Loktantra Khabar National Weekly
Ad

उखु खेती छाडेर तरकारी खेतीमा आकर्षित हुँदै सर्लाहीका किसान

लोकतन्त्र खबर
२३ पुष २०८०

मनोज यादव
सर्लाही,पुस २३

चिनी मिलहरुले भुक्तानी रोकेपछि आर्थिक समस्या झेल्दै आएका सर्लाहीका किसानहरु उखु खेती छाडेर व्यवसायिक तरकारी खेती गर्न थालेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि किसानहरु उत्साहित छन् ।

उखु खेतीको लागि पकेट क्षेत्र मानिने सर्लाहीको पश्चिमी भेगका किसान चिनी मिलले उखुको भुक्तानी रोकेपछि तरकारी खेतीतर्फ लागेका छन् । उखु उधारोमा विक्री हुँदा आर्थिक समस्या झेल्दै आएका किसान तरकारीबाट राम्रो आम्दानी भएपछि उत्साहित भएका छन्।

दुःख गरेर उत्पादन गरेको उखुको भुक्तानी नपाएपछि निरास भएर तरकारी खेतीतर्फ लागेको गोडैता नगरपालिका ,जयपुरका किसान सिंहेश्वर रामले बताए ।

उद्योगीले समयमा रकम भुक्तानी नगर्दा घरव्यवहार चलाउन निकै समस्या परेको किसानहरुको गुनासो छ । उखु बिक्री गरे वापतको रकम भुक्तानी पाउने आसमा साहु र बैंकसँग लिएको ऋण तिर्न समेत समस्या भएको उनीहरुको गुनासो छ ।

लागत कम लागेपनि उखु खेतीबाट आम्दानी नदेखिएपछि बाध्य भएर तरकारी खेती सुरु गर्नु परेको जयपुरकै अर्का किसान रामबाबु मुखिया बताउँछन्।

कुनै समय उखु मात्र रोपिएको खेतमा अहिले तरकारी रोपिएको छ । गाउँ नजिकै चिनी मिल रहेतापनि यस क्षेत्रका किसानहरु आफ्नै जग्गामा र भाडामा लिएर समेत व्यवसायिक रुपमा तरकारी खेती थालेका छन् । मौसमी र बेमौसमी दुबै खाले तरकारी खेतीबाट राम्रो आम्दान भइरहेको उनीहरुको भनाइ छ ।

किसानले काउली, भ्यान्टा, बन्दाकोभी, मुला, खुर्सानी र आलुलगायत तरकारीहरु रोपेका छन् । उत्पादित तरकारी सर्लाहीमा मात्र नभए, काठमाडौं, वीरगञ्जलगायतका शहरमा समेत निर्यात हुने गरेको छ ।

किसानहरु मिलले भुक्तानी नदिँदा उखु खेतीबाट लागेको ऋण तरिकारी खेतीबाट तिर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्: