Loktantra Khabar National Weekly
Ad

एमाले बागमतीमा अध्यक्षका आकांक्षीको लर्को

लोकतन्त्र खबर
३१ भाद्र २०८०

महेश बस्नेत र गोकुल बाँस्कोटाको भूमिका निर्णायक हुन सक्ने

नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा आकांक्षीको लर्को लागेको छ। एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ।

पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन्।

अहिलेसम्म प्रदेश अध्यक्षको दौडमा तीन जना केन्द्रीय सदस्य देखिएका छन्।

रामेछापका कैलाश ढुंगेल, दोलखाकी रचना खड्का र मकवापुरका कृष्ण दाहाल प्रदेश अध्यक्षको दौडमा छन्।

पार्टी पंक्तिले विश्वास गरे नेतृत्वका लागि तयार रहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन्।

‘जिम्मेवारी पाउँदा काम नगर्ने भन्ने प्रश्नै आउँदैन। प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ,’ खड्काले सेतोपाटीसँग भनिन्, ‘भूगोललाई आधार बनाएर काम गर्दा मूल्यांकनको एउटा आधार बन्छ।’

बागमती प्रदेशमा एमाले अत्यन्तै कमजोर बनेकाले उठाउनकै निम्ति अध्यक्षको आकांक्षा राखेको कृष्ण दाहालले बताए। गत निर्वाचनमा बागमती प्रदेशभरि एमालेले प्रतिनिधि सभामा ४ स्थानमात्र जितेको थियो।

बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं-९, ललितपुर-२, काभ्रेपलाञ्चोक-२, मकवानपुर-२ जितेको थियो।

‘बागमती प्रदेशमा पार्टी कमजोर छ। कमजोर भएको पार्टीलाई उठाउने आत्मबलसहित मैले उम्मेदवारी दिने तयारी गरेको हुँ,’ उनले भने, ‘झन्डै १५ वर्ष मकवानपुरको पार्टी कामको नेतृत्व गरेको अनुभव पनि छ। साथीहरूले विश्वास गरेर अध्यक्षमा उम्मेदवारी दिनुस् भनिराख्नु भएको छ।’

मकवानपुर-२ बाट प्रतिनिधि सभामा निर्वाचित र नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताए।

‘अधिवेशनमा नेतृत्वको आकांक्षा राख्नु स्वाभाविकै हो। तर, बागमती प्रदेशमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन हुनुपर्छ भन्ने आम प्रतिनिधिको चाहना रहेको देखिन्छ,’ प्रदेश संगठन कमिटीको सहसचिवसमेत रहेका उनले भने, ‘मैले पनि चुनाव हुने सम्भावना देखेको छैन।’

नेतृत्वको रस्साकस्सीमा बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वसांसद चितवनका कृष्णभक्त पोखरेल, अहिलेका प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डे, सचिव विजय सुवेदी पनि देखिएका छन्।

अहिलेका अध्यक्ष पाण्डेको कार्यसम्पादन फितलो देखिएको भन्दै गुनासो बढेपछि उनी दोहोरिने सम्भावना टरेको एक नेताले बताए।

महेश बस्नेत र गोकुल बास्कोटाको भूमिका निर्णायक

बागमती प्रदेश अध्यक्षमा पोलिट्ब्युरो सदस्य महेश बस्नेत र गोकुल बाँस्कोटा आकांक्षीका रूपमा थिए। बाँस्कोटालाई केही समय अघिको सचिवालय निर्णय बाधक भयो। सचिवालय बैठकले सांसदहरू पार्टी कमिटीको कार्यकारी (अध्यक्ष र सचिव) भूमिकामा रहन नपाउने निर्णय गरेको छ।

बस्नेतले पनि आफू नेतृत्वको दौडमा नरहेको बताइसकेका छन्।

तथापि बागमती प्रदेशमा यी दुई नेताको भूमिका निर्णायक हुने प्रदेश कमिटीका एक पदाधिकारीले बताए।

बस्नेतको काठमाडौं उपत्यकामा राम्रो प्रभाव छ। बाँस्कोटाको काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा प्रभाव रहेको नेताहरू बताउँछन्।

एक नेताका अनुसार बस्नेतले रामेछापका कैलाश ढुंगेललाई अघि सार्न नेताहरूलाई लबिइङ तीव्र बनाएका छन्। बाँस्कोटाको रोजाइमा मकवानपुरका कृष्ण दाहाल परेका छन्।

२०४८, २०५६, २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित दाहाल अघिल्लो संसदमा अर्थ समितिका सभापति थिए।

पछिल्लो समय पार्टीको कार्यकारी भूमिका नरहेका र राजकीय जिम्मेवारीमा पनि नरहेकाले उनलाई अघि सार्नु उपयुक्त हुने बाँस्कोटाको बुझाइ देखिन्छ।

उता कैलाश ढुंगेलले पनि कार्यकारी भूमिका पाएका छैनन्। लगातारको हारपछि २०७४ को निर्वाचनमा रामेछाप (ख)बाट प्रदेश सभामा निर्वाचित उनी पूर्व जिविस सभापति पनि हुन्।

२०४८, २०५१, २०६४, २०७० मा लगातार चुनाव लडे पनि उनले जित्न सकेका थिएनन्। गत मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजार ३ सय ६९ मतान्तरले पराजित भएका थिए।

ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूको समर्थन लिएर अघि सार्न लागिएको एमाले नेताहरूले जानकारी दिएका छन्।

यद्यपि, लुम्बिनी प्रदेशमा जस्तो शीर्ष  नेताहरूको चाहना बाहिर प्रकट नभइसकेको एक नेताले जानकारी दिए।

‘तलबाट सर्वसम्मत प्रतिनिधि चयन भएर आएकाले नेतृत्व चयन पनि सर्वसम्मत रूपमै गर्न दबाब बढेको छ। लुम्बिनी प्रदेशमा जस्तो चुनावको सम्भावना देखिँदैन,’ ती नेताले भने।

पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाँलले भने चुनावको सम्भावना टरिनसकेको बताए।

‘अधिवेशन हो, एकभन्दा बढी आकांक्षी भएपछि यसै भन्न सकिँदैन,’ उनले भने।

सर्वसम्मत छानिँदै छन् प्रतिनिधि

बागमती प्रदेश संगठनले भदौ २७ गते १ सय १९ वटै पालिकामा प्रतिनिधि चयन गर्ने तयारी गरेको थियो। तर, गत सोमबार संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शनिबार प्रतिनिधि चयन गर्‍यो। रसुवालगायत केही जिल्लामा आज पनि प्रतिनिधि चयन भइरहेको छ। अधिकांश ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको नेताहरूले जानकारी दिए।

काठमाडौंका ११ वटै पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएको पोलिट्ब्युरो सदस्य रामेश्वर फुयालले जानकारी दिए। काठमाडौं महानगरपालिकामा ३४ सहित काठमाडौंमा १ सय ३७ जनाभन्दा बढी प्रतिनिधि सर्वसम्मत छानिएको उनले बताए।

बागमतीमा एमालेका १ लाख ९ हजार २ सय ३८ जना संगठित सदस्य रहेको प्रदेश कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए। जसमध्येबाट १ हजार १ सय ५० हाराहारी प्रतिनिधि चुनिएर आउँछन्।

बागमती प्रदेशले एक सय संगठित सदस्यमध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको थियो। कुल संगिठत सदस्य मध्येबाट सय भाग लगाउँदा शेष ५० रहेमा त्यसबाट थप एक जना निर्वाचित गराउने व्यवस्था छ।

त्यस्तै ३३ प्रतिशत महिला, दुई जना प्रतिनिधि चुनिने अवस्था आएमा एकजना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ। एक निर्वाचन क्षेत्रमा एक जना प्रतिनिधि दलित समुदायबाट निर्वाचित हुने व्यवस्था रहेको पनि कार्यालय सचिव पोखरेलले जानकारी दिए।

एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ। बन्द सत्र प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ।

एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।

अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले २ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यालय सचिव पोखरेलले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: