व्यावसायिकीकरण उच्च हुँदा देखापरेका नकारात्मक प्रतिस्पर्धाले आधारभूत पर्वतारोहणको तयारी र त्यसप्रतिको सम्मानबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने ‘सस्तो लोकप्रियता’ ले सगरमाथाको गरिमा घटाउँदो छ ।
वसन्तयाम सुरु भइसक्दा सर्वोच्च शिखरमा आरोही र आरोहण कम्पनी नयाँ–पुराना कीर्तिमान बनाउने–तोड्ने योजनामा आधारशिविरतर्फ धाउन थालिसकेका छन् । विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपाल सरकारका लागि आरोहीको संख्या बढ्नु सुखद हो, तर अन्तर्राष्ट्रिय जगत्मा यो संख्यालाई ‘त्रास’ का रूपमा हेर्न थालिएको छ ।
पृथ्वीको सर्वोच्च भूभागको ठ्याक्कै मुनि ‘डोरीमा झुन्डिरहेका मानिसहरूको ट्राफिक जाम’ पछिल्ला केही वर्षदेखि विश्वले सुन्न थालेको नयाँ शब्दावली बनेको छ । सगरमाथा नेपालका लागि एउटा अनुपम प्राकृतिक धरोहर हो । तर यो विश्वकै लागि हरेक मानवजातिलाई लोभ्याउने प्रतीकसमेत हो । त्यसैले नेपाललाई देशका रूपमा कमै जान्नेले पनि त्योभन्दा कैयौं गुणा सगरमाथालाई जानिरहेका हुन्छन् । धेरैका लागि त नेपाल भनेकै सगरमाथा मात्र पनि हो । त्यसो भए के हामीले सगरमाथामा सोही अनुसारको व्यवस्थापन गर्न सकेका छौं त ?
सगरमाथाको मूल्य
२०६८ सालमा निजामती कर्मचारीको आरोहण दलमा रहेर सगरमाथाको चुचुरोमा पुगे तापनि त्यसअघिदेखि र हालैका वर्षसम्म गरेर झन्डै डेढ दशक म सगरमाथा आधारशिविरमा सरकारी सम्पर्क अधिकृतका रूपमा जाने–आउने गरिरहेको छु । मैले त्यहाँको ‘कस्मोपोलिटन’ माहोलदेखि व्यवसायीकरणले लिएको तीव्र गतिको फड्कोलाई नजिकबाट देखेको छु । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो र भूराजनीतिक स्वार्थलाई नजिकबाट केलाएको छु । भूकम्पको उद्धारकार्यदेखि ठूला–साना विवादको मध्यस्थता र नियमन गरेको छु । एक विदेशी मित्रले भनेको अझै सम्झिरहन्छु– ‘तिम्रो जिम्मेवारी कुनै आरोहण दलको निगरानीमा मात्र सीमित छैन, देशको विशाल प्रतिष्ठासँग जोडिएको छ । किनकि सगरमाथामा सियो खस्नुले संसारलाई त्यति धेरै अर्थ राख्छ, जति नेपालमा अन्यत्र पहाडै खसे पनि विदेशीलाई महत्त्व नहुन सक्छ ।’
हुन पनि हो, सगरमाथा मात्रै नेपालको त्यस्तो ठाउँ हो, जहाँ एक ठाउँमा त्यति धेरै विश्व जुटेको हुन्छ । गत वर्षकै तथ्यांक हेर्दा हालसम्मकै सर्वाधिक ४७९ जनाले आरोहण अनुमति लिँदा ६५ भन्दा बढी देशका मानिस जुटेका थिए । विश्वका लागि सगरमाथा आरोहणको प्रक्रिया नै खास छ । समुद्री सतह र आसपासमा बाक्लो बसोबास हुने विश्वका मानिस बर्सेनि पाँच हजार मिटरमाथिको उचाइमा खुम्बु हिमनदीमाथि लगभग तीन महिना अस्थायी बस्ती बसाएर बस्छन् । मानव शरीरको विज्ञानविरुद्ध आफूलाई उभ्याउँदै पृथ्वीको माथिल्लो टुप्पोमा पुगेर मानवीय हदलाई चुनौती दिन्छन् । त्यसैले सगरमाथाको अपनत्व नेपाली धरोहरका रूपमा मात्र हेरिनु हुँदैन, त्यो सम्पूर्ण मानव जातिको साझा सम्पत्तिका रूपमा समेत स्विकारिनुपर्छ ।
ट्राफिक जामको विज्ञान
सगरमाथाको अवस्थिति त स्थिर छ, तर बाह्रैमास चढ्न सकिँदैन । त्यसको आफ्नै विज्ञान र चक्र छ । विगतमा निकै कम पटक भए पनि हिउँद र शरदयाममा समेत चढिएका छन् । तर पछिल्ला वर्ष त्यो क्रम रोकिएको छ र वसन्तयाम सगरमाथा चढिने निर्विकल्प उपयुक्त समय बनेको छ । तर यस याममा समेत मे महिनाका सीमित केही दिनमा मात्र चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चरम चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरेर मौसमी हिसाबकिताब गर्दै आरोहीहरू चुचुरोसम्म पुग्छन् । ‘समिट विन्डो’ भनिने त्यस्तो छोटो समयमा अरूबेला प्रतिघण्टा २०० किलोमिटरको वेगमा हुने चुचुरोको जेटस्ट्रिम वायुले केही उत्तरतर्फ मार्ग फेर्छ र त्यहाँ प्रतिघण्टा ३० किलोमिटरभन्दा कमको हावा चलिरहेको हुन्छ । विश्वभर त्यस्तो अनुकूल परिस्थिति हेर्नका लागि मौसमी विश्लेषणहरू भइरहेका हुन्छन् । ती सित्तैमा र महँगो रकम तिरेर पनि किनिन्छन् । त्यस्तो विन्डो कुनै बेला दिनभर वा एक–दुई दिन कायम रहन्छन् त कुनै बेला दिनमा दुई–चार घण्टा मात्र कायम रहेर फेरिन्छ । मेमा सामान्यतः पाँच–छवटा त्यस्ता विन्डो देखिने गर्छन् ।
पूर्वानुमान भइरहे पनि ती सधैं मिल्छन् भन्ने हुँदैन । २० औं शताब्दीमा मौसम पूर्वानुमान प्रणाली यस्तो नहुँदा आफ्ना ‘धार्मिक पात्रोका भरमा’, ‘तारा हेरेर’ वा ‘अन्तर आत्माका भरमा’ चुचुरो पुग्ने गरेको शेर्पाहरू सुनाउँछन् । अहिले मौसमी डेटा हुँदासमेत शेर्पाहरू तिनै ‘विज्ञान’ र ‘विश्वास’का बीचमा रहेर चुचुरो पुग्ने योजना बनाउँछन् । सामान्यतः आधार शिविरबाट माथि लागेको चौथो
वा पाँचौं दिनमा सगरमाथा आरोहण हुने गर्छ । त्यसैले अलि फराकिलो विन्डो भएका बेला धेरैजसो उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीं पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्ला विन्डोमा जान खोज्छन् । यस्तै परिस्थितिमाझ ट्राफिक जाम सिर्जना हुने गर्छ ।
यस्तो परिस्थितिमा निर्णायक हुने मौसम भविष्यवाणीको डेटा खरिदका लागि करोडौं रुपैयाँ बराबरको छुट्टै व्यवसाय छ । तर नेपाल सरकारले आरोहण व्यवस्थापनको केन्द्रमा आफूलाई राखेर एक कदम अगाडि बढ्ने हो भने विश्व प्रसिद्ध मौसमी पूर्वानुमान गर्ने दुई–चार केन्द्रका डेटा किन्दै ‘समिट विन्डो’को पहिचानको एकद्वार प्रणाली कायम गर्न सक्छ । सरकारले त्यो काम गर्न जरुरी छ, किनकि सगरमाथामा सानो चुक हुने बाटो छाडिनु हुँदैन । नेपालकै प्रतिष्ठासँग क्षण–क्षणमा जोडेर विश्वमा मूल्यांकन भइरहेको हुन्छ । सर्वोच्च शिखरमा आरोहीहरूले कम्पनीलाई तिर्ने पैसाका आधारमा विलासी र साधारण आरोहीको वर्गीकरण हुन सक्छ । तर सबैको ज्यान सुरक्षित हुने न्यूनतम मापदण्ड सबैका लागि सुनिश्चित हुनुपर्छ ।
पर्यटन विभागले खटाउने सम्पर्क अधिकृतले आधारशिविरमा सक्रियताका साथ काम गर्न सकेको अवस्थामा समेत कतिपय व्यवस्थापकीय नियमन गर्न सकिन्छ । उनीहरूले आधारशिविरका गतिविधिलाई पूर्ण रूपमा अध्ययन गरी आरोहणमा जानेको दैनिक विवरण राख्ने, आरोहण दलमा भएका सहकर्मीसँग समन्वय गर्दै संख्या धेरै हुन सक्ने बेला आफ्नो अख्तियारी प्रयोग गरी नियमन–नियन्त्रण गर्न सक्ने हुनुपर्छ । आधारशिविरमा सरकारका विभिन्न दक्षता भएका निकायको एकीकृत समन्वय समिति गठन गरेर त्यसको नियमन गर्न सकिन्छ । त्यस्तो विशेष जिम्मेवारीमा रहने कर्मचारीको चयन कैयौं महिनाअघि नै गरेर उनीहरू आधारशिविरमा लामो अवधि बस्न सक्ने गरी मौसमी अनुकूल गराउने कार्यक्रम ल्याइनुपर्छ ।
सम्भव छ व्यवस्थापन
गत वर्षकै तथ्यांक हेर्ने हो भने विदेशी र शेर्पा गरेर ६५० भन्दा धेरैले नेपालतर्फको मोहडा प्रयोग गरेर सगरमाथाको सफल आरोहण गरेका थिए । सामान्यतः मानव शरीरले काम गर्न नसक्ने त्यस्तो असहज ठाउँका लागि यो संख्या कति स्वाभाविक हो भनेर वैज्ञानिक समीक्षा हुनुपर्ने देखिन्छ । सफल आरोहण भएको त्यो संख्या निकै उच्च हो । खास गरी ‘डेथ जोन’ भनिने ८,००० मिटरमाथि अर्थात् चौथो शिविरपछि चुचुरो पुगेर फर्कनेबाहेक रोकिने अर्को शिविर छैन । त्यहाँ पुग्ने सकसको तुलना केहीसँग हुँदैन ।
पुस्तक ‘शेर्पा’ मा त्यस सकसलाई बुझाउन ‘चकलेटको खोल पनि गह्रुँगो हुने’ र ‘ठूलो आँट जुटाएर महत्त्वपूर्ण प्रत्येक पाइला’ चाल्नुपर्ने भनेर व्याख्या गरिएको छ । त्यहाँ सकेसम्म त्यसै गरी पुग्ने हो, नसके फर्कने हो । त्यस दोधारमा कोही आफ्नो क्षमताले नसक्दासमेत अनिर्णीत भइदियो, घाइते वा बिरामी भइदियो, उसको सहयोगीको साथ पनि काम लागेन भने हुने ट्राफिक जाम नै हो । निकै साँघुरो र प्रायःजसो त्यस भागमा हुने एकतर्फी डोरी टाँगिएको बाटोमा कसैले पाइला, दिमाग वा दुवै चलाउन सकेन भने उसका लागि त्यो घातक त हुन्छ नै । त्यो अन्य धेरैका लागि ठूलो समस्या हुन सक्ने अवरोध बन्न सक्छ ।
प्रसिद्ध आरोही राइनहोल्स मेसनरले आरोहीको भीडलाई ‘आरोहण’ को साटो ‘उच्च उचाइका पर्यटक’ भन्छन् । किनकि ती आफूमा भन्दा अरूमा बढ्ता निर्भर हुन्छन् । त्यस प्रकारका आरोहीले पैसाका भरमा धेरै शेर्पाहरू गाइड बनाएर धकेलेर वा बोकिएरै चुचुरो पुग्न सकिन्छ भन्ठान्छन् । प्राविधिक रूपमा त्यसलाई असम्भव त भन्न मिल्दैन तर उचाइ भनेको सबैभन्दा पहिले स्वयंको शरीरसँग जोडिन्छ । निकै कम वायुमण्डलीय अक्सिजनमा शरीरले गर्ने काम आफ्नै शरीरले गर्नुपर्छ । मुटुको चाल, रक्तसञ्चार, मस्तिष्कले गर्ने कामको जिम्मा स्वयंले बाहेक कसैले लिन सक्दैन र बोतलका अक्सिजन जतिसुकै पर्याप्त भए पनि ती चुचुरोमा ‘अचुक’ होइनन् । त्यसैले तुलनात्मक रूपमा केही होचा हिमालको अनुभव भएका, पर्याप्त मौसमी अनुकूलन भएका र उचाइमा प्रत्युत्पादक हुन सक्ने शारीरिक समस्या वा रोग नभएकाहरू मात्र सगरमाथाका लागि योग्य मानिनुपर्छ ।
तर मौसमी गडबडी वा भवितव्यका बेला सक्षम आरोहीसमेत समस्यामा पर्छन् । आरोहण कम्पनीबीचको सहकार्यमा जोसुकैलाई अठ्यारो पर्दा सहायता पुग्ने गरी चौथो आधारशिविरमा एउटा उद्धार टोली तैनाथ हुनुपर्ने व्यवस्था गरिनुपर्छ । सरकार र कम्पनीहरूले सुरक्षित आरोहणका लागि आपसी समन्वय मात्र होइन, यसरी एक अर्कालाई सघाउने गरी सगरमाथाको उद्योग सञ्चालन हुन आवश्यक छ । त्यस क्रममा काठमाडौं–आधारशिविर र हिमालबीचमा सञ्चार सम्पर्कको बलियो सुविधा बन्न आवश्यक छ ।
प्राविधिक रूपमा व्यवस्थापन गर्न सकिने केही उपाय छन् । जस्तो, सगरमाथा आरोहण मार्गमा पर्ने ओभरह्याङ भनिने डोरीका सहायतामा झुन्डिँदै जानुपर्ने ठाउँमा, चट्टानी विन्दुहरूमा, कडा बरफ भएको ठाउँमा आरोहणका बेला जान दुईवटा र फर्कनका लागि एउटा डोरी टाँग्ने व्यवस्था गर्न सकिन्छ । अहिले आरोहण याम चलिरहँदा जुनसुकै बेला पनि अनुमति जारी हुन सक्ने सरकारी व्यवस्था छ । अनुमति लिने उक्त काम कम्तीमा मार्चमै सकिनुपर्छ । जसले आरोहण व्यवस्थापन गर्ने सरकार, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) वा पर्वतारोहण सञ्चालक संघ र सम्बन्धित कम्पनीसँग व्यवस्थापनको योजना बनाउने पर्याप्त समय हुनेछ । तर नेपालमा त्यस बेलै अन्य हिमाल चढिराखेका आरोहीका लागि भने अन्तिम अवस्थासम्मै सगरमाथा चढ्नका लागि अनुमति दिँदा फरक पर्दैन ।
कम्तीमा सम्भावित सुरुवाती मुख्य तीन–चार समिट विन्डोको योजना बनाउँदै त्यसमा पठाउने आरोहीको उच्चतम संख्या तोकिँदा राम्रो हुन्छ । समिट विन्डोको उच्चतम उपयोग गर्न कम्तीमा चौथो शिविरसम्म डोरी टाँग्ने काम विन्डोहरू खुल्नुअगावै गरे आरोहण यामको अवधि केही फराकिलो पार्न सकिन्छ ।
जलवायु परिवर्तनको कारण बढ्दो तापक्रमबीच हाल मुख्य आरोहण यामका रूपमा रहेको वसन्त मासलाई कम्तीमा १५ दिनअगावै सुरु गर्दा धेरै समस्याको समाधान निस्कन्छ । त्यसले कम्तीमा दुई–चारवटा समिट विन्डो थप गर्न सक्छ र सगरमाथामा ट्राफिक जाम समस्याका रूपमा देखिँदैन । व्यावहारिक रूपमा त्यसको सम्भावना आकलन गरिए पनि यसअघिका कम्तीमा पाँच वर्षको मौसमी प्रवृत्ति केलाउँदा त्यसको आधार प्रस्ट हुनेछ ।
नेपाली र विभिन्न देशका उच्च स्रोत सम्पन्न विशाल आरोहण कम्पनीहरू हाल सगरमाथाको व्यवसायमा छन् । त्यहीं भर्खर उदाउँदै गरेका स–साना र न्यून क्षमताका कम्पनीसमेत पाइन्छन् । व्यवसायमा सानाठूलामा विभेद गर्नु हुँदैन तर मानिसको जीवन जोडिएको व्यवसाय भएकाले सगरमाथा आरोहणमा संलग्न हुने कम्पनीहरूको न्यूनतम क्षमता जाँच हुनैपर्छ । हिमाली गाइडको सीप–तालिम र अनुभवको परीक्षण गरेर मात्र गाइड बन्न पाइने र उनीहरूको निर्णय अन्तिम हुने गरी अख्तियारी दिनुपर्छ । हिमालमा गाइडका रूपमा शेर्पा जातिको बाहुल्य छ । तर पछिल्ला वर्ष अन्य समुदायबाट समेत उल्लेख्य गाइड आएका छन् । उच्च संख्यामा विदेशी गाइडसमेत त्यसमा समावेश छन् । माथिल्ला शिविरमा गाइडको अस्वीकृतिका बाबजुदसमेत आरोहीहरूको ढिपीले गर्दा आरोही र गाइड दुवैको ज्यान गुमेका उदाहरण पछिल्ला वर्ष देखेका छौं ।
व्यावसायिकीकरण उच्च हुँदा देखापरेका नकारात्मक प्रतिस्पर्धाले आधारभूत पर्वतारोहणको तयारी र त्यसप्रतिको सम्मानबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने ‘सस्तो लोकप्रियता’ ले सगरमाथाको गरिमा घटाउँदो छ । अहिले सगरमाथाको सबैभन्दा ठूलो चुनौती त्यस्ता चुचुरो पुग्ने आकांक्षीहरू हुन् । प्रतिस्पर्धाका नाममा न्यूनतम शुल्कमा आरोही लैजाँदा उनीहरूको न्यूनतम सुरक्षा मापदण्ड पालना भइरहेको हुँदैन र हिमालमा अक्सिजन चोरीजस्ता विकृत अभ्यास देखिने गरेका छन् । जटिल अवस्थामा त्यस्ता कम्पनीको निर्णय क्षमतासमेत कमजोर पाइन्छ । त्यसमा नियन्त्रण हुनेबित्तिकै सगरमाथाको धेरैजसो समस्या समाधान हुन्छ र सगरमाथाको गरिमा चिरपर्यन्त रहिरहन्छ । कान्तिपुर