Loktantra Khabar National Weekly
Ad

जाजरकोट अस्पतालमा काम गर्ने डाक्टरलाई मासिक १ लाख भत्ता

लोकतन्त्र खबर
४ माघ २०८०

भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई ‘नेपाल मेड नेपाल’ नामक संस्थाले प्रति महिना एक लाख भत्ता दिने भएको छ।

कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।

नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

दुर्गम क्षेत्रमा करारमा काम गर्न डाक्टरहरूले चासो देखाउने गरेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ता मिलाउन उक्त संस्थासँग पहल गरेकी थिइन्।

‘करारमा नवौं तहमा काम गर्ने डाक्टरले दुर्गम भत्ता, जोखिम भत्ता जोडेर १ लाख ९ हजार जति पाउँछन्,’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भनिन्, ‘थप एक लाख भत्तापछि डाक्टरहरू जाजरकोट जाने अपेक्षा छ।’

डाक्टर समेत रहेकी सांसद कार्की भूकम्पका बेला ३५ दिन जाजरकोटमै बसेर स्वास्थ्य उपचारमा समेत खटिएकी थिइन्। उनले अस्पतालमा डाक्टर अभाव देखेपछि नेपाल मेड संस्थालाई जाजरकोट अस्पतालमा सहयोगका लागि सम्पर्क गरिदिएकी थिइन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: