Loktantra Khabar National Weekly
Ad

धार्मिक सहिष्णुता र सभ्यता कायम गर्न आग्रह गर्दै मलंगवा नगरपालिका द्वारा प्रेस विज्ञप्ति जारी

लोकतन्त्र खबर
२४ भाद्र २०८०

मनोज यादव—
सर्लाही,भाद्र २४

मलंगवा नगर क्षेत्रमा श्री कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा भएको अवाञ्छित क्रियाकलाप र सो घटना पछि उत्पन्न परिस्थिति प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षक भएको भन्दै आज(आइतवार)बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता र सभ्यता कायम गर्न सबै नागरिकसँग आग्रह गरेको छ।

आ-आफ्नो धार्मिक तथा सामाजिक मान्यता र विश्वास अनुसार  धार्मिक क्रियाकलाप गर्न पाउने अधिकार नेपालको संविधानमै रहेकोले सो अधिकारको विरुद्धमा कोही कसैले बाधा अवरोध पुर्याउनु उपयुक्त नभएको उल्लेख्य गर्दै विज्ञप्ति मार्फत मलंगवा नगरपालिकाले सो घटना प्रति गहिरो दु:ख ब्यक्त गरेको छ।

कुनै एक घटनालाई लिएर युगौंदेखि मिलेर बसेको विविधतायुक्त समाजको एकता र सहिष्णुतामा आँच आउने गरि कुनैपनि समुदायबाट गरिने प्रतिक्रियात्मक र उत्तेजक गतिविधि एवं निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति पुर्याउने खालका कार्यले कसैलाई कहिलेपनि राम्रो परिणाम दिन नसक्ने भएकोले यस्तो विषम परिस्थिमा धैर्यतापुर्वक व्यवहार गर्न र स्थानीय प्रशासन बाट जारी निषेधाज्ञाको पालना गरी सहयोगी र जिम्मेवार बन्न जारी विज्ञप्ति मार्फत सबै धार्मिक समुदायलाई नगरपालिकाले अनुरोध गरेको छ।

सम्भावित घटनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालयले हिजो(शुक्रवार)साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्मको लागि कर्फ्यु लगाएका थिए।पुन: नगरको अवस्थालाई ध्यानमा राखेर आज(आइतवार) बिहान ८ बजेदेखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्: