Loktantra Khabar National Weekly
Ad

वैज्ञानिकले बनाए भाइरस खाने जीव

लोकतन्त्र खबर
२८ पुष २०७९

काठमाडौं । विभिन्न रोग व्याधी फैलाउने विषाणु अर्थात् भाइरसबाट दुनिया आक्रान्त छ । पछिल्लो ३ वर्षदेखि कोरोना भाइरसलाई दुनियामा आतंक मच्चाइरहेको छ । यसैबीचमा वैज्ञानिकहरुले एउटा यस्तो खोज गरेका छन् जसले भाइरसको आतंकमा पूर्णविराम लगाउने सम्भावना देखाएको छ ।

वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले भाइरसलाई खान्छ । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का लिंकनका वैज्ञानिकहरुले भाइरसलाई नष्ट गर्ने यस्तो जीव पत्ता लगाएका हुन् । यसले भाइरसलाई नियन्त्रण गर्नका लागि भविष्यमा यो जीवको प्रयोग गर्न सकिने सम्भावना देखिएको बताइएको छ ।

सफा पानीमा पाइने यो सुक्ष्म जीव विश्वमै हालसम्म पाइएको यस्तो जीव हो जसले केवल भाइरस मात्र खाएर आफ्नो पेट भर्दछ । अर्थात् यसको खाना भन्नु नै केवल भाइरस मात्रै हो । हुन त आवश्यकता अनुसार भाइरसलाई खाने अन्य जीवहरु पनि हुन्छन्, जसलाई भिरोभोरी भनिन्छ । तर पछिल्लो पटक पत्ता लागेको जिवले भने केवल भाइरसको मात्रै भोजन गर्दछ ।

यो जीवको नाम हाल्टेरिया हो । यो प्रोटिस्टा वर्गका पर्दछ । यसले आफ्नो कपालजस्तै पातलो सुँड पानीमा लहराउँछ र त्यसैले भाइरस पक्रिन्छ र खान्छ । प्रयोगशालामा उक्त जीवले क्लोरोभाइरस खाएको छ, जुन निकै ठूलो अर्थात् ब्याक्टेरियाकै आकारको भाइरस हो । भाइरसलाई खाएर नै हाल्टेरियाले विश्वभरका पानीका श्रोतमा आफ्नो संख्या बढाइरहेको वैज्ञानिकहरु बताउँछन् ।

रोचक त के भने क्लोरोभाइरसलाई खाइसकेपछि हाल्टेरियाले आफ्नो सरीरलाई टुक्रा टुक्रा पार्दछ र ती हरेक टुक्राबाट नयाँ हाल्टेरिया पैदा हुन्छन् ।

शोधकर्ता जोन डिलंगका अनुसार भाइरस र हाल्टेरिया बीचको यो सम्बन्ध अद्भूत छ । भाइरसलाई खाने र आफैलाई विभाजन गरेर संख्या बढाउने हाल्टेरियाले ठूलो मात्रामा उर्जा पैदा गरिरहेको हुन्छ ।

प्रयोगशालामा अध्ययनका क्रममा भाइरस भोजन गरेपश्चात् २ दिनमै हाल्टेरियाको संख्या १५ गुणाले बढेको र भाइरसको संख्या सयौँ गुणाले घटेको पाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार हाल्टेरियाको खोज निकै महत्वपूर्ण खोज हो र यसमाथि थप अनुसन्धानको खाँचो छ । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्: