Loktantra Khabar National Weekly
Ad

क्रिकेटरको पुरस्कार खोइ ?

लोकतन्त्र खबर
१२ आश्विन २०८०

नेपाली क्रिकेट टिमले एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्धको खेलमा कीर्तिमान नै कीर्तिमानको पहाड सिर्जना गरेको छ । ट्वान्टी–२० मा उच्च स्कोर (३१४ रन), ट्वान्टी–२० मा सबैभन्दा धेरै छक्का (२६) प्रहार, दीपेन्द्रसिंह ऐरीद्वारा ९ बलमै अर्धशतक, कुशल मल्लद्वारा ३४ बलमै शतक, विजयी रन अन्तर (२७३ रन) का विश्व कीर्तिमान एकै दिन कायम हुँदा सिंगो नेपाल पुलकित भयो ।

चीनको हाङचउस्थित चेचियाङ युनिभर्सिटीको मैदानमा भएको जितमा साक्षी बनेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू खेलपछि नेपाली क्रिकेट टिमलाई बधाई दिन ड्रेसिङ रुममै पुगे । उनले बधाई दिइनसक्दै कप्तान रोहित पौडेलले प्रश्न तेर्स्याए– ‘हाम्रो पुरस्कार के भइरहेको छ ?’

एकै दिन अनेक कीर्तिमान कायम गरेको क्षण पनि क्रिकेट खेलाडीलाई ‘पुरस्कार’ को विषयले चस्काउने अवस्थामा किन पुर्‍यायो, सवाल गम्भीर छ । खेलाडीले आफैं पुरस्कार दाबी गरेका होइनन् । खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नै बनाएको पुरस्कार कार्यविधिअनुरूप पाउनुपर्ने रकम हो । यसबीचमा प्रधानमन्त्री आफैंले घोषणा गरेको रकम पनि खेलाडीको हातमा परेको छैन । यो विषयलाई खेलाडीले पहिलो पटक हाङचउमा उठाएका पनि होइनन् ।

एसियाली खेलकुदका लागि काठमाडौंबाट बिदाइ हुँदै गर्दा पनि कप्तान पौडेलले घोषित पुरस्कारहरू नपाएको गुनासो गरेका थिए । त्यसअघि प्रधानमन्त्री र मन्त्रीसँगको भेटमा पनि खेलाडीले यो विषय उठाएका थिए । खेलाडीहरूलाई अन्तर्राष्ट्रिय भूमिमै पनि गुनासो गर्न बाध्य बनाउनु खेदजनक छ । मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि खेलिरहेका खेलाडीमाथि गरिएको अपमान हो । तन–मन खेलमा केन्द्रित गर्नुपर्ने खेलाडीलाई यसले मानसिक पीडा दिइरहेको प्रस्टै देखिन्छ ।

क्रिकेट खेलाडीले गत फेब्रुअरी र मार्चमा भएको आईसीसी वर्ल्डकप लिग २ क्रिकेटका सिरिज जितेयताको रकम पाउन बाँकी छ । एक खेलाडीले पाउनुपर्ने रकम १७ लाख रुपैयाँ पुगिसकेको छ । जसमा आईसीसी वर्ल्डकप लिग २ का ३ वटा सिरिज जित्दाको जनही ९ लाख, प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको थप २ लाख र एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख छ । न्यून स्रोतसाधनमा खेलिरहेका खेलाडीका लागि त्यो रकम सानो होइन । तर, सरकार खेलाडीलाई थप सेवासुविधा बढाएर प्रोत्साहन गर्नुपर्नेमा आफ्नै सार्वजनिक वाचाअनुसारको रकम उपलब्ध गराउन पनि ढिलासुस्ती गरिरहेको छ ।

‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि’ मा क्रिकेट प्रतियोगिताको स्तरअनुसार प्राप्त उपलब्धिका आधारमा खेलाडीका साथै प्रशिक्षक र सहायक प्रशिक्षक/फिजियोले पाउने रकम पनि तोकिएको छ । यो रकम युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । खेलकुद मन्त्रालयले भने अर्थ मन्त्रालयबाट निकासा नभएको भन्दै खेलाडीलाई रकम उपलब्ध गराएको छैन । पुरस्कार नपाउनेमा उमेर समूहका क्रिकेट खेलाडीसमेत छन् । यो विषय संसद्मा समेत उठिसकेको छ । तैपनि सरकारले रकम वितरणमा तत्परता देखाएको छैन, आश्वासन दिन भने छाडेको छैन ।

एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि प्रधानमन्त्री कार्यालयमै आयोजित औपचारिक बिदाइमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘मन्त्रिपरिषद् निर्णयले भोलि नै घोषित आर्थिक पुरस्कारको रकम दिइने’ बताएका थिए । तर, घोषणाको साता दिन नाघिसक्दा पनि खेलाडीको हातमा रकम परेको छैन । कप्तान पौडेलले यही विषय खेलकुदमन्त्री लिम्बूलाई सम्झाउँदा ‘तत्कालका लागि खेलाडीले आफ्नो खेलमा ध्यान दिए राम्रो’ भनेर पन्छाए । सरकारले यसै गरी खेलाडीलाई कहिलेसम्म पन्छाइरहने ?

अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई चिनाइरहेको र सम्भावना रहेको खेल क्रिकेट नै हो । पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन होस् वा एसिया कपमा विश्व शक्ति भारत र पाकिस्तानविरुद्ध प्रदर्शन गर्दा नेपाली क्रिकेट खेलाडीले प्रशंसा कमाएका छन् । एसियाली खेलकुदको पहिलो प्रतिस्पर्धामै अनेक कीर्तिमान राखेर चर्चा कमाइरहेको छ । यस्तो अवस्थामा खेलाडीलाई सरकारले अझ बढी प्रोत्साहन गर्नुपर्छ । खेलाडीले उही गुनासो दोहोर्‍याउनु नपर्ने गरी रकम तत्काल उपलब्ध गराइनुपर्छ । प्रोत्साहन र हौसलाले खेलाडीमा आत्मविश्वास बढ्छ, उनीहरूले मैदानमा अझ उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: