Loktantra Khabar National Weekly
Ad

नेपाल प्रेस

लोकतन्त्र खबर
२१ भाद्र २०८०

धर्मो रक्षति रक्षत :

धर्मको रक्षा गर्न सके धर्मले पनि रक्षा गर्छ। धर्म भनेको विवेक, न्याय, समानता, चोरी, झुट, छलकपट, स्वार्थ र पक्षपातरहित शुद्ध सेवा भाव हो।  अरूको अप्रिय बोली व्यवहारबाट आफ्नो चित्त दुख्छ। त्यस्तो बोली व्यवहार अरूप्रति नगर्नु, चाहिनेभन्दा बढी धनसम्पत्ति नजोड्नुजस्ता धर्मका १० लक्षणहरू धर्मशास्त्रमा उल्लेख छन्। त्यस्तै धर्म भनेको वस्तुगत स्वभाव पनि हो। पानीको स्वभाव भिजाउने, आगोको पोल्ने, वायुको प्राण सञ्चार गर्ने, सूर्यको प्रकाश दिने, पृथ्वीको धान्ने , आकाशको आवाज वा वायुलाई बाटो खुलाउने यी पञ्चतत्त्वले आफ्नो आफ्नो धर्म –कर्तव्यपालन गरिरहेका छन्। यिनको स्वभाव वा काम कर्तव्यमा थोरै तलमाथि भयो भने संसार हल्लिन्छ, भूकम्पले पृथ्वीको स्वाभाविक गतिमा थोरै तलमाथि पार्दा कत्रो हाहाकार मच्चिन्छ, ज्यूधनको क्षति हुन्छ। त्यस्तै धर्ममा विचलन आउँदा वा जबर्जस्त धर्म परिवर्तन गर्न खोज्दा समाजमा द्वन्द्व बढ्छ। अशान्ति र विद्रोहको स्थिति सिर्जना हुन्छ। ज्यूधनको क्षति हुन सक्छ।

जीवित राष्ट्र बन्नका लागि सामाजिक, भौगोलिक, आर्थिक र सांस्कृतिक आधार चाहिन्छ। अरू आधार भएर पनि सांस्कृतिक आधार भत्कियो भने राष्ट्रै रहँदैन, धर्म संस्कृतिले समाजलाई जोडेको हुन्छ। समाजशास्त्रका पिता मानिने फ्रान्सेली विद्वान् इमाइल दुर्खिमले भन्नेका थिए, मानव समाजको एकीकरणात्मक शक्ति भनेको धर्म हो। आफ्नो राष्ट्रियतासँग  जोडिएको धर्मलाई अन्धविश्वास भन्दै घृणा गर्नेहरू देशभक्त होइनन्।  महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए धर्मबिनाको विज्ञान लंगडो हुन्छ, विज्ञानबिनाको धर्म अन्धो । स्वधर्म स्वजातीय तत्त्व हो भने परधर्म विजातीय तत्त्व हो। विजातीय तत्त्वको प्रवेशले विसंगति विकृति बढाउँछ र अन्त्यमा त्यसले मूलतत्त्वलाई नै नष्ट पार्न सक्छ।

पृथ्वीनारायण शाहले नेपाल नै असली हिन्दुस्थाना हो भनेको कुरा सत्य हो। विश्वको शिरोभाग सगरमाथाको देश वेदादि शास्त्रको उद्गमस्थल ज्ञानभूमि, तपोभूमि, देवभूमि नेपाल नै वास्तविक हिन्दुस्थान हो।  धर्म नै  राष्ट्रको मूल जिम्मेवारी हो।

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्ति क्षेत्र, वराह क्षेत्र, त्रिवेणी, गढीमाई छिन्नमस्ता, मनकामना, पाथीभरा पिण्डेश्वर, हलेसी महादेव, देवघाटधाम, शैलेश्वरी, बढिमालिका, चन्दननाथ, कालीमाता, गणेश भैरवजस्ता अनेक देवीदेवताहरूको क्रीडास्थल हो। महर्षि वेदव्यास, राजर्षि जनक, सीतामाता, गौतमबुद्ध, गुरु गोरखनाथ, पाणिनि, पृथ्वीनारायण शाह, बहादुर शाह, भक्ति थापा, बलभद्र कँुवर, अमरसिंह थापा, उजिरसिंह बस्नेत, भीमसेन थापा, भीम मल्ल, कालु पाण्डे, लखन थापा, अरनिको, भृकुटी, भानुभक्त, योगमाया, फाल्गुनन्द, योगी नरहहरिनाथ, पासाङ लामु शेर्पाजस्ता अनेकौं ज्ञानि, ध्यानी, तपस्वी, ऋषिमुनि, सिद्ध पुरुष, राष्ट्रनिर्माता, राष्ट्ररक्षक, राष्ट्रिय विभूति, सहिद, साहसी, हिमाल आरोही, वीर वीरंगनाहरू र पौरखी, कलाकर्मीहरूको जन्मथलो, सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, दूधकुण्ड, दूधपोखरी, कञ्चनजँघा, खप्तड लेक, रारातालसहितका प्रसिद्ध हिमशिखर, हिमतालसहितका, मनोरम प्रकृत्तिले शोभायमान देवस्थल, तीर्थस्थलहरूका कारण संसारभरका धर्म संस्कृतिका पारखी प्रकृतिप्रेमीहरू नेपालप्रति आकर्षित भएर नेपाल हेर्न घुम्न आइरहेका छन्। यस्तो धार्मिक ऐतिहासिक र प्राकृतिक महत्त्व रहेको हाम्रो महान् देश नेपाल हो।

हामी बसुधैव कुटुम्बकम भनेर संसारभरका सबै मानिसलाई आफ्नै परिवार ठान्छौं र सम्मान गछौं। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः भन्दै सबैको सुख कल्याण र आरोग्य चाहन्छौं। कसैको कुभलो चाहँदैनौं। यो नै  महानता हो।

धर्म प्रत्यक्ष नदेखिए पनि धार्मिक मानिसहरूको जीवन–व्यवहारमा धर्मको लक्षण झल्कन्छ। मानिसको बोली व्यवहारवाट आस्तिक नास्तिक छुट्ट्याउन सकिन्छ। धार्मिक मानिसमा सकारात्मक सोच दयामायाको भावना, बोलीव्यवहार शिष्टता नम्रता झल्कन्छ। धार्मिक मानिस शान्त, सहनशील र धैर्यवान् हुन्छन्। दुःख सुख वा मान अपमानमा  आत्तिने, मात्तिने गर्दैनन् अस्थिर चचल हुँदैनन्।

तसर्थ हामीहरूले हीनभाव, क्षुद्रपन र सानो मन गर्न हुन्न। महानता दर्शाउन सक्नुपर्छ। क्षणिक स्वार्थ र पदको घमण्ड देखाउन हुन्न। फरक धर्म मान्ने अल्पसंख्यक धार्मिक समुदायहरूको अस्तित्व स्वीकार्ने र तिनको सम्मान गर्न सक्नुपर्छ। उनीहरूसँग पनि सद्भाव र मित्रताको व्यवहार देखाउन सक्नुपर्छ। हामी हिन्दुहरू प्रतिशत संख्याका हिसाबले धेरै छौं।

त्यसैले हामीले अल्पसंरक्षक धार्मिक समुदायको पनि अभिभावक र संरक्षकको भूमिकामा रहन सक्नुपर्छ। त्यो आँट र धैर्य हामीसँग छ। यो नै महानता हो। यही महानताका कारण आज संसारमा हिन्दु धर्म दर्शनको महिमा महत्त्व बढ्दै गइरहेको छ। हामीले धैर्यपूर्वक आफ्ना काम, कर्तव्यलाई निरन्तरता दिएर गन्तव्यमा पुग्न सक्नुपर्छ।     

प्रतिक्रिया दिनुहोस्: