Loktantra Khabar National Weekly
Ad

भारतविरुद्ध आज बङ्गलादेशले बनाउला त नेपालले भन्दा बढी रन ?

लोकतन्त्र खबर
२९ भाद्र २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरणको अन्तिम खेल शुक्रबार भारत र बंगलादेशबीच खेलिँदै छ । भारत र बंगलादेशबीचको उक्त खेलको नतिजाले फाइनल प्रवेशको समीकरणलाई भने कुनै असर पार्ने छैन ।

भारत र श्रीलङ्का यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । बङ्गलादेश र पाकिस्तान भने उपाधि होडबाट बाहिरिइसकेका छन् । ‘सुपर फोर’ चरणको आफ्नो अन्तिम खेलमा बिहीबार राति श्रीलङ्कासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित भएपछि पाकिस्तान उपाधि होडबाट बाहिराएको हो ।

प्रतियोगिताको फाइनल खेल आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ । यो एसिया कपमा भारत एकमात्र अपराजित टोली हो । जारी एसिया कपमा भारतविरुद्धको खेलमा सर्वाधिक रन बनाउने टोली भने नेपाल हो । यद्यपि, वर्षाबाट प्रभावित उक्त खेलमा भारतले नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको थियो ।

पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले समूहगत चरणमा भारतविरुद्ध ४८।२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले ५८ रन बनाएका थिए । आसिफ एसिया कपमा अर्धसत्तक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

सोमपाल कामी भने केवल दुई रनका कारण अर्धसत्तक पुरा गर्नबाट चुकेका थिए । आक्रामक ब्याटिङ गरेको सोमपालले ५६ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । अर्का ओपनर कुशल भुर्तेलले पनि २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ३८ रन जोडेका थिए ।

यसका अतिरिक्त दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए । समग्रमा भारतविरुद्धको उक्त खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाली ब्याट्सम्यानले प्रतिओभर ४.७५ को औसतमा रन बनाएका थिए ।

नेपालले बनाएको त्यो रन नै जारी एसिया कपमा भारतविरुद्ध कुनै पनि टोलीले बनाएको सर्वाधिक रन हो । समूहगत चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा भारतले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६६ रन बनाएको थियो । तर, वर्षाका कारण पाकिस्तानले भने जवाफी ब्याटिङ गर्ने अवसर नै पाएन ।

यसैगरी ‘सुपर फोर’ चरणमा खेलिएको भारतविरुद्धको खेलमा पाकिस्तानी टोली ३२ ओभरमा केवल एक सय २८ रन बनाउँदै अलआउट भएको थियो । त्यसअघि भारतले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो । उक्त खेलमा भारत दुई सय २८ रनले विजयी भएको थियो ।

यसैगरी ‘सुपर फोर’ चरणको अर्को खेलमा श्रीलङ्काले पनि भारतविरुद्ध एक सय ७२ रनभन्दा बढी बढाउन सकेको थिएन । पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले ४१।३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रनमात्र बनाउन सक्यो । उक्त खेलमा ४१ रनले विजयी हुँदै भारत फाइनलमा पुगेको थियो ।

अब शुक्रबार भारतले ‘सुपर फोर’ चरणमा बङ्गलादेशसँग आफ्नो अन्तिम खेल खेल्दैछ । उक्त खेलमा बङ्गलादेशसँग नेपालको कीर्तिमान तोड्ने गतिलो अवसर छ । तर, त्यसका लागि भारतविरुद्धको उक्त खेलमा बङ्गलादेशले दुई सय ३० भन्दा बढी रन बनाउनु पर्ने हुन्छ । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: