Loktantra Khabar National Weekly
Ad

२ करोडको गाडी चढ्थे बमजन, ५ करोडको नयाँ गाडी किन्न दिएका थिए अर्डर

लोकतन्त्र खबर
२५ पुष २०८०

एउटा गाडी र चारवटा मोटरसाइकल बरामद

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ।

सोमबार बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनलाई सिआइबीले आज सार्वजनिक गरेको हो।

सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए।

उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए। एसपी अधिकारीका अनुसार त्यसका लागि बमजनले ३ करोड बुझाइसकेका थिए।

बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

सोमबार साँझ प्रहरी पुगेको सूचना पाएपछि बोमजन घरबाट हामफालेर भाग्न लाग्दा सिआइबीको टोलीले उनलाई पक्राउ गरेको थियो।

बमजनको घरबाट तीन करोड रूपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो।

बमजनलाई आजै साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: