Loktantra Khabar National Weekly
Ad

सडक सुरक्षामा ध्यान देऊ

लोकतन्त्र खबर
२६ आश्विन २०८०

दसैं केही दिनमै सुरु हुँदै छ । परिवारजन एकै ठाउँ भेला भएर दसैं मनाउने र मान्यजनकहाँ आशीर्वाद थाप्ने चलन हुनाले मुलुकभित्र मानिसको सबैभन्दा बढी आउजाउ यही बेला हुन्छ । धेरैका लागि दसैंमा गाडी नपाइएला कि, पाइए पनि समयमा र सुरक्षित रूपमा नपुगिएला कि भन्ने चिन्ताले सताउने गर्छ । अहिले पनि खास गरी लामो यात्रा गर्नुपर्ने अवस्थाका मानिस सडकको दुरवस्थाका कारण पिरोलिन थालिसकेका छन् । र, यो सधैंको समस्या हो ।

संघीय राजधानी काठमाडौंबाट मात्र हरेक वर्ष दसैंमा २० लाख हाराहारी मानिस बाहिरिने गर्छन् । आवागमन अत्यधिक हुने भएका कारण असोज २६ देखि पूर्णिमासम्म गाडीका लागि नेपालभर चलाउन रुट परमिट खुला गरिएको छ । काठमाडौंबाट बाहिरिने प्रायः सबै सडकमा कहीँ न कहीँ समस्या छ । पश्चिमतिर जाने यात्रुका लागि नारायणगढ–बुटवल र मुग्लिङ–पोखरा सडक सधैं टाउको दुखाइको विषय बन्ने गरेका छन् । सवारी चाप अझ बढ्ने भएकाले दसैंका बेला ती सडकको यातायात सकसपूर्ण हुने देखिन्छ ।

पाँच वर्षअघि सुरु भएको नारायणगढ–बुटवल सडक विस्तारको काम अझै सकिएको छैन । ठेकेदारले काममा ढिलासुस्ती गरेका कारण यसपालि दसैंमा समेत उक्त सडक भएर यात्रा गर्नेहरू धूलैधूलो हुनुपर्ने अवस्था छ । अघिपछि साढे दुई घण्टा लाग्ने नारायणगढ–बुटवलमा अहिले यात्रुलाई तेब्बर समय लाग्छ । मुग्लिङ–पोखरा सडकमा पनि स्तरोन्नति कार्य नसकिएकाले यात्रुले सास्ती पाउनुपर्छ । निर्माणाधीन यस्ता सडकमा खाल्डाखुल्डी भए पुरेर, एकतर्फी मात्र रहेका ठाउँमा दुईतर्फी आवागमन मिलाएर चाडपर्वमा सकेसम्म सहज रूपमा गाडी सञ्चालन हुने व्यवस्था मिलाउन जरुरी छ । दसैंमा आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ठूला गाडीलाई असोज २६ देखि कात्तिक ८ सम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालनमा रोक लगाइएको छ, जुन सकारात्मक छ ।

पूर्वतिर जाने यात्रुका लागि बीपी राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । काठमाडौं आसपासका नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्ला जोड्ने सडकमा पनि समस्या छ । अन्य ठूला सहर र सदरमुकामबाट ग्रामीण क्षेत्र जाने धेरैजसो सडकमा नियमित मर्मतसम्भार हुन सकेको छैन । बाढी–पहिरोले क्षतिग्रस्त पारेका कतिपय सडक र पुलको पुनर्निर्माण बाँकी नै छ । सवारी चाप अत्यधिक हुने दसैं–तिहारजस्ता चाडपर्वका बेला सडककै कारण ट्राफिक व्यवस्थापन जटिल बन्ने गर्छ । सडकमा सहज आवागमन भइरहोस् भनेर सरकारले सडकको मर्मतसम्भार नियमित रूपमा गर्नुपर्ने हो तर त्यस्तो पाइँदैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई सडकको समस्याबारे एक महिनाअघिबाटै अवगत गराउँदा पनि चासो नदिइएको यातायात व्यवसायीले गुनासो गरिरहेका छन् । यस विषयलाई सांसदहरूले संसदीय समितिमा समेत उठाइसकेका छन् । तैपनि सडक मर्मतसम्भारमा तदारुकता नदेखाइनु सरकारको गैरजिम्मेवारीपन हो । कमसेकम गाडीको आउजाउ बाक्लो हुने चाडपर्वलाई लक्ष्य गरेर भए पनि सडक मर्मतसम्भार गर्नुपर्छ ।

सडक मर्मतसम्भार सवारी दुर्घटना न्यूनीकरणका लागि समेत हो । दसैंका बेला यातायात व्यवसायी/चालक जतिसक्दो बढी खेप यात्रु ओसारेर धेरै कमाउने ध्याउन्नमा हुन्छन् । लामो दूरीका बसबाहेकमा चालकले पालो र आराम गर्ने समय पनि पाइरहेका हुँदैनन् । अर्कातिर क्षतिग्रस्त सडकका गन्तव्यमा पुग्न ढिला भइरहेका बेला हतारिएका चालकले तीव्र गतिमा गाडी चलाउन सक्छन् । दसैंजस्ता चाडपर्वमा ठूलठूला सवारी दुर्घटनाका समाचार आइरहेका हुन्छन् । त्यस्ता दुर्घटना नहोस् भन्नका लागि समेत सडकलाई दुरुस्त राख्नुपर्छ ।

पर्वका बेला पहिरो वा अन्य कुनै कारणले सडक अचानक अवरुद्ध भए धेरै यात्रु अलपत्र पर्न सक्ने भएकाले आवागमन तत्काल खुलाउने गरी सडक विभागले टोली तम्तयार पनि राख्न जरुरी छ । सडक राम्रो भए समयमै गन्तव्यमा पुर्‍याउन सकिने भएकाले सामान ढुवानीको खर्च पनि कटौती हुन सक्छ, त्यसबाट आम उपभोक्ताले लाभ पाउन सक्छन् । त्यसैले सडक मर्मतसम्भारका लागि दसैं–तिहार जस्ता चाडपर्व कुर्नु हुँदैन, क्षति पुग्नासाथ मर्मतसम्भार गरिनुपर्छ र त्यस्तो सडक टिकाउ पनि हुनुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: