हामीले रोजेका बाटामा हामी आफैं पनि हिँड्न धरमराइरहेका हुन्छौं र एकनाशले अरूलाई मात्र अर्ती उपदेश दिइरहेका हुन्छौं । यस्ता कुरा तत् व्यक्तित्वहरूसँग सरसंगत र काम गर्दा अनुभव गर्न सकिन्छ ।
सार्वजनिक बसमा दिनदिनै यात्रा गर्दा बस पनि थरीथरी, यात्रा गरिरहने मानिस पनि थरीथरीका हुने भइहाले । महानगरमा चल्ने धेरैजसो यात्रुबसमा आरक्षणका सुविधा हुने गर्छन् । नियमित सार्वजनिक यातायात प्रयोग गर्ने भएपछि बसभित्रका नियम हिजोआज दिमागमै गढ्न थालेका छन् ।
जस्तैः सकभर खाली भएको खण्डमा महिला आरक्षणको सिट प्रयोग गर्ने, नभए अन्य आम सिटमा गएर बस्ने, अन्त सिट भरिएका छन् र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि छुट्याइएको छ भने खाली नै भए पनि त्यसमा गएर झटपट नबस्ने । यदि कोही युवा पुरुष उक्त आरक्षित सिटमा बसिरहेका देखिए भने उनीहरूलाई यी सिट त आरक्षित हुन् भनेर सम्झाइदिने । यी कुरा मेरो दिमागमा सेट भयो । एक प्रकारले राज्यले जारी गरेको नियममा मैले सहमति जनाउँदै उक्त नियमलाई अपनाउन थालें । यो मेरा लागि एउटा तालिम भयो ।
जिन्दगीको सकारात्मक परिचालनबाट सिक्दै व्यवहारमा प्रयोग गरिने नीति हो तालिम । हामी कुनै बेला हिन्दु संस्कृति र संस्कृत भाषामार्फत परिवार तहदेखि सिकाइने गुणलाई नैतिक शिक्षा भन्दै विद्यालयमा अध्ययन गर्थ्यौं । तर, त्यो समयसापेक्ष र लैंगिक रूपले असमान देखिन सक्ने ठहर गरेर छुट्टै नैतिक शिक्षा भन्ने पढाइ आजकाल छैन । कतिपय विद्वान् नैतिक शिक्षा नभएर पनि अहिलेको शिक्षा प्रणालीले विद्यार्थीलाई खराब बाटोतिर लगेको छ भन्ने गर्छन् । नेपालले अन्तर्राष्ट्रिय मानवअधिकार लगायतका थुप्रै सन्धिमा पक्ष राष्ट्रका रूपमा हस्ताक्षर गरेको छ । जसमध्ये महिलाको सम्पूर्ण प्रकारका हिंसाको अन्त्य गर्ने महासन्धि सिड पनि एक हो । सन्धिमा शिक्षा र सार्वजनिक सूचना कार्यक्रममार्फत महिलाको रुढिवादी प्रतिनिधित्व घटाउने भन्ने बुँदा पनि उल्लेख छ । तर सन्धिका कुरा तालिमका रूपमा या अभ्यासका रूपमा आएको भए पक्कै हानिकारक अभ्यास वा अन्धविश्वास हटाउन मद्दत नै पुग्ने थियो होला ।
समाजमा बलात्कारका घटना दिनप्रतिदिन भइरहेका छन् । मिडियाका कारण आफूमाथि भएको हिंसाविरुद्ध बोल्न मानिस तयार हुन थालेको भन्ने गरिन्छ । तर हाम्रो दिमागले अझैसम्म पनि बलात्कार गर्ने पीडकलाई उल्टै सहानुभूति दिँदै पीडितलाई छाडा, अनुशासन नभएको, केटासँग किन हिँडेकी, उत्ताउली जस्ता पगरी गुथाइदिन्छौं । जसरी बस चढ्दा मैले आरक्षणको नियमलाई हेरें, त्यसैगरी बलात्कारको कानुन र परिभाषालाई पनि मनैदेखि अपनाएको भए त पक्कै पनि बालिग व्यक्तिले कम उमेरका र अनिच्छाको यौन कार्य गर्ने थिएनन् होला । हाम्रो तालिम यस्ता अपराधलाई अपराध मान्न तयार नभई उल्टै महिला र किशोरीलाई नै दोष थोपर्नेमा चाहिँ बलियो किन छ ? यौन सम्बन्ध जस्ता संवेदनशील कार्यलाई शक्तिको
आडमा बलमिच्याइँ गरेर राखिएका सम्बन्ध हानिकारक हुन्छन् भन्ने तालिम र अभ्यास नै भएन नवयुवादेखि लिएर धेरै पुरुषहरूमा । बालिका, किशोरी तथा महिलाहरूमा बलिया पक्षहरूले जबर्जस्ती गर्न सक्छन् र तिनलाई अस्वीकार तथा प्रतिकार गर्नुपर्छ भन्ने चेतना र तालिमले योग्य हुनुपर्ने हो तर खोइ व्यावहारिक ?
भारत र नेपालमा हिन्दु बाहुल्य समाज छ । हिन्दु संस्कृतिले जातजाति, महिला, पुरुष भनेर कार्य बिभाजन छ्ट्याएको छ र त्यहीअनुसार हाम्रो परिवार, समाज तालिमप्राप्त र दक्ष भयो तर त्यो तालिम एकपक्षीय, महिला बालबालिकाद्वेषी रहेछ भन्ने कुरा अध्ययन अभ्यासले प्रमाणित भइसकेको छ । तथापि समाजको एउटा भीड बलात्कारजस्ता घटनालाई अपराध मान्न तयार छैन र यो भीडमा महिलाहरू पनि पीडकको पक्षमा बाजागाजासहित नाराबाजीमा ओर्लन्छन् । गम्भीर अपराधमा मुछिएको कुनै एक व्यक्तिलाई ‘अमेरिकाले भिसा दिएन’ भन्दै दूतावास नै धाउनेको भीडले पनि यही बताउँछ ।
समाजमा कथित माथ्लो र तल्लो जातको भाष्य जीवित छ । सामान्य दिनचर्याकै कुरा गर्दा पनि महिलाले विशेष गरेर विवाहित महिलाले न्यूनतम भए पनि शृंगार गर्नुपर्छ, समाज, परिवार, आफन्तको इज्जतमा ख्याल गर्नुपर्ने हुन्छ । पत्नीधर्म निभाउनुपर्ने हुन्छ । जब प्रश्न गर्ने महिला जन्मन्छन्, त्यहाँ समाज प्रतिरोधमा उत्रन्छ । प्रश्न गर्ने महिला फेरि यथास्थितिमै थन्किनुपर्ने बाध्यता छ । शिक्षा, पेसा, राजनीतिमा अगाडि आइसकेका महिलासमेत महिनावारीको समयमा मन्दिर छेउछाउ पुग्दा, घरको भान्सा छेउछाउ या पुरुष छेउछाउ पुग्दा झस्किने गर्छौं । तर हामीले नयाँ तालिम लिएका कुराले भने पुराना कुरालाई विस्थापित गर्न सकेको छैन । तीजको व्रतलाई परिवर्तन गरेर हामीले स्वतन्त्रताको खातिर एक महिना तीज मनाउने चलन ल्याएका छौं । हाम्रो पुरातन तालिम प्राप्त मस्तिष्कले समाज परिवर्तनलाई आत्मसात् नै गर्न सकेको छैन ।
अझैसम्म पनि हिन्दु समुदायकै ब्राह्मणभित्रै मुख्य पुरोहित, पण्डितलगायतले धार्मिक संस्कारका लागि जजमानकहाँ जाँदा के खान हुने र के नहुने भनेर छुट्याइएका छन् । जजमान कथित तल्लो जात रहेछन् भने उसकहाँ दूध, खिरसम्म खाने, दलितकहाँ त सकभर कर्मकाण्ड गर्नै नजाने, कसैले करकाप गरे भने पनि एकदम दूरीमा रहेर बस्ने प्रवृत्ति पनि देखिन्छ । आजकाल एक जना पण्डित भने सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । उनको जोडबल भनेको धर्म या धार्मिक ग्रन्थले जातपातको विभेद गरेकै छैन भन्नेमा छ । उनको मान्यतालाई सकारात्मक मान्दै कैयौं प्रगतिशील व्यक्तित्वले उनको भिडियो सार्वजनिक पनि गरिरहेको देख्न पाइन्छ ।
तर तिनै पण्डित श्रीमान्–श्रीमतीको सम्बन्धमा उही पुरातनपन्थी विचार नै राख्दा रहेछन् । गायिका एलिना चौहानले उनका श्रीमान्लाई खुट्टामा ढोगेको भिडियो सामग्रीलाई लिएर उनले आफ्नो धारणा सार्वजनिक गरेछन्– के श्रीमतीले श्रीमान्को खुट्टामा नढोगेर कहाँ ढोग्ने त ? यसैबाट थाहा पाउन सकिन्छ कि हामीलाई आफू अब परिवर्तन हुनुपर्छ भन्नेसम्म चाहिँ लागेको छ तर सनातनदेखि चलिआएको चलनअनुसार पुरुष माथि नै हुनुपर्छ भन्ने सोच हट्न सकेको छैन । सम्मान त सबै मानवबीचमा हुनुपर्छ भन्ने तरिकाको तालिमलाई हामीले ग्रहण गरेका पनि छैनौं र कति कुरा जानकारी मात्र लिएका छौं तर व्यवहारमा उतारेका छैनौं ।
हामीभित्र सामाजिक तालिमको व्यवहारमा असर नपर्नु या नकारात्मक तरिकाले जानुमा हाम्रा संरचना, कतिपय अवस्थामा धार्मिक मूल्य मान्यता, परम्पराले निर्देशित गरेर पनि हो । तर यथार्थता र न्यायिक कुरा, विज्ञान र चेतनाले नै हाम्रो समाजलाई अगाडि बढाउन सक्छ भन्ने कुरा हामीले ग्रहण गरिसकेका रहेनछौं । हामी भएभरका सामाजिक पक्षमा पर्फेक्ट हुन त सक्दैनौं । तर सबैभन्दा मानवीय, समान र प्रेमले भरिएको संसारको नियमलाई भने अपनाउन सक्छौं । हुन त कतिपय अवस्थामा हामी सामाजिक कार्यकर्ता हौं या मानव अधिकारकर्मी, या नेता नै पनि । हामीले रोजेका बाटामा हामी आफैं पनि हिँड्न धरमराइरहेका हुन्छौं र एकनाशले अरूलाई मात्र अर्ती उपदेश दिइरहेका हुन्छौं । यस्ता कुरा तत् व्यक्तित्वहरूसँग सरसंगत र काम गर्दा अनुभव गर्न सकिन्छ ।
प्रसिद्ध वैज्ञानिक आइन्सटाइनले अभिव्यक्त गरेका रहेछन् कि मानिसले केही विचार र मूल्यलाई वैध रूपमा प्रयोग गर्छन् । जस्तैः अन्तर्ज्ञान वा धार्मिक विश्वास । जुन प्रत्यक्ष अवलोकन वा तर्कले प्रमाणित गर्न सकिँदैन । उनकै भनाइलाई मान्ने हो भने केही मूल्य मान्यता सकारात्मक छन् भने त्यसलाई आदर्श बनाएर हिँड्न मिल्यो तर प्रकृति असंगत कुरालाई नियम मान्ने चलनले कसरी समाजमा उन्नति हुन्छ र ? हाम्रो समाज र सभ्यतालाई गति दिनका लागि हामीलाई समान मानवीय मूल्य, सम्मानको व्यवहारिक शिक्षा र तालिमको खाँचो छ । जुन तालिमले हामी र हाम्रा सन्तति सचेत बन्न सकून् । कान्तिपुर