Loktantra Khabar National Weekly
Ad

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो

लोकतन्त्र खबर
६ श्रावण २०८०
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए । घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिए । साथै उनले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका बताए ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए । “किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ ।”

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुनसक्ने उनले सुझाव दिए। उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको सङ्क्रमण फैलन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को सङ्क्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् । तीमध्ये सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्: