Loktantra Khabar National Weekly
Ad

जंगलको बीचमा एड्भेन्चर फार्म रिसोर्ट

लोकतन्त्र खबर
७ मंसिर २०८०

एउटा भनाइ छ– व्यवसायको सफलता नयाँ काममा भन्दा बढी नयाँ शैलीमा भर पर्छ।

अर्थात् नयाँ शैलीले व्यवसाय सफल हुन्छ।

नेपाली युवा व्यवसायीहरू नयाँनयाँ शैली अनाउँदै छन्। खास गरी होटल र रेस्टुरेन्टहरूमा नयाँ शैलीको लहर चलेको छ, नयाँ भइकन मौलिक पनि।

यस्तै मध्येको एक हो कास्कीको पोखरानजिकै सराङकोटस्थित ‘नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्ट’।

कुल ५७ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले एउटा ग्रामीण बस्तीको झल्को दिन्छ।

रिसोर्टका व्यावसायिक सल्लाहकार विष्णु धिताल भन्छन्, ‘यो रिसोर्टले गाउँले संस्कृति झल्काउँछ र गाउँले माहोलमा रमाउने अवसर दिन्छ। रिसोर्टमा कृषि र एड्भेन्चर पनि छ।’

रिसोर्टमा कृषि फार्मलाई प्राथमिकता दिइएको छ। रिसोर्टभित्रै भैंसी, बाख्रा र कालिज पालिएको छ। मौरीपालन पनि छ। करिब पाँच रोपनी जमिनमा तरकारी खेती छ। रिसोर्टको भान्सामा पाक्ने अधिकांश तरकारी त्यहीँको हुन्छ।

‘पोखरामा सञ्चालित होटल र रिसोर्टभन्दा नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्ट फरक छ। यहाँ पोखरामा हुने सबै खाले एड्भेन्चर समेट्ने प्रयास गरिएको छ,’ धितालले भने।

जंगलको बीचमा रहेको रिसोर्टमा स्वीङ, ट्री-वाकिङ र रेनबो पुल छन्। बाघ बस्ने ओडार, लगायत प्राकृतिक गुफाहरू पनि छन्। रिसोर्टले यस्तो प्राकृतिक विविधताको संरक्षण र पर्यटकीय उपयोग गरेको छ।

यो रिसोर्ट निर्माणको काम तीन वर्षअघि सुरू भएको हो। पाँच वर्षमा पूरा हुने गरी सुरू भएको काममा हालसम्म १० करोड रूपैयाँ लगानी भइसकेको छ। लगानी बढाउँदै सुविधा र एड्भेन्चर थप्ने योजना रहेको उनले बताए।

रिसोर्टमा जिपलाइन सञ्चालन तयारी हुँदैछ। यसपछि रक क्लाइम्बिङ, स्काई साइक्लिङ र रिभर्स बन्जी (माथितिर उड्ने) चलाउने योजना छ।

‘यो रिसोर्ट एउटा ड्रिम प्रोजेक्ट हो। धेरै एड्भेन्चर एकै ठाउँमा उपलब्ध हुनेछ। रिसोर्टको सबै सुविधा हुनेछ,’ उनले भने।

सामान्यतया बन्जीमा अग्लो ठाउँबाट सिधा तल हाम फालिन्छ हो। रिभर्स बन्जीले माथितिर उडाउँछ। यसमा सबै काम मेसिनले गर्छ।

‘यस्तो बन्जी नेपालमै पहिलो हुनेछ,’ उनले भने।

धेरै प्रकारका एड्भेन्चर सहितको रिसोर्टमा कुल एक अर्ब रूपैयाँ लगानी हुने अनुमान छ। पूर्ण प्राकृतिक र ग्रामीण परिवेशमा एकै ठाउँमा धेरै एड्भेन्चरको मजा लिन र खानबस्न पाउनु नै नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्टको मुख्य विशेषता हुनेछ।

जंगलभित्रै योग गर्ने सुविधा पनि हुनेछ।

‘अहिले एड्भेन्चर खोज्दै धेरै ठाउँ घुम्नुपर्छ,’ धितालले भने, ‘यो रिसोर्ट पूरा सञ्चालन भएपछि एकै ठाउँमा धेरै एड्भेन्चरको मजा लिन पाइनेछ।’

हाल रिसोर्टमा फार्म र एड्भेन्चरसँगै वासका लागि आठ वटा कटेज तयार छन्। तिनमा १६ वटा कोठा छन्।

रिसोर्टको सफ्ट लन्च अर्थात् परीक्षण सेवा सुरू भइसकेको छ। आगामी वैशाखदेखि अधिकांश सेवा सञ्चालन हुनेछन्। निर्माण पूरा भएपछि पूर्ण रूपमा सञ्चालन हुनेछ। हाल रिसोर्टमा मासिक पारिश्रमिक पाउने गरी १८ जनाले रोजगारी पाएका छन्।

रिसोर्टले मुख्यतया आन्तरिक पर्यटकलाई नै लक्षित गरेको धितालको भनाइ छ। नेपालीहरूलाई नेपालका पर्यटकीय गन्तव्यहरूमा पुर्‍याउनुपर्छ भन्ने दृष्टिकोणका साथ रिसोर्टको परियोजना अघि बढेको हो।

‘हामीले आन्तरिक पर्यटकलाई बढी लक्षित गरेका छौं। विदेशी पर्यटकहरू त आउने नै छन्,’ धितालले भने।

नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्टको परिकल्पना धितालका छोरा अभिनवले गरेका हुन्। उनका बुबा विष्णु व्यावसायिक सल्लाहकार हुन्।

त्यो बेला पर्यटन क्षेत्रमा लगानी गर्न धिताल परिवारको छलफल चलिरहेको थियो। कहाँ के गर्ने भन्ने निर्क्यौल हुन सकेको थिएन,’ अभिनवले भने, ‘इच्छा बुबाको भएपछि मैले एड्भेन्चर र फार्मसहितको रिसोर्टको परिकल्पना गरेँ।’

सुरूमा उनीहरूको सोच विदेशतिर प्रचलित लिभिङ म्युजियम सहितको रिसोर्ट बनाउने थियो। सम्भव भएन।

‘हाम्रा पूर्वजहरू बस्ने घर, भाँडाकुँडा, उनीहरूले लगाउने लुगा, खाने परिकार अहिलेको पुस्ताले देख्न, प्रयोग र अनुभवसमेत गर्न मिल्ने गरी नयाँ खालको रिसोर्ट बनाउने सोच थियो,’ उनले भने, ‘लिभिङ म्युजियमका लागि सबै कुरा जुटाउन नसकेपछि फार्म र एड्भेन्चर समावेश गरेर गाउँले परिवेशको रिसोर्ट बनाएका हौं।’

रिसोर्टका लागि उपयुक्त ठाउँ खोज्न करिब दुई वर्ष लाग्यो। पोखरा, धम्पुस, धिताल गाउँ र अन्य केही ठाउँमा खोजी गरे। धेरै घुमेपछि सराङकोट पुगे। त्यहाँ विद्यालयको जग्गा लिजमा पाइयो।

हाल रिसोर्टमा बाससहित ब्रेकफास्ट र खाना प्याकेजमा उपलब्ध हुन्छ। रिसोर्ट परिसर घुम्ने सुविधा पनि छ। ढुंगामाटोले बनेको र परालको छानो भएका घर तयार भइसके।

‘कृषि र एड्भेन्चरसहित ग्रामीण परिवेशको पर्यटन नै नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्टको नयाँ शैली हो,’ अभिनवले भने।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: