Loktantra Khabar National Weekly
Ad

प्यालेस्टिनी प्रतिरोधको संवेग

लोकतन्त्र खबर
१५ कार्तिक २०८०

इजरायलले अहिले प्यालेस्टिनीहरूमाथि जेजस्तो अत्याचार गरिरहेको छ, त्यसलाई निकृष्ट कुकृत्य र सरासर मानवताविरुद्धको अपराध ठहर्‍याउन हच्किनुपर्दैन ।

एक बहुप्रचलित आहान अनुसार, जे कुरा महाभारतमा छैन, त्यो कुरा भूलोकमा छैन । त्यस्तो मान्यताका पछाडि केही ठोस कारण छन् । त्यस ग्रन्थभित्र धर्म, नैतिकता, कर्म, मर्यादा, विवेक, सदाचार, पाप तथा पुण्यजस्ता अवधारणाहरूको उपयोगितासँगसँगै सीमितता पनि दर्साइएका छन् ।

समाजका वैचारिक, सांस्कृतिक, आर्थिक, कूटनीतिक एवं राजनीतिक पक्षहरूबारे धारणा, बहस र दृष्टान्त प्रस्तुत गरिएका छन् । व्यक्तिका प्रेम, घृणा, महत्त्वाकांक्षा, विवशता, स्वार्थ, त्याग, कर्तव्य, प्रतिस्पर्धा, ईर्ष्या, द्वेष, प्रतिशोध, उन्माद, ग्लानि, दर्प एवं विषादजस्ता मनोभावको चित्रण गरिएको छ । सबभन्दा बढी, युद्धको अपरिहार्यता एवं त्रासदीलाई एकसाथ वर्णन गरेर मानव जीवनको निरर्थकता स्थापित गर्न खोजिएको छ । निस्सारताको प्रभुत्वले गर्दा होला, ब्राह्मणवादको एक थरी स्थापित मान्यताले आस्थावान्को घरमा महाभारतको पुस्तक राख्ने कर्मलाई अशुभ मानिन्छ । पण्डितले वाचन गर्ने महाभारतको कथा श्रवण गर्न हुन्छ, तर मूलग्रन्थ पढेर चिन्तन र मनन गर्न मनाही छ ।

सुनाइने जटिल कथाहरूमा एकरूपता हुँदैन । प्रत्येक कथावाचकले आफ्नो व्याख्यामार्फत मूलपाठलाई नयाँ ढंगले अर्थ्याइरहेका हुन्छन् । भीष्म, कर्ण एवं बर्बरिकजस्ता महाभारतका अभिशप्त महायोद्धाहरूसँगै अष्ट चिरञ्जीवीमध्येका अभागी पात्र अश्वस्थामाको अनन्त व्यथालाई पनि विभिन्न टीकाकारले आ–आफ्नै किसिमले व्याख्या गरेका छन् ।

महाबली अश्वस्थामामा क्रोध र प्रतिशोधका भाव एकसाथ आउनाका कारणहरू छन् । उनका अजेय पितालाई सत्यवादी युधिष्ठिरको मुखबाट सन्तप्त सत्य (टार्चर्ड ट्रूथ) रहेको वाक्य — ‘अश्वस्थामा हतो हतः नरो वा कुंजरो वा’ — वाचन गराएर पराजित गराइएको थियो । उनका बालसखा दुर्योधनलाई मृत्युशय्यामा पुर्‍याउन महाबली भीमले गदा–संग्राममा कम्मरभन्दा मुनि हिर्काउन नपाइने नियम भंग गरेर युद्ध–अपराध गरेका थिए । रिसले अन्धो अश्वस्थामा आफैंले पनि नैतिकताका नियमहरू पालन गर्न सकेनन् । रातको अँध्यारोमा पाँच पाण्डव योद्धाको शिरोच्छेदन गर्न निस्केका द्रोणपुत्र भूलवश तिनका सुतिरहेका पुत्रहरूका टाउका लिएर कौरव शिविरमा आइपुग्छन् । त्यस दृश्यले दुर्योधनलाई समेत विचलित तुल्याउँछ । चलाउन जान्ने तर फिर्ता ल्याउन नसक्ने पाशुपतास्त्र गर्भमा रहेको शिशुतिर मोडिँदा भगवान् श्रीकृष्णको धीरता पनि समाप्त हुन्छ । महाभारत युद्धको अन्त एवं शिरोमणि झिकिएर श्रीहीन बनाइएका चिरञ्जीवी अश्वस्थामाको सृष्टि रहुन्जेल कहिल्यै नसकिने कष्टको आरम्भ पाण्डव बालकहरू मारिएपछि नै सुरु भएको हो ।

इजरायलमाथि प्यालेस्टिनी समूह हमासको आक्रमण सामूहिक हताशाको हिंसक अभिव्यक्ति भए पनि निन्दनीय थियो । प्यालेस्टिनी प्रतिरोधको कारबाहीका नाममा निहत्था नागरिकमाथि गरिएको आक्रमणलाई कदापि जायज ठहर्‍याउन सकिँदैन । इजरायलीहरूलाई बन्धक बनाउनु प्रत्युत्पादक कदम हो । तर, त्यसपछि इजरायलले अहिले प्यालेस्टिनीहरूमाथि जेजस्तो अत्याचार गरिरहेको छ, त्यसलाई निकृष्ट कुकृत्य र सरासर मानवताविरुद्धको अपराध ठहर्‍याउन हच्किनुपर्दैन ।

इजरायलको अन्धाधुन्ध बमबारीमा आफ्ना पत्नी, छोरा, छोरी र नाति गुमाएका गाजास्थित अल जजिरा अरबी सेवाका ब्युरो प्रमुख वाएल अल–दहदौहको हृदयविदारक तर संयमित अभिव्यक्तिलाई इतिहासले महाभारतमा अश्वस्थामाप्रति व्यक्त भएको अभिश्रापसँग तुलना गर्नेछ— ‘इजरायल हाम्रा केटाकेटीहरूसँग बदला लिइरहेको छ ।’ पत्रकार अल–दहदौहको पीडालाई वाक्यमा व्यक्त गर्न सकिँदैन । सायद त्यसैले उनी आफ्नो रिपोर्टिङ कर्ममा फर्केका छन् । वेदनालाई थोरै शब्दमा समात्ने क्षमता भने कविहरूमा हुँदो रहेछ । आफ्नो प्रसिद्ध कविता ‘द कन्ट्री विदाउट अ पोस्ट अफिस’ को एउटा मार्मिक पंक्तिमा कश्मीरी–अमेरिकी कवि आगा शाहिद अली आफैंलाई थामथुम पार्छन्— ‘विक्षिप्त मन, साहसी बन् ।’

साँघुरो गाजा पट्टीभित्र २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको बसोबास छ । तीमध्ये आधाभन्दा बढी १८ वर्षमुनिका किशोर–किशोरी छन् । इजरायलले गाजा पट्टीलाई अहिले ‘द कन्ट्री विदाउट अ पोस्ट अफिस’ भन्दा पनि बदतर हालतमा पुर्‍याइदिएको छ । त्यस सघन क्षेत्रमा पिउने पानीको आपूर्ति अवरुद्ध गरिएको छ । खानेकुराको अभाव छ । बिजुली उपलब्ध छैन । अन्तर्जाल सेवा काटिएको छ । झन्डै १८ स्वास्थ केन्द्रलाई ध्वस्त बनाइसकिएको छ । बाँकी बचेका अस्पतालहरूमा तारन्तार बमबारी भइरहेको छ । निर्बाध अन्तर्राष्ट्रिय मानवीय सहायता पुर्‍याउनमा रोक लगाइएको छ । इजरायली आक्रमणमा झन्डै दुई दर्जन प्यालेस्टिनी पत्रकार मारिएका छन् । गाजा पट्टीका प्यालेस्टिनीहरूमध्ये जो जिउँदा छन्, भोक, रोग वा इजरायली बममध्ये कुनचाहिँले पहिले आफ्नो ज्यान लिने हो भन्ने भयमा बाँच्न बाध्य छन् । तथाकथित अन्तर्राष्ट्रिय समुदाय इजरायल एवं त्यसका पश्चिमा समर्थकहरूका अगाडि अहिलेसम्म निरीह ठहरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हमासको हमलाको सन्दर्भ बुझ्नुपर्ने चर्चा मात्र के गरेका थिए, इजरायलको सत्ता एक स्वरमा उनीविरुद्ध खनियो । इजरायलका मन्त्री र सांसदहरूद्वारा महासचिव गुटेरेसको राजीनामाको माग उठाइँदै छ । हमासद्वारा बन्धक बनाइएका इजरायलीहरूका परिवारसँग महासचिव गुटेरेसको बैठक रद्द गरियो र इजरायलका वित्तमन्त्रीले उनलाई भेट्नसमेत मानेनन् । यसैबीच अमेरिकाले ५४ औं पटक सुरक्षा परिषद्को विशेषाधिकार प्रयोग गरेर संयुक्त राष्ट्र संघको इजरायलविरोधी निर्णयलाई सदाझैं निरस्त गरिदिएको छ । महाभारतका निरीह पात्र विदुरजस्तै सायद आफ्नो पदको सीमितताबाट विरक्तिएर महासचिव गुटेरेस हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्ने बहानामा अन्नपूर्ण क्षेत्रतिर आइपुगेका हुन् ।

मूलघरको मिथक

ऐतिहासिक प्रसंगहरू पनि सामान्य तथ्यजस्तै हुन्छन्; निहित स्वार्थ भएका विज्ञहरूले तिनलाई आफ्नो सुविधा अनुसार अर्थ्याएर एकपक्षीय कथ्य उत्पादन र पूर्वाग्रही भाष्य निर्माण गर्छन् । महासचिव गुटेरेसले औंल्याएको हमासले इजरायलमाथि ७ अक्टोबर २०२३ मा गरेको प्रत्याक्रमणको परिप्रेक्ष्य बुझ्नका लागि कम्तीमा तीन कथ्य र चार थरी भाष्यहरूको पृष्ठभूमिमा जानुपर्ने हुन्छ । प्यालेस्टाइनमा यहुदीहरूका लागि स्वतन्त्र राष्ट्र स्थापनार्थ सन् १८९७ देखि युरोपमा सुरु गरिएको आन्दोलनलाई ‘जायोनिज्म’ भन्ने गरिन्छ । त्यस आन्दोलनको आधार ‘घर नभएकाहरूका लागि घर नभएको ठाउँमा मूलघर पुनःस्थापना’ भन्ने वाक्य भ्रामक हुनुका साथै सरासर गलत थियो ।

प्यालेस्टाइन बाँकी विश्वका लागि ‘टेर्रा इन्कगनिटा’ जस्तो अज्ञात वा अन्वेषण नगरिएको क्षेत्र थिएन । त्यहाँ प्यालेस्टिनीहरूको बाक्लो बसोबास एवं समृद्ध सभ्यताको इतिहास थियो । कतिपय प्यालेस्टिनीहरूका पुर्खा सायद यहुदी नै थिए र कालक्रममा धर्मान्तरणद्वारा इसाई र मुसलमान बन्न पुगेका थिए । पश्चिमा देशहरूमा व्याप्त यहुदीविरोधी दुराग्रह (एन्टी–सेमिटिज्म) यथार्थ थियो, तर त्यसको इलाज जायोनिज्ममार्फत प्यालेस्टाइनमा खोज्नु रंगभेद, नस्लभेद र औपनिवेशिक प्रवृत्तिको पराकाष्ठा थियो ।

तेस्रो महत्त्वपूर्ण कथ्यका रूपमा पहिलो विश्वयुद्धका क्रममा यहुदीहरूले गरेको सहयोगको सट्टाभर्नास्वरूप बेलायतका विदेशमन्त्री आर्थर बालफोरले धनाढ्य जायोनिस्ट अगुवा लियोनेल वाल्टर रोथस्चाइल्डलाई ‘बालफोर घोषणा, १९१७’ भनिने पत्र लेखेर प्यालेस्टाइनमा यहुदीहरूका लागि स्वतन्त्र राज्य स्थापना गर्ने प्रतिबद्धतालाई लिन सकिन्छ । त्यसपछि यहुदीहरूका लागि युरोपेली समाजमा मिसिन सक्ने आवश्यकता र सम्भावना एकसाथ समाप्त भयो ।

सन् १९२० पछि लाखौं युरोपेली यहुदीहरूलाई बेलायतले प्यालेस्टाइनमा पुग्न सहयोग पनि पुर्‍याएकै हो । तर, यहुदीविरोधी मानसिकता युरोपमा व्यापक रहेकाले सन् १९३० देखि द्वितीय विश्वयुद्धको समाप्तिसम्म युरोपमा अनुमानित ६० लाख यहुदीको आमसंहार एवं थप दसौं लाखको विस्थापन मानव सभ्यताको त्रासदीका रूपमा इतिहासमा अंकित छ । विश्वयुद्धका विजेता पश्चिमा देशहरूले भने ‘इजरायल’ नाममा नृजातीय यहुदी राज्य प्यालेस्टिनीहरूको परम्परागत भूमिमा सृजना गरेर युरोपेलीहरूको सामूहिक पापको भारी पश्चिम एसियामा बिसाइदिए । सन् १९४७ मा लगभग सबै अरब देशको विरोधका बावजुद संयुक्त राष्ट्र संघले ‘दुई स्वतन्त्र राज्य, यहुदी र अरब’ प्रस्तावनालाई स्वीकार गरेर जायोनिज्म अवधारणालाई भूराजनीतिक मान्यता दियो । अमेरिकीहरू अफ्रिका, एसिया एवं युरोप जोड्ने सामरिक भूखण्डमा आफ्नो अनुकूल आसामी राज्य गठन गर्न सफल भए ।

पश्चिमा मिडिया तथा विचारनिर्माताहरूको सञ्जालले दुष्प्रचार, कुप्रचार एवं अधिप्रचारमार्फत स्थापना गरेका प्यालेस्टाइनविरोधी भाष्यहरू भने झनै भ्रामक छन् । प्यालेस्टिनीहरूले ‘नकबा’ भन्ने गरेको सन् १९४८ को महाविनाश (कटैस्ट्रफी) पछि स्वतन्त्र प्यालेस्टाइनको सम्भावनालाई बल प्रयोग गरेर बन्द गरिएको हो । आ–आफ्ना घरमा ताल्चा मारेर कुनै दिन फर्किने आशामा ७५ वर्षदेखि झोलामा साँचो बोकेर भौंतारिरहेका प्यालेस्टिनीहरू पीडक र ‘इरगुन’ भनिने आतंकवादी संगठन हुँदै राज्य–आतंकको घोषित नीतिद्वारा सञ्चालित इजरायललाई पीडित देखाउनु अनैतिक मात्र नभएर अमानवीय कर्म पनि ठहरिनुपर्ने हो । तर, मानवीयताका मापदण्डहरू पनि शक्तिशाली राज्यहरूले निर्माण गर्ने रहेछन् ।

सन् २०१८ तिर ‘इजरायल अमेरिकाको ५१ औं राज्य घोषित’ भन्ने उत्तेजक शीर्षकमा प्रतिष्ठित अखबार हारेत्जले उपशीर्षकमा थप प्रश्न गरेको थियो— ‘के इजरायल अमेरिकी उपनिवेश हो ?’ यथार्थ भने दुवैभन्दा केही बढी नै हो । इजरायलले अमेरिकालाई कर तिर्दैन, त्यसैले ५१ औं राज्य होइन । अमेरिका इजरायलको आर्थिक शोषण गर्दैन, त्यसैले उपनिवेश पनि होइन । बरु असामी राज्य भएकाले इजरायल अमेरिकीहरूको सामरिक हितप्रति समर्पित छ, त्यस कारण पूर्ण संरक्षण पाउन सफल छ ।

दोस्रो बहकाउने पश्चिमा भाष्य इजरायलको तथाकथित संयमसँग सम्बन्धित छ । प्रसंगबेगर कुनै पनि घटनालाई अर्थ्याउन कठिन हुन्छ । पत्रकारले देखेको कुरा देखाउने हो । पश्चिम एसियाको मामिलामा लगभग सबै पश्चिमा पत्रकारले सन्निहित पत्रकारिता (एम्बेडिड जर्नलिज्म) भनिने पक्षधरतालाई आत्मप्रवर्द्धनका लागि स्वीकार गरेका छन् । घटनाको सन्दर्भ इतिहासकार एवं मानवशास्त्रीहरूले दिन सक्नुपर्ने हो । संसारका लगभग सबै ज्ञान उत्पादनका केन्द्रहरूमा प्यालेस्टाइनविरोधी भाष्यकारहरूको हालीमुहाली छ ।

इजरायलका मन्त्री गाजा क्षेत्रका प्यालेस्टिनीलाई ‘जनावर’ भन्छन् र त्यो कुरा बिनाटिप्पणी र आलोचना दुनियाँभरि फैलाइन्छ; अस्पतालहरू हमासको सैनिक अखडा वा गाजा पट्टीभरि सुरुङहरूको सञ्जाल रहेको अफवाहलाई बिनापुनर्पुष्टि दोहोर्‍याइन्छ अनि त्यस्ता आक्षेपलाई विश्लेषण र विवेचनाको वैधानिकता प्रदान गरिन्छ । प्यालेस्टिनीहरूसँग ‘उम्मत अल–मुमिनिन’ अर्थात् पूरा इस्लामी जगत् उभिने गरेको तेस्रो भाष्यको सबभन्दा ठूलो लाभ इजरायलले लिने गरेको छ । राज्य–आधारित विश्वका सबै देश आफ्नो हित सुरक्षित गर्ने निर्णय लिन्छन् । इजिप्टको आफ्नो स्वार्थ छ र त्यसका लागि कहिलेकाहीँ प्यालेस्टिनीहरू उपयोगी प्यादा ठहरिन्छन् ।

साउदी अरब अमेरिकाको सहयोगी राज्य भएकाले प्रकारान्तरले इजरायलकै समर्थक ठहरिन्छ । हिजबुल्लाह र इरान एउटै हुन् भन्ने इजरायलको अधिप्रचारले सामान्य प्यालेस्टिनीहरूको देश खोसिएको यथार्थलाई छोपेको छ । उम्माहको ऐक्यबद्धताजस्तो कुनै कुरा छैन र प्यालेस्टिनीहरूले आफ्ना आत्मसम्मान र स्वतन्त्रताका लागि इजरायलसँग गरिरहेको लामो संघर्ष जिहाद वा धर्मयुद्ध कतैबाट पनि होइन । अमेरिकाले अफगानिस्तानमा आफ्नो प्रयोगका लागि मुजाहिद्दिन र तालिवान खडा गरेजस्तै प्रगतिशील राजनीति गर्ने ‘फतह’ समूहलाई निरस्त गर्न इजरायलले कट्टरपन्थी हमासलाई बढावा दिएको कुरा ओझेलमा पारिएको छ ।

पत्रकारको रिपोर्ट, इतिहारकारको सन्दर्भ, मानवशास्त्रीको अन्वेषण र अभिलेखाकारको संकलनलाई अन्ततः मानवीय दृष्टिकोणबाट अर्थ्याउने काम दार्शनिकहरूको हो । यहुदीहरूको मूलघर मिथकलाई फैलाउने राजनीतिक दर्शनका प्रणेताहरू महाभारतमा सत्ताका अनुसारक रहेका भीष्मभन्दा कम दोषी छैनन् । पश्चिमाहरूको ‘ग्रान्ड डिजाइन’ अनुसार प्यालेस्टाइन भूक्षेत्रलाई तीन देश (इजिप्ट, जोर्डन र इजरायल) बीच भागबन्डा गरिँदा चुप बस्ने राजनीतिशास्त्रीहरूले प्यालेस्टिनीहरूको जिजीविषालाई अद्यापि ठम्याउन सकेको देखिँदैन ।

कहिले प्यालेस्टिनीहरू ठाडै मारिन्छन्; कहिले तिनलाई खाना, पानी र स्वास्थ्य सेवाबाट वञ्चित राखेर मारिन्छ । तिनको बास खोसिएको छ । भूमिमाथिको अधिकार दिन इन्कार गरिएको छ । जीविकोपार्जनका उपायहरू सीमित गरिएका छन् । समुदायको सम्मान लुटिएको छ । तापनि प्यालेस्टिनीहरूको विद्रोह गर्ने इच्छाशक्तिलाई सम्पूर्ण पश्चिमाहरूको प्रचारतन्त्रले मार्न सकेको छैन । संगठित र औपचारिक सेनासमेत नभएको लडाकाहरूको हमास समूहलाई संसारको सबभन्दा दक्षहरूमध्ये एक मानिने एवं परमाणु बम लगायत सबै खाले अत्याधुनिक अस्त्रले सुसज्जित इजरायलको सेनासँग लड्ने आँट त्यत्तिकै आएको होइन । यहुदीहरूको पनि होला, तर प्यालेस्टाइन मूल रूपमा सबै धर्मका प्यालेस्टिनीहरूको पवित्र भूमि र मूलघर हो भन्ने कुरा ढिलो वा छिटो स्थापित हुनु नै छ ।

शुद्धताको सम्मोहन

जर्मनीका तानाशाह हिटलरको नस्लवादी सनकका कारण यहुदीहरूको आमसंहार (हालोकोस्ट) गर्ने नाजी नीति कार्यान्वयनमा गएको हो । इजरायल यहुदीहरूका लागि ईश्वरले प्रदान गरेको भूमि हो भन्ने मान्यता नाजी नस्लवादसँग विपरीत किसिमले मिल्दोजुल्दो छ । फ्रान्सेलीका लागि फ्रान्स, जर्मनका लागि जर्मनी र जापानीका लागि जापानजस्ता नृजातीय शुद्धताको अवधारणाका वैज्ञानिक आधारहरू फितलो भए पनि राजनीतिक आकर्षण भन्ने बलियो छ । पुण्यभूमि, पितृभूमि एवं कर्मभूमि भारतमै हुने मात्र शुद्ध भारतीय ठहरिने हिन्दुत्ववादी राजनीतिको अवधारणा पनि मानवीय विविधताको अस्वीकृति एवं नृजातीय पवित्रताको प्रधानतामा आधारित छ ।

मानव सभ्यताको विस्तार भने अफ्रिकाबाट निस्किएका आदिमानवहरूको यायावरीले गर्दा विकसित भएको हो । अमेरिका, अस्ट्रेलिया वा भारतवर्षका मूलवासीसँग न्याय भयो वा भएन, बहसको विषय हुन सक्छ, तर युरोपबाट उत्तर अमेरिका पुगेका वैज्ञानिकहरूले शोध गरेका छन्, मध्य एसियाबाट सिन्धु र गंगा मैदानतिर आएका आर्यहरूले वेद–पुराण सृजना गरे र चिनियाँ सभ्यताको संसर्गबाट पूर्वी एसियाका धेरैजसो संस्कृति समृद्ध भएका छन् । यातायात एवं सञ्चार क्रान्तिले नृजातीय सम्मिश्रणलाई व्यक्तिगत छनोटबाट परिस्थितिजन्य बाध्यता बनाउँदै लगेको छ ।

समस्या के भइदियो भने, मानसिक रूपान्तरणको गति भौतिक परिवर्तनका तुलनामा साह्रै सुस्त हुने रहेछ । त्यसमा झन् सामूहिक सोचलाई महत्त्वाकांक्षी शासकहरूले धूर्ततापूर्वक एवं निर्दयी तवरले तोडमोड पनि गर्ने रहेछन् । इजरायल अहिले दुई थरी महत्त्वाकांक्षी यहुदी सम्भ्रान्तको फन्दामा नराम्रोसँग फसेको छ । युरोप र अमेरिकाका यहुदीहरूलाई इजरायलको शान्तिपूर्ण भविष्यमा चासो छैन । इजरायलभित्र रहेका यहुदीहरूमा नस्लीय शुद्धताबेगर अस्तित्व नै जोखिममा पर्ने भय उत्पन्न गराइएको छ । दुवै थरीको भयदोहन इजरायली नृजातीय राष्ट्रवादको मूल आधार बनेको छ ।

सन् १९५० देखि सन् १९९० सम्म चलनचल्तीमा रहेको र संयुक्त राष्ट्र संघले समेत स्वीकार गरेको प्यालेस्टाइनभित्र ‘दुई राष्ट्र समाधान’ सूत्रको सान्दर्भिकता पनि अब लगभग समाप्त भइसकेको छ । तीन पुस्ताको शत्रुतामा आधारित दुई भिन्न आस्थाका राष्ट्रहरू भारत–पाकिस्तान वा इराक–इरानजस्तै एकअर्कासँग निरन्तर संघर्षको सम्बन्धमा बाँच्न बाध्य हुनेछन् । इजरायलको कब्जालाई वैधानिकता दिने स्वायत्त प्यालेस्टिनी प्राधिकरण त झन् समाधान हुँदै होइन ।

अधिकांश यहुदी धेरैजसो प्यालेस्टिनीजत्तिकै असल छन् तर दुवैतर्फ दोस्रो विश्वयुद्धताकाको नस्लवादी सोच बोकेकाहरूको हालीमुहाली छ । मिश्रित बसोबास भएका राजनीतिक एकाइहरूमा भने संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व एवं न्यायसंगत सहभागिता सुनिश्चित गरेर मात्र अपेक्षाकृत समानतामा आधारित दिगो बहुराष्ट्रिय राज्यहरूको अन्तर्राष्ट्रिय समुदाय निर्माण गर्न सकिनेछ । महासचिव गुटेरेसले नेपालको मौलिक शान्ति प्रक्रियाभन्दा पनि बहुराष्ट्रियताको अवरुद्ध प्रयोगका पाठहरूका आधारमा प्यालेस्टाइन पहेलीको उत्तर खोज्न अमेरिकालाई उत्प्रेरित गर्नु उपयुक्त हुनेछ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: