Loktantra Khabar National Weekly
Ad

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको एम्बुलेन्स र डोजर संचालनमा 

लोकतन्त्र खबर
१० श्रावण २०८०
साउन १० गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नै एम्बुलेन्स र ब्याक हृवी लोडर (डोजर) खरिद गरि संचालनमा ल्याएको छ ।
एम्बुलेन्स नहुदाँ बिरामीलाई स्वास्थ्य उपचार गर्न बाहिर जादाँ खर्च धेरै हुने गरेको र डोजर आएपछि बाटोघाटो निर्माण, मर्मत सम्भार तथा अन्य भौतिक संरचना निर्माण गर्नमा सहज भएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको आफ्नो एम्बुलेन्स नहुदाँ गाउँपालिका अध्यक्ष चढ्ने गाडी नै बिरामी ओसार पसारमा समेत प्रयोग हुदैं आएको थियो । एम्बुलेन्स आएपछि त्यो समस्या सामाधान भएर गएको छ ।
एम्बुलेन्स आएपछि गाउँपालिकाको बिरामीहरुलाई स्वास्थ्य उपचार गराउनमा सजिलो भएको  गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताएका छन् । अन्य ठाउँका एम्बुलेन्स लिएर स्वास्थ्य उपचार गराउनमा बाहिर जादाँ महँगो शुल्क तिर्नु पथ्र्यो । अब आफ्नै भएपछि सहुलियत दरमा एम्बुलेन्स सेवा पाउँछ  ।
आवश्यक परेको बेला बाहिरको एम्बुलेन्स कहिले काँही ढिलो आइ पुग्थ्यो । आफ्नै भएपछि २४ घण्टा जुनसुकै बेला पनि सर्वसधारणले सेवा पाउँछ । आफुले सपथ ग्रहण गर्ने दिन पालिकामा एम्बुलेन्स खरिद गर्ने भनेका थियौं । त्यो आज पुरा भएको छ । एम्बुलेन्स नआए सम्म आफु चढ्ने गाडी नै आवश्यक परेको बेलामा एम्बुलेन्सका रुपमा सेवा दिदैं आएको थियो ।
जुनसुकै समयमा पालिका भित्र कसैलाई स्वास्थ्य उपचारका लागि बाहिर लैजानु पर्दा आफु चढ्ने गाडी नै दिदैं आएको अध्यक्ष यादवले बताए ।
त्यस्तै बाटोघाटो निर्माण गर्न वा मर्मत सम्भार गर्न डोजर नहुदाँ समस्या हुने गरेको अध्यक्ष यादवले बताए । खोजेको बेला डोजर पाउँदैन्थ्यो । पाएपनि चर्को भाडा तिर्नु पथ्र्र्यो । पालिकाको आफ्नै डोजर भएपछि भाडा तिर्नु पर्ने र अन्य ठाउँमा गएर खोज्नु पर्ने समस्या टरेको अध्यक्ष यादवले बताए ।
एम्बुलेन्स र डोजर पालिकामा आइपुगेको छ । एक हप्ता भित्रमा चालक राखेर सेवा सुचारु हुने अध्यक्षले बताए ।
पालिकाले राजस्व छुट बाहेक २० लाख १० हजारमा एम्बुलेन्स र ४२ लाख ४० हजारमा डोजर खरिद गरि ल्याएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले बताएका छन् ।
एम्बुलेन्स आएपछि सर्वसधारण जनतालाई समयमै र सहज ढंगले सेवा पाउँछ । अरु भन्दा सस्तो दरमा पालिकाको एम्बुलेन्स सेवा उपलब्ध गराउँछ । त्यसैगरी डोजर आएपछि पालिकाले बिगतमा भाडामा ल्याउँदा महँगो पैसा तिर्नुृ पथ्र्यो । पालिकालाई अनावश्यक आर्थिक भार हुन्थ्यो । अब पालिकाको त्यस्तो खर्च हुदैंन् । बरु खाली समयमा भाडामा दिदाँ उल्टै आम्दानी हुन्छ । पालिकाको आम्दानीको स्रोतमा पनि बृद्धि हुने अधिकृत संजिवले बताए ।
पहिलो पल्ट गाउँपालिकामा एम्बुलेन्स र डोजर आएपछि स्थानियबासी खुशी भएका छन् । समस्या परेको बेला बाहिरको एम्बुलेन्स आउँदा महँगो पैसा तिर्नु परेको स्थानिय महेश साहले बताए । वर्षाको समयमा बाटोघाटो बिग्रिदाँ एम्बुलेन्स बाहिरबाट आउँदैन्थ्यो । कतिपयले आउन आनकानी गर्दथ्यो । पालिको आफ्नै भएपछि जुनसुकै बेला पनि सर्वसधारणले सेवा पाउने साहले बताए ।
प्रतिक्रिया दिनुहोस्: