Loktantra Khabar National Weekly
Ad

माघ १ मा काठमाडौं आइपुग्छ मेलम्चीको पानी

लोकतन्त्र खबर
२७ पुष २०८०

मेलम्चीको पानी काठमाडौं पठाउन सुरू गरिएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ५ अम्बाथानमा रहेको बाँध क्षेत्रबाट पानी पथान्तरण सुरू गरिएको हो।

सुरूङ सफा गर्ने प्रयोजनका लागि मंगलबारदेखि पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

‘गेग्रान भरिएको एक नम्बर गेट सफा गरेर पानी पठाउन सुरू गरिएको छ। सफा पानी बग्न थालेपछि नियमित प्रक्रियाबाट पानी आउँछ,’ प्रवक्ता पन्तले सेतोपाटीसँग भने।

उनकाअनुसार अहिले प्रतिसेकेन्ड ६०० लिटर पानी पठाएर सुरूङ सफा गरिँदैछ।

ग्याल्थुम, सिन्धुखोला अडिट र सुन्दरीजलतर्फबाट सुरूङ सफा भइरहेको पन्तले बताए। सुरूङबाट सफा पानी बग्न थालेपछि प्रतिसेकेन्ड दुई हजार लिटर पानी पठाउन सुरू गरिने आयोजनाले जनाएको छ।

‘यस वर्षको बाढीले बढी नै क्षति पुर्‍याएपछि सुरूङमा पनि थेग्रिनी पसेको अनुमान गरेका थियौं। सुरूङ सफा हुन कति समय लाग्छ भनेर यकिन भइसकेको छैन। सामान्यतयाः ४–५ घन्टामै सुरूङ सफा भइसक्छ। तर धमिलो पानी पसेकाले सफा हुन समय लाग्ने देखिएको हो, थेग्रिनी पसेको रहेछ भने झन् समय लाग्छ,’ उनले भने।

सुरूङ सफा भइसकेपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं पथान्तरण हुने पन्तले बताए। ‘अघिल्ला वर्षहरूमा अलिअलि गरेर पानी पठाएका थियौं। यसपटक पनि हामी त्यसैगरी पानी पठाउनेछौं। माघ १ गतेसम्म काठमाडौंमा सफा आउने गरी काम भइरहेको छ,’ उनले भने।

पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच २८ दिनभित्र काठमाडौंमा पानी पथान्तरण गर्ने गरी सम्झौता भएको थियो। दुई सिफ्टमा काम गरेर भए पनि पुस मसान्तभित्र पानी पथान्तरण गरिसक्ने आयोजनाको लक्ष्य थियो।

‘लक्ष्यभित्रै सुरूङमा पानी पठाउन सुरू गरेका छौं,’ पन्तले भने। उनले बाँध क्षेत्र सफा गर्न लागेको खर्च यकिन भइनसकेको बताए। सुरूङ र बाँध क्षेत्र निर्माणको जिम्मा पाएको सिनो हाइड्रोको म्याद डिसेम्बरसम्म मात्र थियो।

आयोजनाले ठेक्काको म्यादभित्रै बाँध क्षेत्र सफा गर्न आग्रह गरेको हो।

‘ठेकेदार कम्पनीले गरेको खर्च परामर्शदाताले स्वीकृत गरेपछि मात्रै भुक्तानीको प्रक्रियामा जान्छ। त्यसकारण पनि कति खर्च लाग्यो भनेर भन्न नसकिएको हो,’ उनले भने।

असोजबाट नै सुख्खायाम सुरू भए पनि आयोजनाले तीन महिना ढिलो गरेर अस्थायी तरिकाले पानी पथान्तरणको काम सुरू गरेको हो।

यसअघि भुक्तानी बाँकी रहेको भन्दै परामर्श दाता कम्पनी र ठेकेदारले काम गर्न मानेका थिएनन्। ‘भेन्डरहरू’ले पनि बक्यौता नपाउँदासम्म बाँध क्षेत्र सफाइको काम हुन नदिने बताएपछि काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ।

अहिले काठमाडौंमा अस्थायी तवरले पानी ल्याउन लागिएको छ। स्थायी तरिकाले पानी ल्याउन सुरूङको मुखमा बाँध बनाउनुपर्ने हुन्छ। अहिले बाढीले तहसनहस बनाएको बाँध क्षेत्र, झन्डै एक दर्जनजति गेटहरू नखोतली सिधै सुरूमा खोला हालेर पानी ल्याइएको छ। सहायक सुरूङमार्फत् हालिएको पानी मुख्य सुरूङसम्म पुगोस् भनेर बीचमा ठूलो पाइप प्रयोग गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ।

दिगो रूपमा पानी ल्याउन अहिले पुरिएकै स्थानमा पुनः बाँध क्षेत्र बनाउन नहुने दातृ निकाय एसियाली विकास बैंकले जानकारी दिएको छ।

उसले अम्बाथान (अहिले हेडवर्क्स भइरहेको स्थान) बाट झन्डै एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्न सुझाव दिएको छ। एसियाली विकास बैंकले गत सेप्टेम्बरमा बुझाएको विस्तृत प्रतिवेदन अध्ययन भइरहेको पन्तले जानकारी दिए।

वारिपारि दुवैतिर पहिराको जोखिम रहेकाले अम्बाथानमा बाँध क्षेत्र कायम गर्न नहुने उसको सुझाव छ।

अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी लागत रहेको छ भने नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भएको छ।

काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्ब बढी नै रूपैयाँ खर्च भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनलायले यो काम गरिरहेको छ।

सर्कथली क्षेत्रमा बाँध सार्दा ४ अर्बभन्दा बढी लागत थपिने आयोजनाको आकलन छ। अम्बाथान क्षेत्रमा हेडवर्क्स बनाउन मात्रै १ अर्बभन्दा बढी खर्च भएको पन्तले बताए।

‘हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग, सर्कथलीदेखि अम्बाथानसम्म सुरूङ, हेडवर्क्सको सर्भे, डिजाइन, निर्माण, सुपरिवेक्षण आदिका हिसाबले बाँध सार्न ३ देखि ४ अर्ब लागत थपिने अनुमान गर्न सकिन्छ,’ उनले भने।

२० करोडभन्दा बढी लागत खर्चिएर दुई हिउँद काठमाडौंमा अस्थायी तवरले पानी ल्याइएको थियो। यस वर्ष गेग्रान नछिरोस् भनेर १ नम्बर र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरणसमेत राखिएको थियो।

साउन २८ र २९ गते आएको बाढीले ती संरचना पुरेको आयोजनाको भनाइ छ। बाँध क्षेत्र सार्दा थप तीन वर्ष अस्थायी तवरले नै पानी काठमाडौं पथान्तरण गर्नुपर्ने पन्तले बताए।

‘पर्याप्त भौगर्भिक, वातावरणीय अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन नै ६–७ महिना लाग्छ। त्यसपछि ठेक्का लाग्न ६ देखि ९ महिनासम्म लाग्छ,’ उनले भने, ‘यसअघि हेडवर्क्स तयार गर्न लागेको समयलाई आधार मान्दा पनि कम्तीमा तीन वर्ष लाग्ने देखिन्छ,’ पन्तले भने।

पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने, दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड लिटर पानी थपेर दैनिक ५१ करोड लिटर पानी पुर्‍याउने आयोजनाको लक्ष्य थियो।

त्यसका लागि लार्केसम्म पुग्ने पहुँच मार्गका लागि मुआब्जा वितरण भएर ट्र्याकसम्म खोलिसकेको अवस्थामा बाढी, पहिरोले त्यहाँ पनि क्षति पुर्‍याएको आयोजनाले बताएको छ।

मेलम्चीको हेडवर्क्स सार्दा याङ्ग्री र लार्के परियोजनाकोसमेत डिजाइन बदल्नुपर्ने अवस्था आउने पन्तले बताए।

‘लार्केको पानी याङ्ग्रीमा मिसाउने गरी आयोजना अघि बढेको थियो। हामीले अहिले अपनाउन खोजेको प्रविधिअनुसार खोलाको पानी थिग्य्राएरमात्रै खोलामा सुरूङमा हाल्नुपर्छ। थिग्य्राएको पानी पुनः खोलामा मिसाउन मिल्दैन। त्यसकारण मेलम्चीको हेडवर्कस सार्दा यी सबैमा विचार पुर्‍याउनुपर्ने हुन्छ,’ उनले भने।

अम्बाथानको हेडवर्क्स सार्दा लार्के र याङ्ग्रीको पानी प्राविधिक हिसाबले खसाल्न मिल्ने÷नमिल्ने अध्ययन हुन बाँकी रहेको पनि पन्तले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: