Loktantra Khabar National Weekly
Ad

सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

लोकतन्त्र खबर
२५ पुष २०८०

काठमाडौं  पुस २५, बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए ।

आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।  उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् ।

के हो मुद्दा ?

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परेका थिए । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: