Loktantra Khabar National Weekly
Ad

मलंगवामा कर्फ्यु हट्यो निषेधाज्ञा सुरु/ आइतवार बिहान ८ बजेदेखि बुधबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लगाइयो

लोकतन्त्र खबर
२४ भाद्र २०८०

मनोज यादव—-
सर्लाही,भाद्र २४

सर्लाहीको सदरमुकाम मलंगवामा कृष्ण जन्मष्टमीको मुर्ती सेलाउने क्रममा भाद्र २२ गते शुक्रवार राती भएको अप्रिय एवं असामाजिक घटनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले धार्मिक, जातीय र साँस्कृतिक सद्भाव कायम राख्न शनिवार साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु हटाएको छ।

तर जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज(आइतवार) बिहान एक सूचना जारी गर्दै सर्वसाधारणहरुको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्येनजर गर्दै साविकको मलंगवा नगर क्षेत्र पुर्वमा झिम नदी,पश्चिममा मुसैली नहर,दक्षिणमा नेपाल-भारत सिमा क्षेत्र र उत्तरमा अस्थाइ प्रहरी पोष्ट गम्हरिया जाने सडक बाबा पेट्रोल पम्पसम्मको सिमा क्षेत्र भित्र कुनै पनि भेला,जुलुस,बैठक ,प्रदर्शन तथा पोस्टर,पर्चा जस्ता प्रचार सामाग्रीहरु टाँस्न वा लेख्न नपाइने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)(२)(१) र दफा ६ (ख)को (१)(ग) बमोजिम आज(आइतवार) २४ गते बिहान ८ बजेदेखि भाद्र २७ गते बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

आज बिहान जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठक मार्फत मानवअधिकारको सम्मान ,शान्तिसुव्यवस्था कायम,सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम राख्न सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जिवनमा असर पार्ने खालका कार्यहरु नगर्न/नगराउन अनुरोध गरिएको छ।

यस किसिमका कार्यहरु गर्ने गराउने जो कोही ब्यक्तिलाई कानुनले ब्यवस्था गरे अनुसारको कडाभन्दा कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी यादवले चेतावनी दिएका छन् ।

कर्फ्यु हटेपछि मलंगवा बजारमा किनमेल गर्नेहरुको चहलपहल सुरु भए पनि सम्भावित घटनालाई ध्यानमा राखेर बजारका अधिकांश पसलेहरुले आआफ्नो सटरहरु अहिले पनि बन्द राखेका छन ।

प्रतिक्रिया दिनुहोस्: