Loktantra Khabar National Weekly
Ad

टिकटकले फैलाएको उन्माद नियमन कहिले ?

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

काठमाडौँ — पाँच वर्षदेखि मात्र विश्वव्यापी प्रयोगमा आएको टिकटक एपको प्रयोग लोकप्रियताको सीमा नाघेर उन्मादको चरणमा पुगेको छ । छोटा–छोटा भिडियो सेयर गर्न मिल्ने यो एपका प्रयोगकर्ता नेपालमा पनि लाखौं छन् र ती बालबालिकादेखि वृद्धवृद्धासम्मै छन् ।

सुरुमा मनोरञ्जनको माध्यम मानिएको यो एप अहिले धार्मिक, सामुदायिक र जातीय सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, एकअर्काको मानमर्दन गर्ने र अश्लील सामग्री प्रचार गर्ने माध्यमका रूपमा पनि प्रयोग भइरहेको छ । टिकटकको लतले मनोसामाजिक समस्यासमेत निम्त्याउन थालिसकेको छ । टिकटक दुरुपयोग नियन्त्रण नगर्ने हो भने यो एउटा सामाजिक र राजनीतिक समस्याका रूपमा विकराल बन्दै जाने निश्चित छ ।

टिकटकमा सहजै खाता खोल्न मिल्छ, अझ खातै नखोली हेर्ने दर्शक पनि उत्तिकै हुन्छन् । दर्शक बटुल्ने लोभले भ्रमपूर्ण र सनसनीपूर्ण सामग्री बनाउने र प्रसार गर्ने होड चलेको छ । अझ यही बेला, एक व्यक्तिको शरीर अर्को व्यक्तिको टाउको जोडिदिने प्रविधिको उपलब्धता पनि सहज छ । यसरी ‘डिपफेक’ भिडियो तयार गरी टिकटकमार्फत कसैलाई बदनाम गराउने, भ्रम फैलाउने गरेको पाइन्छ ।

टिकटक प्रयोगकर्ताको व्यापकताका कारण भ्रमपूर्ण सामग्री छोटो समयमै ‘भाइरल’ हुने गर्छ । अर्कातिर ‘भ्युज’ र फलोअर बढाउने धुनमा कुनै व्यक्तिको गोपनीयता र प्रतिष्ठा ख्याल नगरी भिडियो खिचेर टिकटकमा ‘पोस्ट’ गर्ने बेथिति पनि बढेको छ । कसैको फरक बोलीचाली, हाउभाउलाई हियाउने ढंगले टिकटकमा भिडियो बनाउनेहरू पनि प्रशस्तै छन् ।

टिकटकजस्ता सामाजिक सञ्जाल जातीय विभेद, घृणास्पद अभिव्यक्ति, चरित्र हत्या गर्ने थलोका रूपमा विकास हुन गम्भीर चिन्ताको विषय हो । सामाजिक सञ्जालमार्फत गरिएका अपराधसम्बन्धी उजुरी प्रहरीमा पर्ने क्रम बर्सेनि बढ्दो छ । यसले साइबर ब्युरोको जनशक्ति र अनुसन्धान क्षमतालाई नै चुनौती दिइरहेको छ । साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधका ७ सय २१ उजुरी परेकामा चालु आर्थिक वर्षको तीन महिनामै ६ सय २० वटा उजुरी दर्ता भएका छन् र अधिकांश टिकटकसँग सम्बन्धित छ । अपराध नियन्त्रणका लागि टिकटकलाई नियमन गर्न अत्यावश्यक भइसकेको प्रहरीको तथ्यांकले प्रस्ट्याउँछ ।

टिकटकले सिर्जना गरेको गम्भीर समस्या भनेको प्रयोगकर्तामा देखिएको लत हो । सकेसम्म धेरै फलोअर खोज्ने ध्याउन्नमा जुनसुकै उमेरका व्यक्ति जुनसुकै हदसम्म जाने होड देखिएको छ । त्यो लत भिडियो बनाउनेमा मात्र होइन, हेर्नेमा पनि मानसिक समस्याकै रूपमा बढेको छ । घण्टौंसम्म लगातार टिकटक भिडियो हेर्ने लतले अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या निम्त्याइरहेको छ ।

मनोचिकित्सकका भनाइमा कुनै पनि लत मस्तिष्कका लागि कडा लागूऔषधको लत लाग्नुसरह नै खतरनाक हुन्छ । केही प्रयोगकर्ता घण्टौं ‘लाइभ’ बसिरहेका हुन्छन्, गिफ्ट मागिरहेका हुन्छन्, कोही त गिफ्टका लागि जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छन् । गिफ्ट दिने क्रममा कतिपयले पैसा उडाइरहेका हुन्छन् । कोही व्यक्तिले टिकटककै कारण पैसा कमाएका छन्, अरू कैयन्मा त्यस्तै लोकप्रियता हासिल गर्ने ध्याउन्नले अर्को लत बनाएको हुन्छ । तर अधिकांश समय टिकटकमै बिताइरहँदा परिवार र समाजबाट टाढिँदै गएका हुन्छन् ।

छिमेकी भारत, अफगानिस्तानलगायत मुलुकले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अमेरिका, फ्रान्सलगायतका विकसित मुलुकले यसको नियमनका लागि सर्भर आफ्नै देशमा राख्ने कदम चालेका छन् । यहाँ पनि विकृति बढेपछि गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर टिकटकमार्फत घृणा फैलाउने, व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक एवं सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सत्तारूढ र विपक्षी दलहरूको बैठकमा पनि सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण र नियमन गर्नुपर्नेमा मतैक्य देखिएको छ । राजनीतिक दलहरू एकमत भएको यही मौकामा टिकटक लगायतका समग्र सामाजिक सञ्जाल नियमनका लागि प्रभावकारी नियम–कानुन बनाइहाल्नुपर्छ । टिकटकमा पोस्ट हुनेबित्तिकै भिडियो भाइरल हुन सक्ने भएकाले विकृतिजन्य सामग्री स्वतः हटाउने संयन्त्र विकासका लागि टिकटकलाई नै जिम्मेवार बनाउन पनि अत्यावश्यक छ ।

विद्वेष फैलाउने, मानमर्दन गर्नेजस्ता सामग्री राख्ने व्यक्ति जुनसुकै मुलुकमा रहेको भए पनि कारबाहीको दायरामा ल्याउन राज्यको तदारुकता चाहिन्छ । अझ, नेपाली समाजलाई यति धेरै प्रभाव पार्ने टिकटकजस्ता सञ्जालको सर्भर नेपालमै स्थापना हुनुपर्छ । त्यसो भएमा मात्र समाजमा घृणा र विद्वेष फैलाउने सामग्री सिर्जना गर्ने र फैलाउनेको पहिचान गरी यथोचित कारबाही गर्न सकिन्छ । सम्बन्धित सबैलाई हेक्का रहोस्, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पहिचान हो, तर जवाफदेहिताबिनाको अभिव्यक्ति अराजकता हो । अराजकता र उन्मादको प्रशस्त छनक समाजले देखिसकेको छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: