Loktantra Khabar National Weekly
Ad

बुढानिलकण्ठ नगरका सब-इन्जिनियरसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

लोकतन्त्र खबर
२४ पुष २०८०

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दुई जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारको टोलीले मंसिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत उनले सेवाग्राहीसँग घुस लिएको प्रवक्ता थपलियाले बताए।

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलेमतोमा घुस लिएको अख्तियारको दाबी छ।

अख्तियारले सब इन्जिनियर टिकाराज राईलाई घुस रकम ८० हजार बिगो कायम गरी त्यसबमोजिमको जरिवाना र चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।

यस्तै यसमा टिकाराजलाई अख्तियारले मुख्य अभियुक्त बनाएपनि रामचन्द्रलाई मतियारको रूपमा सजाय मागदाबी गरेको छ। उनलाई राष्ट्रसेवकलाई दिइने सजायको आधा सजाय दिन अख्तियारले मागदाबी गरेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: