Loktantra Khabar National Weekly
Ad

नेपाल : सम्भावनाहरूको राजमार्ग

लोकतन्त्र खबर
२० भाद्र २०७९

सबै मिलेर गरेर हेरौं त, देश कसरी समुन्नत नहुँदो रहेछ ! तर, काम गर्नुभन्दा अघि हामीले देशको पछौटेपनको कारक बनेका राजनीतिक बिचौलियाहरूलाई कुनै न कुनै माध्यमले ठेगान लगाउन जरुरी छ।

प्रकृतिले हाम्रो देशलाई मुख्यतः तीनवटा कुरा दिएको छ– उर्बरभूमि, जलस्रोत र हिमशृंखला। त्यसबाहेक अनेकौं पुराताŒिवक स्थल र धार्मिक सम्पदा छन्। अनि छन्, वनजंगल, अन्यत्र कतै नपाइने जीवजन्तु र चराचुरुंगी अनि मनोरम फाँट र पहाडहरू। अन्वेषण हुन बाँकी खानीका अनेक क्षेत्रहरू छन्। यति सानो भूगोलभित्र रहेको जातीय एवं सांस्कृतिक विविधता हाम्रो अर्को अनमोल सम्पत्ति हो।

हामीसँग समुद्री मार्ग छैन भनेर चिन्ता गरेर बस्ने होइन। भएकै सम्पत्तिको सदुपयोग गर्दै अघि बढ्ने हो। त्यसका लागि कृषि, पर्यटन र वन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्छ। कृषि भनेको सबैभन्दा कम लगानीमा देशको परनिर्भरता घटाउँदै समुन्नतिको मार्गमा लैजान सक्ने क्षेत्र हो। तर, बढ्दो उत्पादन लगतका कारण लगानी र मिहिनेतअनुसारको आर्जन नहुने स्थिति छ। बजारको सुनिश्चितताको अभावका कारण युवा खेतबारी बाँझो राखेर विदेश पलायन हुन बाध्य छन्। तिनलाई स्वदेशमै स्वरोजगारीको अवसर दिलाउँदै खाद्यान्न र फलफूलमाथिको देशको परनिर्भरता घटाउन सकिन्छ। यसका लागि पालिकाहरूमार्फत कुन क्षेत्रमा केके उत्पादन वा पालनको सम्भावना छ भन्ने कुराको पहिचान गर्नुपर्छ। त्यसपछि बजारको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ। कृषिमा लाग्न निश्चित वर्षसम्म अनुदान दिने व्यवस्था गर्नुपर्छ।

वर्षात् सुरु भएसँगै छिमेकी भारतका कृषियोग्य जमिनहरू जलमग्न हुन पुग्छन्। असार, साउन र भदौ भारतीय बजारमा तरकारीको माग उच्च हुन्छ। ती बजारलाई लक्षित गरी पहाडी भूभागमा मूला, काउली, बन्दाकोभी, सिमी, बोडी, स्कुस, टमाटर, रायोको साग, धनियाँ आदिको उत्पादन गर्नु उत्तम उपाय हुन्छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा उत्पादित तरकारी केही घण्टामा दिल्ली पु¥याउन सकिन्छ। एक नम्बर प्रदेशमा उत्पादितलाई सिलिगुडी, पटना आदि सहरहरूमा पठाएर बेच्न सकिन्छ। सरकारी स्तरबाट पहल गरेर काँकडभिट्टाबाट २२ किलोमिटरको दूरीमा रहेको बंगलादेश निर्यात गर्न सकिन्छ।

नेपालमा हाल ५६ लाख घरपरिवार छन्। त्यसमध्ये २७ लाख परिवारले बाख्रापालन गरिरहेको सरकारी तथ्यांक छ। तर व्यावसायिक पालन हुन नसक्दा बर्सेनि करोडौंको खसीबोका आयात भइरहेको छ। खसीबाख्रापालन नेपालका जुनसुकै क्षेत्रमा गर्न सकिन्छ। यसलाई व्यावसायिक बनाउने हो भने खसीबाख्रा आयातलाई प्रतिस्थापन गर्न सक्छौं। भेडा र खरायो पालनलाई प्रोत्साहित गरेर जीवनस्तरमा सुधार ल्याउन सक्छौं। लोकल कुखुरा, कालिज र ट्राउट माछापालन गरेर समाज र राष्ट्रलाई समृद्ध बनाउन योगदान दिने वातावरण सिर्जना गर्न सक्छौं। केशर, ड्रागनफल, एभोकाडोजस्ता महँगा फलफूलको उत्पादनलाई प्रवद्र्धन गरेर केही वर्षमै सयौं हामी अर्बपति बनाउन सक्छौं। अर्गानिक चिया, अकबरे खोर्सानी, अलैंची आदिको उत्पादनबाट पनि ठूलो रकम भिœयाउन सक्छौं।

गाईभैंसी पालन गरेर पाउडर दूध आयातलाई प्रतिस्थापन मात्र होइन, विदेश निर्यात गरेर आय आर्जन गर्न सम्भव छ। दक्षिणका सीमावर्ती बजारहरूमा त काँचो दूधकै माग अथाह छ, ठूलो संख्यामा गाईभैंसी पालन अर्को विकल्प बन्न सक्छ। दाल, सिमी, बदाम, ओखर, अनार, सुन्तला, स्याउ के उत्पादन हुँदैन नेपालमा ? काजु र किसमिस मात्रै होला, हामीकहाँ उत्पादन नहुने। विडम्बना, राज्य सञ्चालकहरूमा देश बनाउने भिजन नहुँदा यस्ता वस्तुमा पनि विदेशी मुद्रा खर्चन बाध्य छौं।

आश्चर्यलाग्दो कुरा त यो छ कि निर्यात गर्नुपर्ने मौलिक परिकार गुन्द्रुक र सिन्की पनि चीनबाट आयात गर्छौं। बाँस खेतीको सम्भावना अथाह छ तर दाँत कोट्याउने सिन्कासमेत प्रतिवर्ष करिब तीन करोडको आयात हुन्छ। प्लास्टिकका डाला र नाङ्ला आयात गरिरहेका छौं। बाँस, निगालो, बेत आदिको खेतीलाई प्रोत्साहित गर्दै परम्परागत सीपको जगेर्ना गर्ने हो भने उमेर ढल्केका हजारौंले रोजगारी पाउन सक्छन्। तिनबाट फर्निचर र खेलौना आदि बनाएर विश्व बजारमा बेच्न सक्छौं। नाङ्ला, डालाजस्ता वस्तुहरू भारतको पश्चिम बंगाल, बिहार र बंगलादेशमा निर्यात गर्न सक्छौं।

प्रकृतिले हाम्रो देशलाई मुख्यतः तीनवटा कुरा दिएको छ– उर्बरभूमि, जलस्रोत र हिमशृंखला। त्यसबाहेक अनेकौं पुरातात्तिवक स्थल र धार्मिक सम्पदा छन्। अनि छन्, वनजंगल, अन्यत्र कतै नपाइने जीवजन्तु र चराचुरुंगी अनि मनोरम फाँट र पहाडहरू। अन्वेषण हुन बाँकी खानीका अनेक क्षेत्रहरू छन्। 


पर्यटकलाई देखाउन हामीसँग अनेकौं ऐतिहासिक, पुरातात्तिवक स्थलहरू छन्। मठमन्दिर र तपोभूमिहरू छन्। राष्ट्रिय निकुञ्ज र आरक्षहरू छन्। हिमाली ताल, झरना र हिमशृंखलाहरू छन्। अन्यत्र कहीँ नपाइने फूल, फल, पुतली, चराचुरुंगी, जीवजन्तु र मनोरम फाँटहरू छन्। जातीय र सांस्कृतिक विविधता छ।

छिमेकी देश चीनबाट अचेल प्लास्टिकको कुचोसमेत आयात हुन थालेको छ। यसै खेर गइरहेका डाँडापाखामा अम्रिसो लगाउने हो भने आयात रोकिने मात्रै होइन, भारतको ठूलो बजारमा बिक्री गरी मनग्ये आर्जन गर्न सक्छौं। अहिले भइरहेको अम्रिसोको व्यापारलाई कम्तीमा दस गुणा बढाउन सक्छौं। डाँडापाखामा अम्रिसो लगाउँदा भूक्षय पनि कम हुन्छ। पशुपालनलाई घाँस र खोले पकाउने दाउरा उपलब्ध हुन्छ। बहुउपयोगी यो बिरुवा रोप्ने अभियानलाई देशव्यापी बनाउने हो भने हजारौंले रोजगारी पाउँछन्।

सरकारको गलत नीति र कर्मचारीहरूको गलत रवैयाका कारण देशभरका वन कार्यालयका परिसरमा हजारौं क्युफिट काठ बर्सेनि सड्ने गरेको छ। छिटो हुर्कने रुखहरू लगाउन सकिने हजारौं हेक्टर जमिन उपयोगहीन छन्। हामी भने झ्याल, ढोका, चौकस, फर्निचर आदि आयात गरेर बर्सेनि अर्बौं रकम विदेश पठाइरहेका छौं। योभन्दा चर्को विडम्बना अरू के हुन सक्छ ? झापा, मोरङ र सुनसरीका केही क्षेत्रमा सुपारी, नरिवल, मरिच आदि खेतीको सम्भावना बलियो छ। मधेसकै जस्तो गर्मी हुने पूर्वी पहाडका खोचहरूमा पनि यिनको खेती गर्न सकिन्छ। यसलाई व्यापक र व्यावसायिक बनाउने हो भने ती वस्तुको आयात प्रतिस्थापन गर्न सकिन्छ। विदेश गइरहेको अर्बौं रुपैयाँ जोगाउन सकिन्छ। सयौंलाई स्वेदशमै रोजगारी दिन सकिन्छ।

मधेसमा माछापालनको सम्भावना अथाह छ। आन्ध्र प्रदेशबाट नकुहिने विषादी हालेर ल्याइएका माछा खाइरहेका छौं। सुनसरीको भन्टाबारीबाट पुलिसको मिलेमतोमा भित्रिने यस्ता विषाक्त माछा अब बहिष्कार गर्नुपर्छ। मधेसका किसानलाई माछापालनमा प्रोत्साहित गर्ने हो भने ठूलो रकम जोगाउन सक्छौं, ताजा माछा खान सक्छौं। विषाक्त माछाका कारण उत्पन्न हुने क्यान्सरजस्ता दीर्घ रोगहरूबाट भावी पुस्तालाई बचाउन सक्छौं। जडीबुटी उत्पादन तथा प्रशोधन अर्को प्रचुर सम्भावनाको क्षेत्र हो। मधेसदेखि उच्च हिमाली भेगसम्ममा बोझोदेखि यार्सागुम्बासम्मका अनेक जडीबुटी उत्पादन हुन्छन्। बाबा रामदेवको स्वामित्वको पतञ्जली र डाबर कम्पनीसँग सम्झौता गरेर तिनको मागबमोजिमका जडीबुटी उत्पादन मात्रै गर्ने हो भने हजारौं किसानको जीवनस्तर कायापलट हुन केही वर्ष पनि लाग्दैन। यतिसम्म कि वन चरेर अघाउने स्थानीय प्रजातिका
गाईपालन गर्ने मात्रै हो भने पनि तिनको प्रशोधित पिसाब राम्रै मूल्य लिएर बेच्न सकिन्छ।

गाँजा खेती त नेपालको अर्थतन्त्रको मूल मेरुदण्ड नै बन्न सक्छ। विदेशीको आदेशमा लगाइएको प्रतिबन्ध अविलम्ब फुकुवा गरी यसको खेती तथा प्रशोधनलाई व्यापक बनाउने हो भने हामी बर्सेनि अर्बौं होइन, खर्बमा आर्जन गर्न सक्छौं। बिदेसिएका हाम्रा युवालाई फर्काएर स्वदेशमै उद्यमशील हुने वातावरण निर्माण गर्न पनि गाँजामाथिको प्रतिबन्ध हटाउन जरुरी छ।

अहिले जेलहरूमा क्षमताभन्दा दोब्बरको संख्यामा कैदी राखेर उकुसमुकुस बनाइएको छ। तिनलाई बिनाकाम खान दिएर पाल्ने र पोस्ने काम भइरहेको छ। त्यसको सट्टा अब खुला जेलको अवधारणा कार्यान्वयन गर्दै कैदीहरूलाई कृषि उत्पादनको काममा लगाइनु पर्छ। भोजपुरका कैदीलाई बर्दियाको राजापुर लगेर खेती गराउनु पर्छ। जनकपुरका कैदीका जुम्ला लगेर स्याउ रोप्ने, गोड्ने इत्यादि काममा लगाइनु पर्छ। जाजरकोटका कैदीलाई जनकपुर लगेर पोखरीहरू सरसफाइ गराउन सकिन्छ। खेर गइरहेका हजारौं पहाडका डाँडापाखामा अनार, अम्बा, कागती लगाउन सकिन्छ। मधेसमा तटबन्ध र वृक्षरोपणको काम गराउन सकिन्छ। कैदी बन्दीहरू भाग्न नदिन सैनिकहरूलाई खटाउन सकिन्छ। यति गर्न सक्ने हो भने जेलमा कोचिएर डिप्रेसनसहित अनेक रोगको सिकार बनिरहेका कैदीबन्दीहरूले स्वस्थ हुन पाउँछन्। तनावमा दिनरात गुम्सिनु पर्ने छैन। उपचारमा लाग्ने राज्यको खर्च बच्छ। सामाजिक अन्तरघुलन हुन्छ। देशका लागि काम गरें भनेर आत्मगौरव बढ्छ।

हामीसँग जलस्रोतको अथाह भण्डार छ। हिमाली भेगको स्वच्छ र मीठो पानी बोतलमा बन्द गरी अरब देशहरूमा पठाउन सक्ने हो भने पनि पानीबाटै प्रशस्त आम्दानी गर्न सक्छौं। जल सम्पदाहरूमा विद्युत् उत्पादन गृहहरू बनाउन अब राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ। यहाँ खपत भएर बचेको विद्युत् भारत र बंगलादेशलाई पनि बेच्न सक्छौं। जलविद्युत् आयोजनाहरू विदेशीलाई दिने होइन, नेपाली जनताको लगानी जुटाएर नेपाल विद्युत् प्राधिकरणमार्फत बनाइनु पर्छ। यसो गर्दा सेयर लगानी गर्ने जनता प्रत्यक्ष लाभान्वित हुन पाउँछन्।

प्रचुर विद्युत् उत्पादनसँगै लामो दूरीमा चल्न सक्ने विद्युतीय सवारी साधनहरूको उत्पादनमा जोड दिनुपर्छ। त्यसका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाएर काम गराउन सकिन्छ। ठाउँठाउँ विद्युतीय चार्जिङ स्टेसन बनाउन सकिन्छ। विद्युत् महसुल अझै सस्तो बनाउँदै लगेर सबै नेपालीका भान्साबाट ग्यास सिलिन्डरलाई अभियानकै रूपमा प्रतिस्थापित गर्न सकिन्छ। पेट्रोलियम पदार्थको आयात बर्सेनि घटाउँदै लैजाने हो भने पनि अहिले गइरहेको देशको ठूलो धन जोगाउन सकिन्छ। जोगिएको त्यो धन विकासकै अन्य काममा लगाउन सकिन्छ।

कम लगानीमा चाँडो समृद्धि हासिल गर्न सकिने अर्को क्षेत्र भनेको पर्यटन हो। चीनको जनसंख्या अहिले १ अर्ब ४५ करोड छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड छ। दक्षिण एसियाली छिमेकीको ७ करोड गरी कुल ३ अर्ब ३३ करोड जनसंख्या हाम्रै छिमेकमा छ। जुन विश्वको कुल जनसंख्याको ४१.४० प्रतिशत हो। पछिल्लो अध्ययनअनुसार कूल ३ अर्ब ३३ करोडमध्ये ५ प्रतिशत मध्यम खालका धनी, एक प्रतिशत एकदमै धनी र १० प्रतिशत राम्रोसँग खर्च गरेर संसारभर घुमफिर गर्न सक्ने हैसियतका छन्। ती १६ प्रतिशत अर्थात् ५२ करोड मानिसका लागि लक्षित गरेर भौतिक पूर्वाधारको विकास र जनशक्तिको तयारी ग¥यौं भने पर्यटनबाट मुलुकलाई केही वर्षमै कायापलट गर्न सक्छौं।

पर्यटकलाई देखाउन हामीसँग अनेकौं ऐतिहासिक, पुराताŒिवक स्थलहरू छन्। मठमन्दिर र तपोभूमिहरू छन्। राष्ट्रिय निकुञ्ज र आरक्षहरू छन्। हिमाली ताल, झरना र हिमशृंखलाहरू छन्। अन्यत्र कहीँ नपाइने फूल, फल, पुतली, चराचुरुंगी, जीवजन्तु र मनोरम फाँटहरू छन्। जातीय र सांस्कृतिक विविधता छ। नेपाली मात्रको अर्को महŒवपूर्ण सम्पत्ति मुहारमा देखिने निश्चल मुस्कान हो। दुःखमा पनि हाँस्न सक्ने भनेर हामी विश्वप्रसिद्ध छौं। हामीले चाह्यौं भने आएका पर्यटकलाई मक्ख बनाएर महिनौं राख्न सक्छौं।

ती ५२ करोडलाई भिœयाउने लक्ष्य राखिरहँदा तेजस्वी दिमाग भएका विनम्र व्यवस्थापक र पथप्रदर्शकहरूको तयारी गर्नुपर्छ। विदेशमा पर्यटन पढेर आएका ‘ब्रिलियन्ट’ विद्यार्थीका माध्यमबाट धनी मानिस के चाहन्छन् ? मध्यम धनी के चाहन्छन् ? खर्च गर्न सक्ने मानिस केमा खर्च गर्न चाहन्छन् ? आदिबारे गम्भीर अध्ययन अनुसन्धान गर्न जरुरी हुन्छ। खेर गइरहेको यो पर्यटन क्षेत्रको विकास नगरी भएकै छैन। त्यसका लागि कम्तीमा तीन वर्ष राष्ट्रकै ध्यान एकीकृत गरिनु पर्छ। पर्यटन प्रवद्र्धनका लागि नागरिक स्तरमै अभियान सञ्चालन गरिनुपर्छ। स्तरीय होटेल निर्माण गरिरहेका व्यवसायीहरूलाई प्रोत्साहित गर्नुपर्छ। स्थानीय पालिकाहरूमार्फत गाउँगाउँमा होमस्टेको विकाससँगै सरसफाइ अभियान सञ्चालन गरिनुपर्छ। विमानस्थलबाट नेपाली भूमिमा प्रवेश गर्नासाथ उनीहरूमा पर्ने नकारात्मक प्रभावबाट जोगाउन सहरहरू हरबखत सफा राखिनुपर्छ।

राजमार्ग आसपासका होटेलमा बेचिने खानाको गुणस्तर र तिनले गर्ने रुखो व्यवहारमा एकदमै कडा निगरानी राखिनु पर्छ।

हाम्रो देश भनेको आदिकालदेखि ऋषिमुनिहरूले तपस्या गरेको तपोभूमि हो। यस्ता तपोभूमिमा अहिले पनि कयौं साधुसन्त तपस्या गरिरहेका भेटिन्छन्। इलामको सलकपुर भृङ्गी ऋषीले तपस्या गरेको ठाउँ हो भने बराहक्षेत्र मास्तिरको राजारानी अर्को तपोभूमि हो। कौशिकी नदी किनारमा बसेर तपस्या गरेका बेला ऋषि विश्वामित्रले पहिलोपटक गायत्री मन्त्र पाएको विश्वास गरिन्छ। काठमाडौंको पशुपतिनाथमा त महाभारतकालमा अर्जुन नै आएर पाशुपतास्त्रका लागि साधना गरेका थिए। उनका दाजु भीम र भाउजू हिडिम्बाले तपस्या गरेको ठाउँ अहिलेको हेटौंडा हो। हिडिम्बालाई अहिले भुटनदेवी भनेर पुज्ने गरिन्छ।

त्रेता युगका राजा जनकको तपोभूमि जनकपुर, रामका भाइ भरतले देह त्याग गरेको ठाउँ म्याग्दीको गलेश्वरधाम, ऐतिहासिक कालका मूर्ति नै मूर्ति भेटिने सर्लाहीको मूर्तिया, सिन्धुपाल्चोक, म्याग्दी, जुम्ला आदि जिल्लामा रहेका तातोपानीका कुण्डहरू हाम्रा अनमोल सम्पदा हुन्। मात्र मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न र आएकाहरूलाई दक्षिणकाली, हलेसी, मुक्तिनाथ आदि क्षेत्रमा पनि जाउँजाउँ लाग्ने बनाउन जरुरी छ।

दक्षिण भारतमा जन्मिएका स्वामी गोविन्दानन्द भारतीले काठमाडौं उपत्यका मास्तिरको शिवपुरीमा ४० बसेर तपस्या गरेका थिए। त्यहाँ बसेर तपस्या गरेकै कारण उनी पछिल्लो समय शिवपुरी बाबा भनेर कहलाइएका थिए। उनी १ सय ३५ वर्ष बाँचेर बितेका थिए। जीवित छँदा उनलाई भेटेर आशीर्वाद लिन तत्कालीन भारतीय राष्ट्रपति राधाकृष्णनन्समेत आएका थिए। मृगस्थलीमा रहेको उनको समाधिस्थल र उनको तपस्यास्थलको मात्रै प्रचार गर्ने हो भने पनि भारतबाट हजारौं तीर्थयात्रु ल्याउन सक्छौं।

हिमाञ्चल प्रदेशको कुनै सरकारी अस्पतालमा चिकित्सक रहेका खप्तडबाबाले वर्षौं बसेर साधना गरेको खप्तड क्षेत्र, पाइलटबाबाले तपस्या गरेर सिद्धि प्राप्त गरेको मकवानपुरको राप्ती किनार क्षेत्र आदिको यथोचित प्रचारप्रसार हुनै सकेको छैन। काठमाडौंमा नागार्जुन, दक्षिणकाली, शोभाभगवतीजस्ता अनेक ठाउँ छन्, जुन तन्त्र साधनासिद्धिका लागि प्रसिद्ध छन्। स्वयम्भू बुद्ध धर्मका अनुयायीहरूको तन्त्र साधना गर्ने अर्को प्रसिद्ध स्थल हो। ताप्लेजुङमा रहेकी देवी पाथीभरा, इलामको माइपोखरी, संखुवासभाको सभापोखरी, खोटाङको हलेसी, दोलखाको कालिञ्चोक, नारायणी किनारको त्रिवेणीधाम, वाल्मीकि आश्रम, देवघाटको व्यास गुफा, व्यासको जन्मभूमि व्यासनगर, मुक्तिनाथ, गलेश्वरधाम, पाणिनि ऋषिले संस्कृत व्याकरणका रचना गरेको ठाउँ अर्घाखाँचीको पणेना, गुल्मीको रिडी क्षेत्र, दाङको स्वर्गद्वारी, सुदूरपश्चिमको खप्तडजस्ता क्षेत्रहरूको यथेष्ट प्रचारप्रसार मात्रै गर्ने हो भने भारतबाट बर्सेनि लाखौंको संख्यामा तीर्थालु भिœयाउन सकिन्छ।

बुद्धभूमि लुम्बिनीको विकासमा केही काम भएका छन्। हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएकाले पनि यस क्षेत्रको केही प्रचार भएको छ। तर त्यो क्षेत्रमा हामीले भौतिक पूर्वाधारको विकास अझै गर्न सकेका छैनौं। लुम्बिनीमा जन्मेका गौतम बुद्ध र स्वयम्भूमा तपस्या गर्ने स्वयम्भू बुद्धका बारेमा लेखिएका ऐतिहासिक पुस्तकहरूलाई पुनःमुद्रण गरेर थाइल्यान्ड, बर्मा, जापान, भुटान आदि देशमा प्रचारप्रसार गर्ने हो भने बर्सेनि लाखौं पर्यटक भित्र्याउन सक्छौं। तर, सरकारले बाटाघाटाको गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ। आन्तरिक भ्रमणमा स्वतःस्फुर्त निस्कनेहरूको संख्या पनि बर्सेनि बढिरहेको छ।

विदेशी मुद्रा आर्जन गर्न सकिने अर्को क्षेत्र अस्पतालहरूको विस्तार पनि हो। केही वर्षदेखि लाहानको चौधरी आँखा अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची आँखा अस्पताल आदिमा पाइने गुणस्तरीय उपचारका लागि भारतको बिहार, पश्चिम बंगाल, असमसहित उत्तर–पूर्वी भारतका मानिस आउने गरेका छन्। देशलाई समृद्ध बनाउने अर्को आधार भने उद्योग हो। उद्योगमैत्री वातावरण नभएकै कारण हाम्रा उद्योगी व्यापारीहरू नयाँ उद्योग खोल्न हिचकिचाउने गरेका छन्। विदेशमा पुँजी लगेर लगानी गर्न बाध्य छन्। यो स्थिति आउनुको पहिलो कारण सरकारको गलत नीति, दोस्रो मजदुर संगठनहरू हुन् भने तेस्रो सरकारी कर्मचारी र दलका भ्रातृ संगठनहरूले उनीहरूप्रति गर्ने गलत व्यवहार हो। केही दलले त आमजनमानसमा उद्योगी व्यापारी र पुँजीपतिहरू भनेका सबै दलाल, फटाहा र करमारा मात्रै हुन् भन्ने मानसिकताको विकास गरिदिएका छन्। यसरी सिंगो समुदायलाई अपमानजनक दृष्टिले हेरिनु हुन्न।

देशलाई समुन्नतिको बाटोतर्फ लैजाने हो भने उद्योगी व्यापारीप्रति सम्मानजनक व्यवहार गर्दै देशमै लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ। उद्योग दर्ता, नवीकरण या अन्य काम गर्दा उनीहरूले कुनै प्रकारको पनि बाधा या अड्चन व्यहोर्नु नपर्ने प्रणालीको विकास गर्नुपर्छ। उद्योगमैत्री वातावरण बनाउन केके गर्न जरुरी छ भनेर उनीहरूलाई नै सोध्नुपर्छ। तिनको तत्काल समाधान गर्न सम्बन्धित निकाय परिचालित गर्नुपर्छ। यसका लागि औद्योगीकरणको दशक भनेर अभियान नै सञ्चालन गर्नुपर्छ।

अब हामी सबै मिलेर यति गरेर हेरौं त, देश कसरी समुन्नत नहुँदो रहेछ ! तर यी काम गर्नुभन्दा अघि हामीले देशको पछौटेपनको कारक बनेका राजनीतिक बिचौलियाहरूलाई कुनै न कुनै माध्यमले ठेगान लगाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्: