Loktantra Khabar National Weekly
Ad

देशभरका कारागारमा सबैभन्दा बढी बलात्कार कसुरका अभियुक्त–अपराधी

लोकतन्त्र खबर
१४ आश्विन २०८०

वर्षौँ ‘लिभिङ टुगेदर’मा बसेकाहरू सम्बन्ध बिग्रेपछि बलात्कारका उजुरी लिएर आउछन् ः प्रहरी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने गत वर्षदेखि नावालिग बलात्कार जस्तो गम्भीर आरोपमा मुद्दा झेलिरहेका छन् । गतवर्ष असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेविरुद्ध बलात्कार मुद्दा अझै विचराधीन अवस्थामै छ ।

हालसम्म सन्दीपविरुद्धको मुद्दा २९ पटक तारेखमा चढिसकेको छ ।  तर, फैसला अझै आउन सकेको छैन । सन्दीपलाई सुरुमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेश उच्च अदालत र सर्वोच्च अदालतले भने खारेज गरिदियो । जसकारण उनी थुनामुक्त भए । बलात्कार आरोप लागेपछि लामिछानेको राष्ट्रिय क्रिकेट टिमको कप्तान पद गुमेको छ । टिममा भने उनी समावेश छन् ।

बलात्कार जस्तो गम्भीर आरोप खेप्ने चर्चित अनुहारका उनी एक्ला व्यक्ति भने होइनन् । यसअघि २०७६ मा सभामुख कृष्णबहादुर महरा बलात्कार उद्योगमा जेल पुगेका थिए ।

संसद् सचिवालयकी एक महिलामाथि बलात्कार प्रयास गरेको भन्दै उजुरी परेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । पछि जिल्ला अदालतबाट सफाए पाए र थुनामुक्त भए ।

त्यस्तै, २०७८ मा अर्का चर्चित अनुहार चलचित्रका नायक पूर्णविक्रम शाह (पल शाह) माथिसमेत बलात्कारको अभियोग लागेको थियो । नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी परेपछि उनी जेलसमेत पुगे ।

हाल भने उनी उच्च अदालत पोखराबाट सफाइ पाएर पुनः चलचित्र क्षेत्रमा सक्रिय छन् । यी त भएका केही उदाहरण । तर, एक अध्ययनले हाल कैद जीवन भोगिरहेकामध्ये सबैभन्दा बढी बलात्कार कसुरमा जेल पुग्नेहरू छन् ।

कारागार व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ साउन मसान्तसम्मको तथ्यांकले सबैभन्दा बढी जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा जेल परेका छन् । जेलमा ७ हजार ५२९ जना जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा जेलभित्र छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकले बलात्कार कसुरमा १० वर्षका बालकसमेत पक्राउ परेको देखाएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा १० वर्ष मुनिका चार बालक र आर्थिक वर्ष ०७८/०७९ मा तीनजना, ०७९/०८० मा दुईजना १० वर्ष मुनिका बालक पक्राउ परेको देखिएको छ ।

सबैभन्दा बढी १६ वर्षका बालक पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ११ देखि १६ वर्ष उमेरका ५३८ र १७ देखि १८ वर्षका ४१२ जना बालक पक्राउ परेका छन् ।

त्यस्तै, दोस्रोमा लागू औषधमा पाँच हजार ९६० जना कारागार पुगेका छन् । तेस्रोमा कर्तव्य ज्यानमा पाँच हजार ४१४ कारागार पुगेको दाहालको अध्ययनले देखाएको छ ।

देशभरका ७४ कारागारमा २७ हजार ९५० जना व्यक्ति कैदी–बन्दी छन् । जसमध्ये १६ हजार २८१ कैदी र ११ हजार ६६९ जना बन्दी छन् । त्यसरी जेल पुग्नेहरूमा २६ हजार २७८ पुरुष र एक हजार ५७२ महिला छन् । बाँकी ८९ आश्रित र एक हजार ४११ विदेशी कैदी राखिएको छ ।

पछिल्लो तीन आर्थिक वर्षमा कुल ७ हजार ८४७ बलात्कारको उजुरी परेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

किन बढ्यो बलात्कारको घटना ?

बलात्कार घटनाको तथ्यांक झस्काउने गरी बढ्न थालेको छ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले बलात्कारको आरोपी सबैभन्दा बढी जेल पुग्नु आश्चर्यको कुरा भएको बताउँछन् ।

“बलात्कारसम्बन्धी कानुनी प्रक्रियादेखि प्रहरीको अनुसन्धानमा समेत गम्भीर हुनुपर्ने देखिएको छ । वर्षौँ ‘लिभिङ टुगेदर’मा बसेकाहरू सम्बन्ध बिग्रेपछि बलात्कारका उजुरी लिएर प्रहरी कार्यालय पुग्छन् । यस्ता खालका घटनाले थप समस्या हुन पुग्छ । बलात्कारका कानुनी विषयमै बहसको जरुरी परेको छ,” मल्ल भन्छन् ।

प्रहरी प्रवक्ता डीआईजी कडायत भने बलात्कार आरोपमा पक्राउ परेर अदालती प्रक्रियामा पुगेकामध्ये थोरै मात्र धरौटीमा छुट्ने हुँदा बलात्कार आरोपी अधिकांश कारागार चलान हुन पुगेको बताउँछन् । मनोविद् पदमराज जोशी भने कुनै मानिसमा हुने असामान्य यौन चाहनाका कारण बलात्कारको घटना घट्ने गरेको बताउँछन् ।

उनी भन्छन, “पुरुषमा एक प्रकारको यौन शक्ति हर्मोन हुन्छ । त्यो साइको इनर्जीको रूपमा बढेपछि त्यस्ता व्यक्तिले परिवार र समाजबारे के होला भन्ने चेत नै गुमाउँछन् । त्यस्ता व्यक्तिले नातामै पनि बलात्कार गर्ने गर्छन् ।” बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: