बल खेल्दै १३७ रन बनाए भने ९ बलमा ५० रन हानेर कीर्तीमान बनाएका ऐरीले १० बल खेल्दै ५२ रन बनाए ।

यस्तै नेपालका क्याप्टेन रोहित पौडेलले २७ बलमा ६१ रनको योगदान गरे । ओपनरद्वय कुसल भुर्तेलले १९ र आसफ शेखे १६ रन बनाए ।

नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाका दभासुरेनले २ चौका मद्दतमा १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । तर, अतिरिक्तबाट मात्रै मंगोलियाले २३ रन पाएको थियो ।

मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: