Loktantra Khabar National Weekly
Ad

संकेतको संसार

लोकतन्त्र खबर
२३ जेष्ठ २०८१

संसारमा हजारौं भाषा बोलिएका छन् । तर भाषा फरक हुँदैमा मानिस दुःखी छैनन् । सबै भाषाका मानिसले विशाल प्रगति गरेकै छन् । अनुवादका अनेकौं उपाय दिनदिनै थपिएकै छन् । सांकेतिक भाषा पनि त्यस्तै थप एउटा भाषा मात्र हो भनेर बुझ्न हामीलाई किन कठिन भइरहेको ?

शिशु कक्षामा भर्ना भएको ६ महिनामै मेरो आवाज लुटियो । तथापि हरेक बच्चामा हुने उत्साह, साहस र निश्छलता ममा पनि उत्तिकै थियो । हुर्कंदै जाँदा नवलपुरको बरचुली प्रावि र देवचुली माविका शिक्षकले मलाई हौसला दिनुभयो । उहाँहरूले जहिले पनि मेरो पढाइलाई लिएर चिन्ता मात्र व्यक्त गर्नुभयो, हीनताबोध हुन दिनुभएन । उहाँहरू भन्नुहुन्थ्यो— सुन्न र बोल्न नसके पनि दोभाषे राखेर हेर्ने हो भने बहिराहरू कठिन शब्दबाण सामना गर्नेमध्येमा हुन्छन् ।

बरचुलीबाट कक्षा पाँच पास भएपछि ६ देखि १२ सम्म देवचुली मावि पढें । बहिरालाई पढाउन सरहरू तालिमप्राप्त हुनुहुन्थेन । तर ओठको चाल हेरेर बुझ्न गाह्रो नहोस् भनेर मलाई अगाडिको बेन्चमा कक्षामा प्रथम हुने साथीसँग राखिदिनुहुन्थ्यो । माध्यमिक तहमा ‘विद्यार्थी जीवनमा खुरुखुरु पढ्नु मात्र पर्छ’ भन्ने मान्यता राख्ने हामी ४ जना केटीहरूको एउटा समूह थियो, जसलाई मेरो श्रवणशक्ति र आवाज नभएको कुनै वास्ता हुँदैनथ्यो । पढाइमा भिज्न सकेकाले होला, आफूलाई अरूभन्दा फरक महसुस गर्दिनथें । यसरी कक्षा १० सम्म

पढ्दासम्म बहिरा हुँ भन्ने हीनताबोध र आभास पनि भएन । पढाइमा राम्रो मानिएका हामी ४ केटीले एसएलसीपछि स्टाफ नर्स पढ्ने निर्णय गर्‍यौं । जुन निर्णय हामी हाम्रो स्वास्थ्य विषयका सरलाई सुनाउन आतुर थियौं । साहस निकालेर सरको अगाडि आफ्नो इच्छा जाहेर गर्‍यौं । ‘दीपावली, तिमी यो तालिम लिन यस कारण सक्षम छैनौं कि तिमी सुन्न र बोल्न सक्दिनौ’ भनेर जब सरबाट जवाफ आयो, तब मात्र पहिलोपल्ट मैले बहिरा भएकोमा गम्भीर हीनताबोध महसुस गरें । कक्षामा फर्केर खुब रोएँ, साथीहरूको पनि आँसु थामिएन । त्यसपछि पढाइप्रतिको मेरो लगाव खस्किँदै गयो र कक्षा १२ मा स्कुले जीवनमै पहिलो पटक विषय लाग्यो । समयको वेगले काठमाडौं आएपछि म पहिलेजस्तो मिश्रित संसारमा भन्दा बहिराहरू मात्रको संसारमा जोडिएँ । सांकेतिक भाषाको अस्तित्व रहेछ भनेर त्यतिबेला मात्र थाहा पाएँ र सिकेर आफ्नै सञ्चारको दुनियाँमा बेग्लै आनन्दको सास फेर्न पाएँ ।

सबेरै उठेर बागबजारको पद्मकन्या क्याम्पस पुग्थें । १० बजे क्याम्पसको गेट बाहिर निस्केपछि साडी झोलामा हालेर धोबीधारास्थित काठमाडौं बहिरा संघ पुग्थें, जहाँ मासिक १५ सयको जागिर थियो । केटीहरूको होस्टलमा महिनाको एक हजार तिरेर बाँकी ५ सयले महिनाभरि खान पुर्‍याउँथें । पछि तलब त थपियो तर आवश्यकताका चाङ पनि बढ्दै गए । कुनै समय नेपाल कानुन व्यवसायी परिषद्मा कम्प्युटर अपरेटरको जागिर पनि खाएँ तर लामो समय बहिरा क्षेत्रमा नै लागिरहेँ । साना–ठूला सकसबीच पढ्दै एमए सकाएँ । जीवनमा सांकेतिक भाषाको ज्ञान र पढाइ अनि नेटवर्क फैलिरहेको थियो । त्यससँगै समाजको कठोरता नजिकबाट अनुभव गर्न थालेको थिएँ ।

बहिरोपन भएका वर्गको अवस्था कमजोर हुनुको कारण नेपालमा बहिराको शिक्षाको स्तर अत्यन्तै नाजुक हुनु हो । धेरैजसो बहिरा स्रोत कक्षाहरूले प्रति १० बालबालिका बराबर एक शिक्षक र एक आयाको कोटा प्राप्त गर्छन् । यी १० बालबालिका कक्षा १ देखि ५ सम्मका हुन्छन् र उनीहरूलाई दिनभर एउटै कक्षामा एक जना मात्र शिक्षकले पढाउने गर्छन् । बालबालिकाले के सिकिरहेका छन् भन्ने कुरामा अधिकांश विद्यालयका प्रशासकलाई चासो छैन । स्रोत कक्षाका लागि केही बजेट पनि आउँछ तर त्यो निकै अपर्याप्त छ । स्रोत कक्षाका सबै शिक्षकलाई सांकेतिक भाषा राम्रोसँग थाहा पनि हुन्न । जब बहिरा बालबालिका ठूला हुन्छन्, उनीहरू वास्तवमै कमजोर बन्छन् । त्यस यथार्थसामु अभिभावकहरू निरीह र विवश बन्छन् । बहिराका लागि कस्ता शैक्षिक सामग्री चाहिन्छ भनेर संसारभरि नै विभिन्न तरिकाले बहस हुने गरेका छन् । मेरो यथार्थ बुझाइ र भोगाइमा सामान्य मान्छे र बहिराहरूको पाठ्यपुस्तक उही हो । मात्र सांकेतिक भाषामा पूर्ण रूपमा सञ्चार गर्न सक्ने, बहिराले बुझ्ने गरी पढाउन सक्ने र बहिराको भावनालाई आफ्नै जसरी सम्मान गर्ने शिक्षकको आवश्यकता छ । यति भइदिए बहिराहरू कुनै पनि क्षेत्रमा सुन्ने व्यक्तिभन्दा कम छैनन् ।

संसारमा हजारौं भाषा बोलिएका छन् । तर भाषा फरक हुँदैमा मानिस दुःखी छैनन् । सबै भाषाका मानिसले विशाल प्रगति गरेकै छन् । अनुवादका अनेकौं उपाय दिनदिनै थपिएकै छन् । सांकेतिक भाषा पनि त्यस्तै थप एउटा भाषा मात्र हो भनेर बुझ्न हामीलाई किन कठिन भइरहेको ? अझ सांकेतिक भाषा त सबै भाषालाई मध्यस्थता गर्ने भाषा हो । हामी संकेतले ठूल्ठूला कर्म गरिरहेकै हुन्छौं । जब हामी सुन्ने समुदायमा घुलमिल हुन वा त्यसकै एउटा हिस्सा हुन खोज्छौं, त्यहीँबाट विभेद सुरु हुन्छ । हामीलाई निम्न स्तरको, अशिक्षित मानसिकताले हेरिन्छ । बहिराहरू एउटा भाषिक समुदायका हुन् । अपांगताको कारक तत्त्व हामीले बनाएको सम्पूर्ण संरचना हो भनेर जबसम्म उनीहरू बुझ्दैनन् र हाम्रो भाषा जान्दैनन्, तबसम्म हामी केवल अपांगताको परिभाषाभित्र परिरहेका हुन्छौ ।

श्रवणशक्तिबिनाको जीवन निकृष्ट हुन्छ भन्ने विचारबाट श्रव्य अभ्यासहरू उत्पन्न हुन्छन् । बहिरा संस्कृति, सांकेतिक भाषा र जातीय समूहका रूपमा बहिरा मानिसको अपनत्वको भावनाको अवमूल्यन गरिएको छ । यो प्रायः जानीजानी वा सचेत रूपमा गरिएको हुँदैन । बोलीचालीको भाषामा कुराकानी गर्न नसक्नुको अर्को परिणाम भनेको बहिरालाई प्रायः कम विश्वास गरिन्छ वा उनीहरूको क्षमतामा शंका गरिन्छ । यसलाई हामी बहिराहरूमाथि हुने गरेको भेदभाव अर्थात् ‘एबलिजम्’ भनेर बुझ्छौं । बहिरा व्यक्तिहरूका लागि सक्षमताको आफ्नै शब्द छ— श्रव्यवाद । यो शब्दले श्रवणको सुधारका आधारमा भेदभावको एक रूपलाई बुझाउँछ । सुन्ने र बोल्ने कुरामा अत्यधिक जोड दिनुलाई ‘फोनोसेन्ट्रिजम’ पनि भनिन्छ । यी दुई शब्दको उद्देश्य के हो भन्ने कुरा तिनीहरूको उत्पत्तिबाट लगभग अनुमान गर्न सकिन्छ । फोनो–सेन्ट्रिजम ग्रिकबाट व्युत्पन्न भएको हो । फोनको अर्थ ध्वनि वा स्वर जस्तै तर आवाज पनि हो । यस सन्दर्भमा संयुक्त राष्ट्रसंघीय महासन्धि (सीआरपीडी) को धारा ८ ले पनि राज्यको दृष्टिकोणमा परिवर्तनको आवश्यकतामा जोड दिएको छ ।

यी यावत् कुराहरू हामीले बुझ्न र बुझाउन नसकेसम्म बहिरा तथा अपांगता भएका व्यक्तिको जीवनस्तर उकास्न निकै कठिन छ । शिक्षित, सभ्य, समान, समता र समावेशी समाजको परिकल्पना गर्न सजिलो होला तर त्यसलाई व्यवहारमा उतार्न प्राथमिक तहदेखि नै आवश्यक विषयलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ । घरमा कुनै बच्चा बहिरा भएको थाहा पाउनेबित्तिकै परिवारका सदस्यले सांकेतिक भाषा भने अनिवार्य सिक्नैपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: