Loktantra Khabar National Weekly
Ad

सातवटा गीत फ्लप थिए, ‘टाढा भए पनि’ हिट हुँदा खुब रोए

लोकतन्त्र खबर
२७ पुष २०८०

लकडाउनको समयमा आफ्नो पुरानो तस्बिर र भिडिओको फाइल पल्टाउँदै जाँदा उर्गेन दोङले एक भिडिओ भेटे।

त्यसमा उनले ‘टाढा भए पनि, मेरो माया गाढा छ नि’ भन्दै गुन्गुनाएका थिए।

भिडिओमा उनले दुई हरफ मात्रै गाएका थिए। उनलाई लाग्यो — यो गीत पूरा गरेँ भने ठिकठाक चल्छ होला!

त्यसअघि उनले सातवटा गीत निकालिसकेका थिए। कुनै पनि चलेका थिएनन्। घरमा उनलाई ‘गीत-संगीतमा भविष्य छैन, समय बर्बाद नगर्’ भन्न थालिसकेका थिए। उनको भने गीत-संगीत क्षेत्रमै राम्रो गर्ने अडान थियो।

नेपाली भाषामा उनले गाएका गीत नचलेपछि उनलाई केही व्यक्तिले तामाङ भाषाका गीत गाउन सुझाए। उर्गेनले ती सुझाव मनन गरे, तर थोरै परिमार्जन गरेर।

‘तामाङ भाषाको मात्र गीत गाउनेभन्दा पनि मैले यही गीतमा तामाङ भाषा मिसाउने सोचेँ,’ उनले भने।

अनि लेख्न थाले —

ङाला सेमला रानी एनुन, एदा चखखेन तिङ्री थान्बा

दुःख सुख जेनुन तासै, चुल्हुईमी एलान म्हान्बा 

जसको अर्थ हुन्छ —

मेरो मनकी रानी तिमी नै, तिमीलाई मात्र यो मनमा राखेँ

दुःख सुख जे भए पनि, यो जिन्दगी नै तिमी नै लाग्छ

उर्गेनलाई एक जना दाइले तामाङ शब्द लेख्न सहयोग गरे। पूरा भएपछि त्यसमा संगीत भरे। बाजाको संयोजन मिलाए। गीत तयार भयो। तर भिडिओ बनाउन उनीसँग पैसा थिएन। उनले ‘लिरिकल’ (शब्दहरू समावेश भएको) भिडिओ युट्युबमा सार्वजनिक गर्न सोचे।

त्यति बेलै उनलाई म्यासेज आयो, ‘भाइ तिमीसँग कुनै गीत छ? छ भने तीनधारे झरनामा खिचौं, राम्रो हुन्छ।’

‘गीत छ तर बजेट छैन। म लिरिकल भिडिओ हाल्ने सोचिरहेको छु,’ उनले जबाफ दिए।

‘मिलेर काम गरौं न त भाइ,’ ती व्यक्तिले भने।

म्यासेज गर्ने व्यक्ति थिए प्रदीप मोक्तान। प्रदीप उनै हुन्, ‘टाढा भए पनि’ गीतका मोडल।

सीमित बजेट भएकाले उर्गेन आफैंले म्युजिक भिडिओ निर्देशन गरे। आफ्नै युट्युब च्यानलमा हाले।

‘रिलिज गरेको पहिलो दिनमा सबभन्दा धेरै भ्युज पाउने यही गीत हो मेरो। ५ हजार भ्युज पाएको थियो। म एकदमै खुसी भएँ। १५ दिनमा ६० हजार जति भ्युज गयो। बिस्तारै गीत चल्ने रहेछ जस्तो लाग्यो,’ उनले त्यो बेलाको मीठो अनुभव सुनाए।

केही समयपछि एक दिन उनी साथीभाइसँग रमाइलो गरिरहेका थिए। एक्कासि उनको मोबाइल टुङटुङ-टुङटुङ गर्दै निरन्तर बज्न थाल्यो। उनले नहेरी इन्टरनेट बन्द गरे। पछि सुत्ने बेलामा मोबाइल खोलेर हेरे। धेरै नोटिफिकेसन र म्यासेज आएर उनको मोबाइल नै ह्याङ भयो।

‘अघिल्लो दिनसम्म ६०/७० हजार भ्युज भएको गीतले २ लाख भ्युज पाएछ,’ उर्गेनले सुनाए।

त्यति बेलै साथीहरूको म्यासेज आयो — ओइ, तेरो गीत त टिकटकमा भाइरल भइरहेको छ!

उर्गेनलाई अचम्म लाग्यो। उनीसँग टिकटक अकाउन्ट थिएन। तुरून्तै बनाए। टिकटकभरि आफ्नो गीत देखेर उनी एकैसाथ छक्क र मख्ख परे।

‘त्यसरी गीत चलेको देखेर त कति खुसी भएँ, भएँ। त्यो दिन म खुब रोएँ पनि। अनि आफ्नो गीतमा आफैं टिकटक बनाएँ। मेरो टिकटक, फेसबुक, इन्स्टाग्राम सबैतिर फलोअर्स बढ्न थाले। मलाई कामका लागि पनि फोन आउन थाल्यो,’ उनले भने।

यो गीत केन्द्र मोसन पिक्चर्सले रिमेक गर्ने भयो। यसका निम्ति कम्पनीले उर्गेनलाई तीन लाख रूपैयाँ दिएको थियो। त्यसअघि उनले काम गर्दा १५-२० हजार रूपैयाँ पनि मुस्किलले पाउँथे।

‘केन्द्र मोसनले ३ लाख दिन्छु भन्दा त म छक्क परेँ नि। मैले काम त पाएको थिइनँ, पैसा त झन् मलाई १५-२० हजारमा पनि पत्याउँदैन थिए,’ उर्गेनले भने, ‘उहाँहरूले यो गीतको मोडल आफैं छान्नु भयो। गायिका मलाई छान भन्नुभयो। तर मेरो ध्यान भिडिओमा कसले खेल्ने भन्दा पनि पारिश्रमिकले तान्यो। मेरो ऋण सबै तिरिने रहेछ जस्तो लाग्यो।’

केन्द्र मोसन पिक्चर्सले अस्मिता अधिकारीको आवाजमा गीत निकाल्यो। उर्गेनको गीतले थप चर्चा पायो।

सातवटा गीत नचले पनि हरेस नखाएका उर्गेनलाई ‘टाढा भए पनि’ गीतले संगीतसँगको निकटता झनै बढाइदियो। यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सांगीतिक बाटो मात्र नभई उनको आर्थिक पाटो पनि बलियो हुँदै गयो।

उर्गेन प्रायः गीतमा तामाङ भाषा मिसाउँछन्। अस्मिता अधिकारीसहित मेलिना राई, अनु चौधरी, रचना रिमाल, एलिना चौहान लगायतलाई उनले तामाङ शब्द मिश्रित गीत गाउन लगाएका छन्।

अस्मितालाई तामाङ शब्द गाउन लगाउँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘मेलोडी त्यही हो। शब्द उच्चारण गर्न अलि समस्या हुने हो। तामाङले यो गीत गाएको भए मिठास आउँथ्यो होला तर फरकपन हुँदैन थियो।’

आठौं गीत ‘टाढा भए पनि’ बाट चर्चा कमाएका उर्गेनका त्यसपछिका ‘दुई दिनको माया’, ‘लजालु मायालु’, ‘म झुटो’, ‘जवानीले’, ‘सैया’ लगायत गीत हिट छन्।

‘मलाई रक गीत गाउन मनपर्छ। तर दर्शकले मलाई लोकपपमा रूचाउनु भयो। पछिल्लो समय दर्शककै रूचिअनुसारको गीत बनाइरहेको छु,’ उनले भने।

उर्गेन काठमाडौंमा जन्मेका हुन्। यहीँ हुर्किए। परिवारमा सबै तामाङ भाषा बोल्छन्। उर्गेन राम्ररी बुझ्छन् तर बोल्न पोख्त छैनन्।

सानै उमेरदेखि गायनमा रूचि थियो उनको। साथी गितार बजाउँथे, उनी गीत गाउँथे। विद्यालयमा हुने हरेक गायन प्रतिस्पर्धामा सहभागी हुन्थे। कहीँकतै कन्सर्ट हुने सुनेबित्तिकै गइहाल्थे। एसएलसी दिएपछि साथीहरूले उनलाई संगीत सिक्न जान भने। आमाबाबुले भने नजान भने। तर उनी रोकिने वाला थिएनन्। उनी गएरै छाडे।

पछि साथीसँग मिलेर ब्यान्ड पनि खोले। केही पैसा जोरजाम गरेर २०६७ सालमा पहिलो गीत निकाले — खै किन!

युट्युब च्यानल खालेर गीत अपलोड गरे। छरछिमेकमा उनी गायक भए भन्ने हल्ला फैलिसकेको थियो। तर गीत जम्मा पाँच जनाले हेरे। केही समयपछि त्यही गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा हालियो। तैपनि भ्युज आएन।

उर्गेनको घरको आर्थिक अवस्था बलियो थिएन। उनका बुबा चालक काम गर्थे, आमा होटल चलाउँथिन्। कलेज पढिरहेका उर्गेन खर्चको जोहो गर्न बारमा काम गर्थे। आफ्नै लगानीमा गीत निकाल्न सकेनन्। साथीसँग मिलेर अरू दुइटा गीत निकाले। ती पनि चलेनन्।

उनी बारमा गीत गाउँदै रमाइरहेका थिए। २०७२ सालको भुइँचालोपछि बार बन्द भयो। त्यसपछि उनले होटलमा वेटरका रूपमा काम थाले। उनका साथीहरू विदेश जाने तयारीमा लागे। उनलाई के गर्ने भन्ने अन्योल भयो। यति बेलासम्म उनको अडान गीत-संगीतमै आफ्नो भविष्य बनाउँछु भन्ने थियो। पैसा नभएपछि कसरी अगाडि बढ्ने भन्ने मेलोमेसो पाएका थिएनन्।

त्यसपछि उनी दुबई हानिए। त्यहाँ होटलमा काम गरे। थकित भएर कोठामा आउँथे। अर्काे कोठामा युगान्डाका एक युवक बस्थे। ती युवक ठूलो स्वरमा गीत बजाउँथे। कामले थाकेर आएका उर्गेनलाई झर्काे लाग्थ्यो। उनले एक दिन हिम्मत जुटाएर गीत नगाउन भन्न गए। त्यहाँ जाँदा ती युवक गीत संयोजन गरिरहेका थिए। ती युवकको कामप्रति उर्गेन आकर्षित भए। उनले आफू पनि ‘नेपालको गायक हुँ’ भन्दै गफ दिए।

ती युवकलाई संयोजनको काम सिकाउन आग्रह गरे। गितार किनेर गुन्गुनाउन थाले।

दुबईमा २१ वटा कम्पनी मिलेर ‘अल्फा गट ट्यालेन्ट’ नामक प्रतियोगिता आयोजना गरेका थिए। त्यसमा उर्गेनले सहभागिता जनाए।

‘प्रतियोगितामा म विजेता भएँ। त्यसपछि त मेरा दिन फेरिए। कम्पनीले राम्रो पोस्टमा काम लगायो,’ उनले भने, ‘नगद पुरस्कारसहित एक हप्तासम्म घुम्ने टिकट पाएको थिएँ। म नेपाल आएँ।’

एक हप्ताका लागि भनेर आएका उनले तीन महिनाको छुट्टी मिलाए। यस अवधिमा उनले चेतन कार्कीसँगको सहकार्यमा ‘माया मार्‍या छैन नि’ र गिरिश खतिवडासँगको सहकार्यमा ‘माग्ने होइन नि’ गीत निकाले। यी गीत पनि चलेनन्।

उनी फेरि दुबई गए। दुबईमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन थाले।

उनी विदेशमै भएको बेला ‘नेपाल आइडल’ गायन कार्यक्रम प्रसारण सुरू भयो। कार्यक्रम हेरेर यति त म पनि गाउन सक्छु भन्ने सोच्न थाले। नेपाल आइडलको दोस्रो सिजन सुरू भएपछि उनी काम छाडेर सहभागी हुन आए। तर पहिलो चरणमै बाहिरिए।

‘म धेरै क्यामरा देखेर अत्तालिएँ। गीत गाउनै सकिनँ। छनोट हुन नसकेपछि निराश भएँ,’ उर्गेनले सम्झिएँ, ‘दोस्रो मौका मागेको थिएँ। पाइनँ।’

उनमा इख बस्यो — म आफैं गीत-संगीतमा राम्रो गर्न सक्छु!

यसपछि विरेन दोङसँगको सहकार्यमा ‘विउर्न स्टुडियो’ खोले। स्टुडियो खोले पनि काम दिने मान्छे भएनन्। पुसमा खोलेको स्टुडिओ, चैतमा कोरोना कहरको चपेटामा पर्‍यो। लकडाउनमा सबै काम ठप्प भयो।

‘मेरा सात वटा गीत सुपर-डुपर फ्लप भइसकेका थिए,’ उर्गेनले भने, ‘के गर्ने भन्ने अलमलमै थिएँ।’

यतिबेलै हो, लकडाउनको फुर्सदमा उनले ल्यापटपमा आफ्ना पुराना फोटा र भिडिओका फाइल पल्टाएका। तिनै फाइलमा भएको ‘टाढा भए पनि, मेरो माया गाढा छ नि’ गीतले आखिरमा उनलाई चर्चा दिलायो। उर्गेन दोङ गायक, संगीतकार, संगीत संयोजक भनेर परिचित भए।

‘मेरो गीत यत्तिको चल्छ भनेर सोचेकै थिइनँ। घरिघरि सपना हो कि जस्तो लाग्छ। अहिले मैले आफूले मनदेखि चाहेको काम गर्न पाइरहेको छु, यो नै मेरो सबभन्दा ठूलो उपलब्धि हो। मलाई सांगीतिक क्षेत्रमा लागेर धेरै पैसा कमाउनु छैन। आफ्नो परिवार पाल्न सक्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ। अहिले सबैतिर राम्रो भइरहेको छ,’ उनले खुसी हुँदै सुनाए।

हालै उनको ‘तामाङ दाइ’ बोलको गीत सार्वजनिक भएको छ। यसमा शब्द, संगीत, संगीत संयोजन, स्वर सबै उर्गेनकै छ। उनी भिडिओमा समेत देखिएका छन्।

गीतबारे उनी भन्छन्, ‘भिडिओले तामाङ संस्कृतिको झल्को दिन्छ। तर आफ्नो काम गरेर हिँड्ने एक साधारण व्यक्तिमाथि अत्याचार गर्दा के हुन्छ भनेर देखाउन खोजिएको छ। यो एक व्यक्तिले आत्मसम्मानका लागि गरेको लडाइँमा आधारित छ।’

‘अतिले खति हुन्छ, खतिले क्षति हुन्छ’ नारासहित यो गीत उर्गेन दोङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो गीतपछि उर्गेन एल्बम निकाल्ने तयारीमा छन्। आफ्नो एल्बममा उनी तामाङ मात्र नभई थारू, गुरूङ, नेवारी भाषा मिसाउने योजनामा छन्।

‘लिरिक्स लेख्न म त्यति धेरै राम्रो छैन। तर मलाई मेलोडी बनाउन रमाइलो लाग्छ। म जहिल्यै मेलोडी बनाइसकेपछि शब्द कोर्छु। स्टेजमा आफ्नो गीत मभन्दा ठूलो स्वरमा दर्शकले गाउँदा एकदमै खुसी लाग्छ,’ उर्गेनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: