Loktantra Khabar National Weekly
Ad

बझाङ भूकम्पको जनाउ

लोकतन्त्र खबर
२१ आश्विन २०८०

बझाङ केन्दविन्दु भएर मंगलबार दिउँसो २५ मिनेटको अन्तरमा ५.३ र ६.३ म्याग्निच्युड भूकम्प गएयता त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेको छ । भूकम्पका कारण एक जनाको ज्यान गएको छ भने केही मानिस घाइते छन् । बझाङ, बाजुरा र बैतडीमा डेढ सयभन्दा बढी घर भत्किसकेका छन् ।

विद्यालय, सरकारी भवनमा पनि क्षति पुगेको छ । साना–ठूला परकम्प गइरहँदा मानिस आत्तिएका छन् । भूकम्प प्रभावित क्षेत्र निरीक्षणमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र नेताहरू पुग्ने र पीडितलाई आश्वासन बाँड्ने क्रम पनि चलिरहेको छ । भूकम्पपीडितको अस्थायी र सुरक्षित बसोबास प्रबन्धका लागि तत्काल चाहिने राहत भने पुग्न सकेको छैन ।

निरन्तरको परकम्पले बझाङ र आसपास क्षेत्रका मानिस अत्यासमा रहेका बेला तत्काल उद्धार, उपचार र राहत चाहिएको छ । यसमा सरकार, राजनीतिक दल लगायत सबैको समन्वयकारी पहलकदमी हुन जरुरी छ । सरकारले त्यसमा कुनै कमी हुन नदिइने प्रतिबद्धता जनाएको छ । तर त्यस्तो प्रतिबद्धता व्यवहारमा देखिएको छैन । काठमाडौंबाट प्रधानमन्त्री, मन्त्रीहरू ठाँटबाँटका साथ हेलिकोप्टर चढेर बझाङ पुगे, भूकम्पले क्षतिग्रस्त क्षेत्र निरीक्षण गरे, पीडितका गुनासा सुने ।

कार्यकारी नेतृत्वमा रहेका व्यक्तिहरू समस्यालाई नजिकबाट बुझ्न र संवेदना बाँड्न स्थलगत निरीक्षणमा जानु स्वाभाविक पनि हो । यसले विपद्मा परेकालाई आडभरोसाको प्रत्याभूति दिलाउन सक्छ । तर भूकम्प गएको तीन दिनपछि प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री पुग्दा पनि भूकम्पपीडितको हात रित्तो हुनु विडम्बनापूर्ण छ । कार्यकारी निकायमा भएका नेताहरू संवेदना र आश्वासन बाँड्न हतारिने होइन, तत्काल आवश्यक बन्दोबस्तीमा जुट्नुपर्छ ।

भूकम्पविद्हरू पश्चिम नेपाललाई भूकम्पका दृष्टिले बढी जोखिमयुक्त क्षेत्र मान्छन् । ठूलो भूकम्प नगएको पाँच सय वर्षभन्दा बढी भइसकेकाले जमिनमुनि सञ्चय भएको शक्ति कुनै ठूलो भूकम्पका रूपमा निकास हुने उनीहरूको आकलन छ । ठूलो भूकम्प नगइहाले पनि पश्चिम नेपालले सानातिना धक्का महसुस गर्दै आएको छ । गत वर्ष पनि बझाङको छिमेकी डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसरी गइरहने सानातिना भूकम्पबाट जमिनभित्र सञ्चित शक्तिले निकास पाए ठूलो कम्पनको संकट टर्न सक्छ ।

तर यसमा ढुक्क हुन सक्ने अवस्था छैन । भूकम्प कुन ठाउँमा कति बेला जान्छ, पूर्वानुमान गर्न सकिँदैन । छोटो समयमा धेरै धनजन क्षति गराउने प्राकृतिक प्रकोपका रूपमा भूकम्पलाई चिनिन्छ । पूर्वतयारी र सतर्कता अपनाएर भूकम्पबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई कम गर्न भने सकिन्छ । भूकम्पविदहरूले पश्चिम नेपाललाई बढी जोखिमयुक्त भनेर औंल्याइरहँदा त्यसै क्षेत्रमा केन्द्रित रहेर भूकम्प प्रतिरोधात्मक घर/भवन निर्माण गर्न, भूकम्प गइहाले कसरी सुरक्षित हुने उपाय सिकाउन सरकारले अभियान नै चलाउन जरुरी छ । बझाङको परकम्प मत्थर भएपछि क्षतिग्रस्त संरचना निर्माण र पुनःस्थापनालाई यथाशीघ्र अघि बढाउनुपर्छ ।

भूकम्प गइसकेपछि सरकार र नागरिक सबैले कान ठाडो पार्ने तर बिस्तारै त्यसलाई बिर्संदै जाने र लापरबाह बन्ने प्रवृत्ति छ । भूकम्पविद्हरूका अनुसार नेपाल भूकम्पका दृृष्टिले जोखिमयुक्त छ । एक शताब्दीयता मात्र १९९०, २०४५ र २०७२ मा गरी तीन पटक विनाशकारी भूकम्प गइसकेका छन् । यसबीचमा सानातिना कैयौं भूकम्प गए । करिब नौ हजार जनाको ज्यान लिएको र अर्बौंको भौतिक संरचनामा क्षति गरेको २०७२ को भूकम्पलगत्तै घर/भवन निर्माणमा जुन ढंगले सतर्कता अपनाइन थालेको थियो, त्यस्तो अहिले देखिँदैन । सरकारले त्यति बेलै बनाएको भूकम्प प्रतिरोधात्मक घर/भवन निर्माणको मापदण्ड पालना हुन छाडेको छ ।

बाक्लो बस्तीमा ठूलो भूकम्प गइहाले जोगिने खुला ठाउँ तयार पार्नसमेत ध्यान दिइएको छैन । पूर्वतयारीमा बेवास्ता गरिरहेका सरकार र आम नागरिकलाई बझाङको भूकम्पले खतराको जनाउ दिएको छ । विनाशकारी भूकम्प जुनसुकै बेला जान सक्ने हुनाले त्यस्तो बेला जतिसक्दो कम क्षति होस् भनेर ध्यान दिइरहन जरुरी छ । भूकम्पप्रतिरोधात्मक घर/भवन निर्माणमा उत्प्रेरित गरिनुपर्छ । ठूला भूकम्प गइहाले उद्धार, उपचार र राहतमा तत्काल परिचालन हुने गरी संयन्त्रहरूलाई तम्तयार राख्नुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: