Loktantra Khabar National Weekly
Ad

जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

लोकतन्त्र खबर
२ फाल्गुन २०८०

धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पूरा गरेको छ।

सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले ५ वर्षको अवधिमा सरकारका उच्च प्रतिनिधिदेखि कलाकार हुँदै सर्वसाधारणसम्ममा यसको क्रेज बसाल्न सफल भएको बताएको छ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अन्य नेता तथा कलाकार समेतले मनोरञ्जन लिइसकेका छन्।

राजधानी काठमाडौंबाट ३५ किलोमिटर मात्रै भएकाले पनि धुलिखेल उपत्यकावासीको सहज गन्तव्य हो। सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बनेको कम्पनीले जनाएको छ।

काठमाडौंबाट नजिकैको दूरीमा रहेको धुलिखेलमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइनको मज्जा लिन मिल्ने भएकाले पनि यो सबैको रोजाइमा परेको धुलिखेल जिपलाइनका सिइओ भुपेश श्रेष्ठ बताउँछन्।

उनका अनुसार तीन हजार रूपैयाँमा फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसको लोकप्रियता पनि ह्वात्तै बढेको हो।

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो।

धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ। दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ।

समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा रहेको टप स्टेसनबाट सुरू भएको यात्रा बटम स्टेसनमा पुग्दा एक सय मिटर मात्रै तल झर्छ।

यस बीचमा दुई सय ४० फिटको ‘भर्टिकल ड्रप’ हुने गरी डोरी टाँगिएको छ। यसमा उडिरहँदा नजिकका खेतबारी, जंलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ।

५ वर्षअघि सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले जिपलाइन लगायतका परियोजना बनाएका थिए।

त्यसपछि सबैको आकर्षण बनेको जिपलाइन अहिले विभिन्न गन्तव्यहरूमा फैलिरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: