Loktantra Khabar National Weekly
Ad

नेपाल आउने पर्यटक बढे, मासिक झन्डै एक लाख

लोकतन्त्र खबर
२१ आश्विन २०८०

सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ। पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरू भएसँगै अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नौ महिना (जनवरीदेखि सेप्टेम्बर)सम्म ६ लाख ८५ हजार ७६९ जना पर्यटक भित्रिएका छन्। विशेषगरी अन्य महिनाभन्दा पर्यटकीय सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको व्यवसायीहरू बताउँछन्।

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार १९१ जना पर्यटक भित्रिएका थिए। त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका थिए।

पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन्। यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन्।

देशभरको होटलहरूमा हालसम्म ५० प्रतिशत बुकिङ आएको होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए। विभिन्न गन्तव्यमा जान पर्यटकहरू काठमाडौं आउनुपर्ने भएकाले काठमाडौंका होटलहरूमा भने अकुपेन्सी बढेको उनी बताउँछन्।

‘बाहिरतिरका होटलमाभन्दा काठमाडौंमा अकुपेन्सी राम्रो छ,’ उनले भने, ‘धेरैजसो पर्यटकहरूले ट्रेकिङ र ट्राभलका लागि पहिल्यै बुकिङ गरे पनि होटलमा एक/दुई दिनअघि मात्र बुकिङ आउँछ।’

सिजनका लागि हिमाल आरोहण खुलेसँगै अहिले मनास्लु, धौलागिरी, हिमलुङ्ग, आमा डब्लामलगायतका हिमाल चढ्न ५१ मुलुकका चार सय ३६ जनाले अनुमति लिइसकेका छन्।

पर्यटन विभागकाअनुसार असोज १२ गतेसम्म विभिन्न २६ वटा हिमाल आरोहणका लागि तीन सय ४२ जना पुरूष र ९४ जना महिलाले अनुमति लिएका छन्।

विभागकाअनुसार शरद ऋतुका लागि उत्तम मानिने मनास्लु हिमाल चढ्न अहिलेसम्म सबैभन्दा धेरैले अनुमति लिएका छन्। मनास्लुका लागि अहिलेसम्म तीन सय एक जनाले अनुमति लिएका हुन्।

जसमा दुई सय ३६ जना पुरूष र ६५ जना महिला छन्। यसबाट विभागले डेढ महिनामा मात्र ४४ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा निरू शेर्पाका अनुसार कोभिडपछि यसपालि हिमाल आरोहणमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ। सेप्टेम्बरको सुरूवातदेखि नै पर्यटकहरूले आरोहण अनुमति लिइरहेको उनले बताए।

‘सेप्टेम्बर पहिलो साताबाटै पर्यटकहरू हिमाल आरोहणमा निस्किसकेका छन्,’ उनले भने, ‘अहिले पनि अनुमति लिने र हिमाल चढ्न जानेको क्रम चलिरहेकै छ।’

शरद ऋतुमा विशेषगरी पर्यटकहरू ट्रेकिङकै लागि आउने भएकाले ट्रेकका लागि बुकिङ बढेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष प्रदीप पण्डित बताउँछन्। ‘यो सिजनमा एडभेन्चरकै लागि आउने भएकाले पनि ट्रेकिङमा राम्रै बुकिङ आइरहेको छ,’ उनले भने, कोभिडपछि यसपालि पर्यटक आगमन राम्रै देखिएको छ।’

उनकाअनुसार कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या राम्रो थियो। तथ्यांकअनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए।

कोभिडका कारण सन् २०२० यो संख्या घटेर ३५ हजार ८ सयमा झर्‍यो। सन् २०२१ मा १५ हजार पाँच सय पर्यटक पदयात्रामा गएका थिए। त्यस्तै, सन् २०२२ मा ६१ हजार ७०१ पर्यटक हिमाल आरोहण र ट्रेकिङ गएका थिए।

यता टुर एण्ड ट्राभलका लागि पनि पर्यटकको बुकिङ बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष रमेश थापा बताउँछन्।

‘विगतमाभन्दा पर्यटकको फ्लो बढेको छ। तर, जति बढ्छ भनेर अपेक्षा गरेका थियौं, त्यति बढ्न सकेको छैन,’ उनले भने, ‘हवाइ टिकटमा भ्याट कार्यान्वयनले पनि प्रभाव पारेको देखिन्छ।’

यद्यपी कोभिडले थलिएको पर्यटन क्षेत्र पछिल्लो वर्षहरूमा ‘रिकभर’ भइरहेको छ। नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै भारत र चीनकै हुन्। कोरोनाअघि चीनबाट हरेक वर्ष एक लाख हाराहारी पर्यटक नेपाल आउँथे। सन् २०१९ मा मात्र एक लाख ६९ हजार चिनियाँ पर्यटक आएका थिए।

कोभिडकाे बेला चीनले गरेको कडाइ लामो समयसम्म रहेपछि नेपाल आउने चिनियाँ पर्यटक एकदमै कम थिए। पछिल्लो चार महिनादेखि मासिक करिब पाँच हजार जना पर्यटक मात्र नेपाल घुम्न आइरहेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: