Loktantra Khabar National Weekly
Ad

पर्यटनमन्त्री भन्छन्- सात महिनाभित्र १० वटा जहाज थपियो भने पर्यटन क्षेत्रमा योगदान पुग्नेछ

लोकतन्त्र खबर
१५ आश्विन २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको लागि बलियो आधार जहाज रहेको र नेपालमा यसको कमी देखिएको बताएका छन्।

मन्त्री किरातीले आइतबार ट्रेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को ४५‌ औं वार्षिकोत्सवमा बोल्दै नेपाल वायुसेवा निगमलाई आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा फैलाउन तत्काल १० वटा जहाज आवश्यक रहेको बताएका हुन्।

‘पर्यटनका लागि बलियो आधार जहाज नै हुन्। यही आवश्यकतालाई महसुस गरेर अहिले जहाज थप्ने प्रकिया अघि बढेको छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘पाँच/सात महिनामा जहाज थपियो भने पर्यटनमा ठूलो योगदान पुर्‍याउनेछ।’

तर, जहाज किन्ने भन्नासाथ अनावश्यक टिका टिप्पणी सुरू भएको र यसले नराम्रो सन्देश दिएको उनले बताए।

आकाशमा निगमका जहाज उडाउन सबै एकजुट हुनुपर्ने बतउँदै उनले भने, ‘दूरदराजमा अहिले पनि हेलिकप्टरको अभाव छ। समयमा उडान नहुँदा बिरामी र सुत्केरीलाई उद्दारसमेत गर्न सकेको छैन। यसकारण पनि जहाज आवश्यक छ। जसले अनावश्यक आरोप लगाउनेछन् तिनीहरू राष्ट्रघाती हुनेछन्।’

यसका लागि मन्त्रालयले केही महिनादेखि गृहकार्य गरिरहेको उनकाे भनाइ छ।

मन्त्री किरातीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यस्त राख्न थप तयारी भइरहेको समेत बताए। उनले भैरहवाबाट हाल काठमाडौं हुँदै निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको बताउँदै उडान थप्न पहल भइरहेको बतएका हुन्।

साथै, उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदार (पिपिपी) मोडलमा सञ्चालन गर्ने तयारी रहेको बताए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: