Loktantra Khabar National Weekly
Ad

संविधान संशोधन नभएसम्म कालो दिवसलाई निरन्तरता दिइरहने लोसपा नेपालको चेतावनी

लोकतन्त्र खबर
३ आश्विन २०८०

मनोज यादव—-
सर्लाही,असोज ३

मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएको छ ।

२०७२ साल असोज ३ गते जारी संविधानलाई कालो संविधान र दिवसलाई कालो दिनको संज्ञा दिंदै लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीले यस दिनलाई कालो दिवसको रूपमा मनाएको हो।

संविधानको विरुद्धमा बुधबार दिउँसो लोसपा नेपाल सर्लाहीका जिल्ला संयोजक राम प्रसाद यादवको नेतृत्वमा देवेन्द्र यादव(गोडैता नगरपालिका नगरप्रमुख) हुसैन खान लगायतका नेता तथा कार्यकर्ताहरु कालो ब्यानर र टाउकोमा कालो फेटा बाँधेर र्‍याली निकालेर मलंगवा बजारको परिक्रमा गरेका छन् ।

र्‍याली पछि मलंगवा-१० स्थित सहिद पार्कमा कोणसभाको आयोजना गरिएको थियो।उक्त कोणसभामा बोल्दै पार्टीका जिल्ला संयोजक यादवले अहिलेको संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको बताए। उनले अहिलेको संविधानलाई कालो संविधानको संज्ञा दिंदै यस किसिमको विभेदकारी संविधानलाई संसोधन गर्नुपर्ने जोडदार माग गरेका थिए।

त्यस्तै कोणसभामा बोल्दै लोसपा सर्लाहीका नेता एवं गोडैता न.पा का नगरप्रमुख देवेन्द्र यादवले संविधान संशोधन नभए सम्म तराई-मधेसका जनता यसैगरी संविधानको विरोधमा कालो दिवस मनाइरहने चेतावनी दिए।

जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने उनले बताए ।

मलंगवा न.पा को वडा न-१० जिविस चौक स्थित सहिद पार्कबाट निकालिएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: