Loktantra Khabar National Weekly
Ad

दाइजो विरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

लोकतन्त्र खबर
२८ मंसिर २०७९

२८ मंसिर, जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ र्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताए ।

यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्: