मनोज यादव—
सर्लाही,माघ २३ गते
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं.११ गम्हरीयामा सोमबार राती भएको सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन भने एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागमती नगरपालिका वडा न-११ कर्मैयाका ४५ वर्षीय बिनोद घिमिरे रहेको छ।उनको एलेक्स न्युरो अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राती पौने ८ बजेको समयमा नवलपुर-मलंगवा सडकमा चमेली माईको मन्दिर नजिक सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको नापी कार्यालयका कर्मचारीहरु सवार बि.आर ०६ पि.डी ९६४८ नम्बरको भारती सफारी गाडी नवलपुरतर्फ नै जाँदै गरेको ज २ त १०६७ नम्वरको उखु बोकेको ट्याक्टरमा पछाडिबाट ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिएको छ।
घाईते हुनेहरुमा काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय नापी कार्यालयका प्रमुख संजय मानन्धर, मलंगवा न.पा-३ का ५० वर्षीय बैधनाथ पटेल,महोत्तरीका २५ वर्षीय अजय यादव, महोत्तरीकै ३० वर्षीय बैजु यादव ,मलंगवा न.पा-३ का ३५ वर्षीय रामलाल साह,कौडेना गाउँपालिका वडा न-२ का २४ वर्षीय संजित मण्डल, धनुषाको सहिदनगर नगरपालिका वडा न-७ का २९ वर्षीय दिपेन्द्र यादव ,बागमती न.पा कर्मैयाका ४५ वर्षीय विनोद घिमिरे(उपचारको क्रममा उनको मृत्यु भइसकेको छ),बाराको कलैया उपमहानगरपालिका-२० का २४ वर्षीय शाहिद अनवर ,मलंगवा न.पा-७ मुसैलीका ३४ वर्षीत रामबाबु राय र महोत्तरीको एकडारा गाउँपालिका-२ का २० वर्षीय रिटेन यादव रहेका छन ।उनीहरु सबै नापी कार्यालय मलंगवाका कर्मचारीहरु रहेका छन् ।
दुर्घटनामा गम्भीर घाईतेहरु मध्ये ५ जनाको कलैया ४ जनाको बिरगंज र एकजनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहरहेको छ। नापी कार्यालयका प्रमुख मानन्धरसहित केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिएको छ।
उखु बोकेको ट्याक्टरका चालक फरार रहेको छ।
एकैसाथ ठुलो संख्यामा कर्मचारीहरु दुर्घटनामा परेर घाइते हुँदा नापी कार्यालय मलंगवाको माहोल दु:खद भएको छ।साथै सो कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामहरु रोकिएको छ।

