Loktantra Khabar National Weekly
Ad

क्रिकेट कूटनीतिको खाली मैदान

लोकतन्त्र खबर
२५ भाद्र २०८०

अपार सम्भावना भएको क्रिकेटलाई अब सरकारले किनाराको विषय बनाउनु हुँदैन । यो खेलको विकास र विस्तारका लागि बृहत् रणनीतिक योजनाको खाँचो छ । नेपालले अब क्रिकेट कूटनीतिको बाटो हिँड्नुपर्छ ।

एसिया कप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिए पनि नेपाली वृत्तमा क्रिकेटको ज्वरो ओर्लिएको छैन । सम्भवतः पहिलो पटक यस्तो भएको छ, हार्दा पनि नेपाली टिम र दर्शक निराश छैनन् । नयाँ उत्साह र आत्मविश्वास बढेको अनुभूति गरिरहेका छन् । एकदिवसीय क्रिकेटको सबैभन्दा अब्बल टिम पाकिस्तान र विश्वविजेता बनिसकेको क्रिकेटको अर्को महाशक्ति भारतसँगको खेलमा नेपाली खेलाडीले सम्मानजनक प्रतिस्पर्धा गरेपछि यो माहोल बनेको हो ।

विश्व क्रिकेटका श्रेष्ठ खेलाडीहरू रहेका यी दुई देशका टिमसँग आमनेसामने हुनु नेपाली खेलाडीले साँचेको वर्षौं पुरानो सपना थियो, जो पूरा भएको छ । नेपाली क्रिकेटको विकासमा यो अर्को एउटा उपलब्धि र अवसर बनेको छ । कारण, यी खेलपछि नेपाली खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटको नजरमा अझ चहकिलो हिसाबले परेका छन्, तिनको योग्यता र कौशल तारिफको विषय बनेको छ । भारत र पाकिस्तानका ख्यातिप्राप्त खेलाडी, खेलविज्ञ, पत्रकार आदिले प्रशंसा गरेका छन् ।

प्रशंसा र बधाईबाट उत्साहित नेपाली क्रिकेटरहरू यति बेला भारत र पाकिस्तानका समकक्षी खेलाडीसँगका भलाकुसारीका किस्सा सुनाउन व्यस्त छन् । क्रिकेटले गरेको प्रगति देखेर आमजन थप आशावादी भएका छन् । राजनीतिक वृत्त त झन् कति आकर्षित छ भने, बढ्दो क्रिकेट क्रेज र यसका फ्यानलाई उसले एउटा मुख्य ‘कन्स्टिच्युएन्सी’ मान्न थालेको प्रतीत हुन्छ । सामाजिक सञ्जालदेखि श्रीलंकाली स्टेडियमसम्मै राजनीतिक नेताहरूका हाउभाउ अनि व्यक्त सद्भाव र समर्थन देख्दा लाग्छ, त्यसमा कहीँ न कहीँ ‘सेन्टिमेन्ट’ तान्ने रणनीति र मोह लुकेको छ ।

यता, सरकारचाहिँ क्रिकेटको उत्थान गर्ने औपचारिक प्रतिबद्धतामै सीमित छ । खाँचो भइसकेका रंगशाला निर्माणमा उसको गति धीमा छ । व्यवस्थापकीय भूमिका भएको नेपाल क्रिकेट संघ (क्यान) चाहिँ प्रादेशिक हुँदै केन्द्रसम्मै नयाँ नेतृत्व चयनको अभियानमा छ । अर्थात्, देश क्रिकेटमय भएको छ ।

विद्वेष र घृणाको आगो सल्काउँदै अस्थिरता निम्त्याउने नेपथ्यका खेलहरूले जनसाधारणमा भय र निराशा सृजना गरिरहेको यो समय क्रिकेटले केही राहत दिलाएको छ । यद्यपि यो आशा र अपेक्षासँगै सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गर्न नसकेकामा गुनासा र असन्तुष्टिहरू समेत छन् । सँगै क्यानको भूमिका पनि प्रश्नको घेरामा छ । सीमित साधनस्रोतको बलमा नेपाली क्रिकेटले एकपछि अर्को सिँढी उक्लँदै जाँदा सरकार अनि सरोकारवाला निकायहरू किन र कहाँ चुक्दै छन् ? क्रिकेटका प्राथमिकता र अबको गन्तव्य कसरी तय गर्ने ? मुख्यतः यो लेख यिनै प्रश्नवरिपरि रहनेछ ।

तीन दशकको उपलब्धि

खेल विधामध्ये लोकप्रियताको सूचीमा सबैभन्दा माथि फुटबल पर्छ । तर, हाम्रो सन्दर्भमा क्रिकेटमा प्रचुर सम्भावना भएको मात्रै होइन, यसले छिटो परिणाम दिन सक्छ भन्ने पनि देखियो । नेपालमा अभिजात वर्गले मनोरञ्जनका लागि खेल्न सुरु गरेको क्रिकेट जनतासँग जोडिन थालेपछि लोकप्रिय बन्दै गएको यसको पृष्ठभूमि खोतल्दा थाहा हुन्छ ।

संक्षिप्तमा नेपाली क्रिकेटको विकासक्रमबाट यो विश्लेषण सुरु गरौं ।

सोह्रौं शताब्दीमा बेलायतबाट क्रिकेट खेल सुरुआत र विस्तार हुन थालेको हो । नेपालमा पनि बेलायतबाट पढेर फर्केका मदनशमशेर राणाले विक्रम संवत् १९७७ मा क्रिकेट भित्र्याएका हुन् । यसरी हेर्दा, नेपाली मैदानमा क्रिकेट खेल सुरु भएको एक सय वर्ष पनि नाघिसक्यो । तर, यो खेल जनतासँग जोडिएको तीन दशक मात्रै भयो ।

धैरै कालसम्म पनि क्रिकेट कुलीन राणा परिवारको मनोरञ्जनको साधनमा सीमित थियो । पञ्चायतकालको उत्तरार्द्धतिर अलि–अलि फैलिन थालेको क्रिकेट काठमाडौंको टुँडिखेल र तराई–मधेशका कतिपय जिल्लामा छिटफुट खेलिन्थ्यो । तिनताका केही घरेलु प्रतियोगिता पनि हुन्थे ।

क्यानको गठन २०१८ सालमै भए पनि यसले संस्थागत औपचारिकता २०४० सालमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेपछि मात्रै पायो । क्यानले २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्यता पायो, २०४६ सालमा एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य भयो । र, २०५२ सालमा आईसीसीएको एसोसिएट सदस्यराष्ट्र भएपछि नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भयो ।

पहिलो पटक त्यही वर्ष नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लियो । एसीसी ट्रफीमा भाग लिन पुरुष राष्ट्रिय टिम मलेसियाको क्वालालम्पुर पुगेको थियो, जहाँ ब्रुनाई र जापानलाई जिते पनि बंगलादेशसँग पराजित भएर समूह चरणबाटै बाहिरियो । नेपाली क्रिकेटको आधुनिकीकरण यहीँबाट भएको मानिन्छ ।

२०५५ सालमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्‍यो । कीर्तिपुर क्रिकेट मैदान र पुल्चोकमा खेलिएका खेलमा नेपालले एउटै जितेन । दुई वर्षपछि २०५७ सालमा नेपालले पहिलो पटक ‘यु–१९ विश्वकप’ मा भाग लियो । त्यसपछिका दिनमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागितासँगै आफूलाई खार्दै अघि बढ्यो । आईसीसी ट्रफी, एसीसी इलाइट कप, एसीसी फास्ट ट्र्याक नेसन्स कप, एसीसी इमर्जिङ नेसन्स कप, एसीसी ट्वेन्टी–ट्वेन्टी, विश्व क्रिकेट लिग डिभिजनका विभिन्न प्रतियोगितामा खेल्दै जित, हार र अनुभव बटुल्दै खारिँदै ‘वान डे’ खेल्ने मान्यता पाएको नेपालले अहिले एसिया कपमा क्रिकेटका महाशक्तिराष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो, जहाँ पराजयका बावजुद गतिलो सम्भावना भएको टिमका रूपमा फेरि एक पटक आफूलाई उभ्याउन सफल भएको छ ।

खेल कूटनीति

सीमित साधनस्रोतका बावजुद नेपाली क्रिकेट सफलताको यो मुकाममा आइपुगेपछि अब यो खेलको विकास र विस्तार आम चासोको विषय बन्दै गएको छ । भौतिक पूर्वाधारका हिसाबले खेलाडीले जे–जस्तो अभाव भोग्दै आएका छन्, त्यसलाई उच्च प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न सरकारतिर दबाबका औंला उठ्न थालेका छन् ।

क्रिकेटका लागि आवश्यक सुविधासम्पन्न रंगशालाहरूको निर्माण पहिलो अनिवार्य सर्त हो । कीर्तिपुर स्टेडियममा फ्लड लाइट राखिहाल्ने भन्दै हल्लीखल्ली गर्ने प्रचण्ड सरकारले अहिलेसम्म त्यसको व्यवस्था गर्न सकेको छैन । भर्खर टेन्डर प्रक्रियामै छ । मूलपानीमा भएका दुइटा मैदानमध्ये एउटामा खेल सुरु भए पनि अर्को निर्माणकै क्रममा छ । प्रादेशिक स्तरमा पनि रंगशालाहरू निर्माणका क्रममा छन् । सरकारको पहिलो कार्यसूची यी भौतिक संरचनाहरूको द्रुत निर्माण हुनुपर्छ । क्रिकेटका लागि पूर्वाधार विकास जति द्रुत हुन्छ, त्यति नै छिटो क्रिकेटले नयाँ गन्तव्य पहिल्याउने निश्चित छ । एसिया कपमा विश्वविजेता देशसँग भिडेको देखेका नेपाली दर्शकले भविष्यमा नेपाली टिमलाई विश्वकप क्रिकेटमै खेलिरहेको देख्न सक्नेछन् । एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्न पाएको नेपालले टेस्ट क्रिकेटको मान्यता पाउन सक्नेछ ।

यो अपार सम्भावना भएको क्षेत्रलाई अब सरकारले किनाराको विषय बनाउनु हुँदैन । यो खेलको विकास र विस्तारका लागि बृहत् रणनीतिक योजनाको खाँचो छ । अर्थात्, अब नेपालले क्रिकेट कूटनीतिको बाटो हिँड्नुपर्छ । क्रिकेटबाट खेल पर्यटन र आर्थिक समृद्धिको भाष्य त निर्माण भयो तर नेपाल खेल कूटनीतिको अवधारणामा प्रवेश नै गरेको छैन । त्यसकारण अब खेल पर्यटनबाट एक कदम अघि बढेर सरकारले क्रिकेट कूटनीतिको अवधारणा विकास गर्नु जरुरी छ ।

हामी यस्तो भौगोलिक अवस्थितिमा छौं, जहाँ भूराजनीतिक जटिलता मात्रै छैन, सँगै क्रिकेटका महाशक्तिराष्ट्रहरू पनि छन् । जसरी हामीले आर्थिक रूपमा समृद्ध राष्ट्रसँग सन्तुलित कूटनीति अख्तियार गर्न सक्दा त्यसको लाभ लिन सक्छौं, त्यसरी नै खेल कूटनीतिबाट पनि फाइदा लिन सकिन्छ ।

विदेशनीतिमा चुक्दै र अपरिपक्व देखिँदै आएको नेपालका लागि खेल कूटनीति परको विषय हो भन्ने तर्क गर्न सकिन्छ । तर, यस्तो हीनताबोध पालेर कहिलेसम्म बस्ने ? क्रिकेटले देखाएको सम्भावनापछि अब यो विषय बुझ्न र यसमा थप विमर्श गर्न ढिलो गर्नु हुँदैन ।

आपसी कलह र मनमुटाव भएका देशहरूले संवादको वातावरण बनाउन ‘खेल कूटनीति’ को अख्तियार गर्छन् भन्ने आम बुझाइ छ । चीन र अमेरिकाबीचको ‘पिङपङ डिप्लोमेसी’ लाई त्यही रूपमा अर्थ्याइन्छ पनि । सन् १९७१ मा बेइजिङमा यी दुई राष्ट्रका खेलाडीले टेबल टेनिस टुर्नामेन्ट खेलेपछि तनावपूर्ण सम्बन्ध सुध्रिएको विश्वास गरिएको थियो । र, त्यो खेललाई ‘पिङपङ डिप्लोमेसी’ को संज्ञा दिइएको थियो ।

कैयौं देशले खेल कूटनीतिलाई ‘सफ्ट पावर’ का रूपमा लिने गरेको पनि पाइन्छ । अमेरिका, अस्ट्रेलिया लगायतले खेल कूटनीति कार्यान्वयनका लागि बेग्लै विभाग नै गठन गर्ने गरेका छन् । रणनीतिक योजना बनाएरै खेल कूटनीतिलाई उच्च प्राथमिकतामा राख्ने प्रचलन बढिरहँदा नेपाल यसबाट बेखबर छ । खेल कूटनीति अख्तियार गर्न अर्को देशसँग तनावपूर्ण सम्बन्ध हुनैपर्छ भन्ने होइन । खेलको विकास, खेलबाट लिन सकिने सबै खाले लाभलाई आफ्नो राष्ट्रको उच्चतम हितमा राख्न पनि खेल कूटनीतिलाई अख्तियार गर्ने गरिन्छ । जस्तो कि, जारी एसिया कपकै कुरा गरौं । भारतले पाकिस्तानको भूमिमा नखेल्ने अडान राखेपछि ‘तटस्थ भूमि’ श्रीलंकामा म्याच भयो । यदि हामीसँग अन्तर्राष्ट्रिय स्तरको खेल प्रतियोगिता गर्ने रंगशाला भएको भए, क्रिकेट कूटनीतिको कौशल भएको भए त्यो ‘तटस्थ भूमि’ नेपाल पनि बन्न सक्थ्यो ।

हामी जुन भूराजनीतिक अवस्थितिमा छौं, यहाँ हरेक देशका आ–आफ्नै चासो र स्वार्थ छन् । भूराजनीतिक टकरावका अनेक सम्भावना छन् । भारत र पाकिस्तानबीचको वैमनस्य जगजाहेरै छ । यो पृष्ठभूमिमा भविष्यमा कुनै पनि दिन खेल कूटनीति एउटा अर्थपूर्ण पक्ष हुन सक्छ । खेलले ठूला भूराजनीतिक मुद्दाहरूलाई प्रभावित गर्न नसक्ला तर जनस्तरमा संवाद बढाउने, समझदारीका अवसरहरू खोल्ने र साझा हितहरूमा जोड्ने काम गर्न सक्छ । त्योभन्दा बढी नेपालको हकमा क्रिकेट खेलाडीले प्रतियोगिताका धेरै मञ्च पाउने वातावरण बन्छ, जसले हाम्रा क्रिकेटरको व्यावसायिकता र ‘एक्स्पोजर’ पनि बढाउनेछ ।

क्यानले पाठ नभुलोस्

क्रिकेटको विकास र यसको व्यावसायिकताको चर्चा गरिरहँदा क्यानको भूमिका बिर्सन मिल्दैन । सरकारजत्तिकै गम्भीर क्यान पनि हुनुपर्छ । नेपाली क्रिकेट यति बेला उज्यालो युगतिर अग्रसर छ । तर, यसका काला पक्षहरू पनि छन्, जसलाई भुल्न मिल्दैन । नयाँ नेतृत्व चयन प्रक्रिया चल्दै गर्दाको यो बेला झन् भुल्न मिल्दैन ।

एकपछि अर्को सफलताको सिँढी उक्लँदै गरेको क्रिकेटमा क्यानको नेतृत्वदायी तहमा बसेका मान्छेहरूका काला कर्तुतहरूका कारण धब्बा लागेको दृष्टान्त पुरानो भएको छैन । अति राजनीतीकरण, क्रिकेटका शून्यप्रायः गतिविधि, निराश र मनोबल गिरेका खेलाडी, आर्थिक अपारदर्शिता र अनियमितताका घटना लगायतका कारण नेपाली क्रिकेट आईसीसीको निलम्बनमै पर्‍यो । र, अब नेपाली क्रिकेटको आकाशमा लागेको कालो बादल बिस्तारै हट्दै छ । चरम राजनीतीकरणका कारण अस्तव्यस्त क्यान अब सम्हालिन थालेको छ ।

क्रिकेटको लोकप्रियता र प्रभाव बढ्न बलियो क्यान चाहिन्छ । त्यसकारण विगतका काला पक्षहरूलाई नमीठो पाठका रूपमा लिँदै क्यानले नयाँ नेतृत्व चयन गर्न सक्नुपर्छ । पूर्वकप्तान पारस खड्काको बागमती प्रदेश क्रिकेट संघमा भएको ‘इन्ट्री’ लाई आशाको नजरले हेरिएको छ । केन्द्रीय तहको नेतृत्व चयनमा पनि विवादरहित, आर्थिक हिसाबले स्वच्छ, क्रिकेटप्रति समर्पित, यस सम्बन्धी ज्ञान र सीप भएका मानिस नेतृत्वमा पुग्नुपर्छ । क्रिकेटको विकास र विस्तारका लागि सरकारलाई घचघच्याउन सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रसँग गतिलो समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ ।

हामीसँग क्रिकेटलाई माया गर्ने दर्शक छन्, यसको लोकप्रियता र आकर्षण बढ्दो छ । यो खेलले सम्पूर्ण नेपालीलाई भावनात्मक एकतामा बाँध्न सक्छ, देशको प्रतिष्ठा बढाउन सक्छ, सबैलाई एकै चोटि खुसी दिन सक्छ र ऊर्जा थप्न सक्छ । विश्वस्तरीय क्रिकेटका मेगा इभेन्टहरू गर्न सके त्यसले देशलाई आर्थिक लाभ पनि दिन्छ । यस्तो बहुलाभ दिन सक्ने क्रिकेटको बृहत्तर हितका लागि सरकारले क्रिकेट कूटनीतिको रिक्त मैदानमा ऊत्रिन ढिलो गर्नु हुँदैन । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: