Loktantra Khabar National Weekly
Ad

समुदाय–प्रहरी साझेदारी कार्यक्रम धनकौलमा भव्य रूपमा सम्पन्न

लोकतन्त्र खबर
२१ कार्तिक २०८३

बखतियार अलि–
सर्लाही २० कार्तिक । लागूपदार्थ नियन्त्रण, सामाजिक सचेतना र शान्ति सुरक्षाको प्रवद्र्धनका लागि “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत एक भव्य नागरिक सुनुवाई सर्लाहीको धनकौल गाँउपालिका वार्ड नं. २ को प्राङ्गणमा सम्पन्न भएको छ । धनकौल गाँउपालिका इलाका प्रहरी कार्यालय, बरहथवाको समन्वय तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

सामाजिक अपराध तथा लागूपदार्थ नियन्त्रण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रममा धनकौल गाँउपालिका अध्यक्ष रामआश्रय साह प्रमुख अतिथीको रुपमा उपस्थित रहनु भएका थिए । नेपाल प्रहरीका सर्लाही जिल्ला प्रमुख प्रहरी उपरिक्षक रविन्द्र पौडेल विशिष्ट अतिथीको रुपमा कार्यक्रममा उपस्थिती जनाएका थिए ।

 

धनकौल गा.पा.का जनप्रतिनिधी, नागरिक समाज, स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक, प्रहरी अधिकारी तथा विद्यार्थीहरुको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयवासी तथा विधार्थीहरुले आफनो मन्तव्यमा लागूपदार्थको चपेटामा परिरहेका युवाहरू समाजको अमूल्य पुँजी भएको उल्लेख गर्दै “समयमै सचेत गराउन सके समाजलाई विध्वंसबाट जोगाउन सकिन्छ” भन्ने धारणा राखेका थिए ।

 

त्यस्तै सामुदायिक विधालयमा अध्यणरत छात्राहरुले बालबिवाह र महिला हिंसा रोकन सरोकारवाला निकायहरुको पहल हुन जरुरी रहेको बताएका थिए । प्रहरी उपरिक्षक पौडेलले भने प्रहरी प्रशासन सदैव समुदायसँग सहकार्य गर्न तयार रहेको र यस्तो साझेदारी कार्यक्रमले विश्वासको सम्बन्ध गाढा बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा धनकौल गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले लागूपदार्थ, हिंसा, साइबर अपराध र किशोर÷किशोरी लक्षित जोखिमहरूबारे सचेत गराउँदै विद्यालय तहदेखि नै शिक्षा र सुरक्षाको समन्वयमा जोड दिनुपर्ने कुरालाई स्वास्थ्य शाखा प्रमुख महतोले उठाउनु भएको थियो ।

 

धनकौल गाँउपालिका अध्यक्ष रामआश्रय साहले कार्यक्रममा उपस्थित स्थानीय नागरिकलाई सम्बोधन गर्दै नशाविरोधी अभियानलाई व्यक्तिगत भन्दा पनि सामूहिक आन्दोलनमा रूपान्तरण गर्न समाजकै अग्रसरता आवश्यक रहेको बताउनु भयो । हामि सबै जना मिलेर काम गरे समाजमा रहेका कुरितीहरु हटाउन सकिने कुरामा गा.पा. अध्यक्ष साहले जोड दिनुभयो ।

 

कार्यक्रममा सहभागीहरूले समुदाय–प्रहरी साझेदारी कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिंदै, समुदायको सहयोग र प्रहरीको सक्रियताले मात्र शान्ति र अनुशासन युक्त समाज निर्माण सम्भव हुने धारणा राखे ।

 

कार्यक्रमले समुदाय–प्रहरी साझेदारीको प्रभावकारी अभ्यास मार्फत नागरिक सरोकारका विषयमा संवाद, सुनुवाई र सहकार्यलाई प्रोत्साहन गर्दै सामाजिक रूपान्तरणको दिशामा सकारात्मक संकेत दिएको आयोजक इलाका प्रहरी कार्यालय, बरहथवाका नायब प्रहरी उपरिक्षक गोपी कृष्ण सुवेदी बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: