Loktantra Khabar National Weekly
Ad

शीतलहरले विपन्न परिवारको जनजीवन कष्टकर, पराल ओछ्याएर सुत्न बाध्य

लोकतन्त्र खबर
२६ पुष २०८०

अजिता चौधरी–

सर्लाही २५ पुष । विगत केही दिनदेखि बढेको शीतलहरका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ ।सर्लाहीका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो ।

जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका गरिब तथा विपन्नहरूको जनजीवन शीतलहर र ठन्डीले कष्टकर बनाएको छ । पर्याप्त मात्रामा ओड्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन् ।

जिल्लाका गरिब तथा विपन्नहरूका बस्तीमा यतिबेला उनीहरूको सहारा पराल बनेको छ । पराल नै ओछ्याएर पराल नै बालेर तापेर उनीहरू रातदिन कटाउन बाध्य भएका छन् । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने दलित तथा विपन्नहरूको बस्तीमा कामको अभावमा उनीहरू घरमै पराल तापेर बस्न बाध्य भएका छन् ।

चिसोका कारण दैनिक ज्याला मजदुरी गर्नसमेत उनीहरूलाई समस्या परेपछि  घरै बस्न बाध्य भएका हुन् । चिसोका कारण अहिले बालबालिकामा विभिन्न रोग देखापर्न थालेको र आफुहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको मलंगवा ३ दलित बस्तीकी रमतोरिया मालीले बताइन् ।

सर्लाहीका विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै सामग्री वितरण नगरेको उनीहरूको गुनासो रहेको छ । तराई मधेसका जिल्लामा हरेक वर्ष शीतलहरीका कारण सर्वसाधारणहरू पीडित बन्दै आएका छन् । केही दिनदेखिको लगातारको शीतलहरी र चिसो हावाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ भने गरिब तथा विपन्न बस्तीका सर्वसाधारण यसको मारमा परेका छन् ।

गरिब तथा विपन्न बस्तीको अवस्था यतिबेला दर्दनाक रहेको छ । उनीहरू पराल ओछ्याएर सुत्न बाध्य रहेका छन् भने परालै ओडेर दिन कटाउन बाध्य बनेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न बस्तीका सर्वसाधारणका लागि स्थानीय तहले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसक्दा सर्वसाधारणहरू मारमा परेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

पानी नै चुहिने फुसको घरमा तप तप चुहिने शीतलहरीको बेलामा समेत उनीहरु पराल ओछ्याएर कष्टकर तरिकाले रात तथा दिन बिताउन बाध्य भएको ब्रह्म्पुरी गाउपालिकाका शतेन्द्र चमारले गुनासो गरे ।

सर्लाही सहित तराई मधेसका जिल्लाहरूमा हरेक वर्ष जाडोले कठ्याङ्ग्रिय र मर्नेहरूको सङ्ख्या समेत बढ्दै जाँदा पनि स्थानीय तह तथा प्रदेश सरकारले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्: