Loktantra Khabar National Weekly
Ad

मलंगवा बजार सडक अतिक्रमण गरेर राखिएका फुटपात पसल तथा अव्यवस्थित सवारी पार्किङका कारण दुर्घटनाको जोखिम बढ्यो

लोकतन्त्र खबर
१९ माघ २०८०

मनोज यादव—
सर्लाही,माघ १९

सर्लाहीको सदरमुकाम मलंगवाको नवनिर्मित सडकको पेटी तथा किनारमा राखिएका ठेला, फुटपाथे पसल तथा जथाभावी रुपमा पार्किङ गरि राखिएका सवारीसाधनहरुका कारण दुर्घटनाको जोखिम बढेको छ ।

जिल्लाकै सबैभन्दा एपुरानो र पहिलो मलंगवा नगरपालिकाको सडक झण्डै चार दशक सम्म साँघुरो र कच्ची अवस्थामा रहेको थियो । लामो समयको अन्तराल पछि बल्लतल्ल केही महिना अगाडी सडकलाई ८ मिटरबाट फराकिलो पारेर १५ पिचिङ्ग गरि नगरलाई व्यवस्थित पारिएको थियो। तर सडक फराकिलो र पिचिङ्ग गरेको केही दिनपछि नै नगरको अवस्था पहिलेको जस्तै बनेको छ।

यहाँका ब्यापारीहरु आफ्ना पसल अगाडीको फुटपाथ कब्जा गरि सामानहरु राखेका छन् भने सानातिना व्यापारीहरु समेत अती व्यस्त सडक तथा अधिक भीडभाड रहने स्थानमा ठेला तथा पसलहरु राखेर दुवैतर्फको सडक अतिक्रमण गरेका छन् । त्यस्ता पसल र ठेलाहरुका कारण सडकमा चारपाङ्ग्रे मात्र नभइ दुई पाङ्ग्रे सवारीसाधनलाई समेत आवतजावतमा कठिनाइ भइरहेको छ।

जाडोको मौसम चलिरहेकोले मलंगवामा अहिले न्यानो कपडाको व्यापारका लागि सडक नै अतिक्रमण गरी कपडा पसलहरु सञ्चालन गर्नेहरु बढेका छन् । बजार भरीको सडक कपडा,फलफुल,नास्ता लगायतका पसलहरुले भरिएका छन् । यसले पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको स्थानिय धिरोज यादवले बताए । उनका अनुसार फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नुपर्दछ ।

फुटपाथ व्यवसायका कारण सडक साघुँरो हुने र दुर्घटनाको जोखिम बढ्ने स्थानीयहरुको भनाइ छ । नगर क्षेत्रका सडक फुटपाथ व्यवसायका कारण अस्तव्यस्त साँघुरो बनेकाले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने नागरिक समाज सर्लाहीका सदस्य गजेन्द्र गुप्ताको माग छ ।

मलंगवाको पुरानो बसपार्क ,बालमन्दिर चौक,प्रादेशिक अस्पताल,नगरपालिका चौक,भगवती मन्दिर र नेपाल बैंक अगाडीको अतिव्यस्त सडकमा जथाभावी रुपमा पार्किङ गरेर राखिएका सवारीसाधन तथा पसल र ठेलाहरुले गर्दा दिनहुँजसो दुर्घटनाहरु हुने गरेको नागरिक समाजका गुप्ताले बताए ।

मलंगवाको सहिद चौकदेखि राजश्री सिनेमा हलसम्मको मुख्य सडकलाई ८ मिटरबाट बढाएर १५ मिटर गरेता पनि जनघनत्वका कारण बजार अस्तव्यस्त भएको स्विकार गर्दै यसलाई जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरेर आइतवारदेखि व्यवस्थित गर्दै लाने प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो ।

फुटपाथे पसलहरुले गर्दा सटरमा पसल गरेका व्यापारीहरुको व्यवसायमा समेत असर परेको व्यापारीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: