बखतियार अलि–
सर्लाही १६ कार्तिक । सदरमुकाम मलंगवा नगरपालिकाको चारवटा वडा जोडने मुख्य सडक विगत तीन दशक देखि नबन्दा यहाका जनता सास्ती भोग्न बाध्य भएको छ । मलंगवा नगरपालिका वाड नं. ७ मुसैली देखि जाने मुख्य नहरको बाटो वार्ड नं.५ भाडसर, वार्ड नं. ६ खुटौना र वार्ड नं. १ भेडियाहीलाई जोडने प्रमुख सडक हो ।
डेढ किलोमिटरको यो सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलोले भरिन थालेपछि स्थानीय जनता सास्ती भोग्न बाध्य भएका हुन् । वाड नं. ७ मुसैलीबाट साईकलबाट भाडसर पुग्न जम्मा १० मिनेटको बाटो भएपनि खाल्डा खुल्डीले भरिएको हिलाम्मे सडक पार गरेर भाडसर पुग्नलाई घण्टौ लाग्ने गरेको स्थानीयहरु बताउछन ।
बाटो खराब भएका कारण बिरामीलाई औषधी उपचार, सुत्केरी महिलालाई असपताल लिएर जाने समेत अवस्था छैन । यो चारवटा वडामा आवत जावत गर्न साईकल वा पैदल हिडेर जानुपर्ने अवस्था रहेको छ । चारचक्का यो सडकमा गुडने अवस्था छैन । बालबालिकाहरुलाई स्कुल र विधालय जान पनि समस्या हुने गरेको स्थानीयहरु बताउछन । लगभग तिन दशक देखि यो बाटो बनेको छैन ।
चुनावका बेला नेताहरुले बाटो बनाउने आस्वासन दिएपनि चुनाब पछि कुनै पनि नेताले यो सडक बनाउन पहल नगरेको स्थानीय जनताहरुको भनाई छ । मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले मलंगवा नगरपालिका वाड नं. ७ मुसैली देखि वार्ड नं.५ भाडसर जाने मुख्य सडक वर्षाको पानीले खराब भएर गाडी संचालन हुन नसकेको स्विकार्नु भयो ।
विशेष गरेर यो सडक बागमती सिंचाई आयोजना अन्तर्गत रहेकाले यो सडकको स्तरउन्नती हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको भनाई छ । बागमती सिंचाई आयोजनाको अनुमती बिना यस सडकलाई स्तरउन्नती वा कालोपत्रे गर्न नसकिने भएर यो सडक बनाउन ढिलाई भएको अधिकृत सुवेदीको भनाई रहेको छ ।
यसरी चारवटा वडालाई जोडने सडक वर्षै देखि नबने पछि यस वडाहरुमा वसोवास गर्ने हजारौं नागरिक वर्षै देखि दुख भोग्न बाध्य भएपनि सम्बन्धित निकाय कानमा तेल हालेर सुतेको अवस्था रहेको छ ।

