Loktantra Khabar National Weekly
Ad

अचेल कहाँ जान्छन् बिसहजारी तालमा आउने पाहुना चरा ?

लोकतन्त्र खबर
२४ पुष २०८०

बिसहजारी ताल रामसार सूचीबाटै हट्ने चिन्ता

चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार क्षेत्रमा पर्ने बिसहजारी ताल कुनै बेला चरा अवलोकन गर्ने पर्यटकको आकर्षणको केन्द्र थियो।

यहाँ २७३ प्रजातिका चराहरू भेटिन्थे। सिमसार क्षेत्रमामात्रै आश्रित ६० प्रजातिका चरा यो एकै ठाउँमा पाइन्थे। विश्वमै दुर्लभ मानिएका १४ र नेपालमा दुर्लभ मानिने २३ प्रजातिका चराहरू यहाँ देखिन्थे।

हिउँद लागेपछि विभिन्न देशबाट आइपुग्ने चराहरूले पर्यटकलाई लोभ्याउँथे।

किराफट्याङ्ग्रा, माछा, उभयचर-सरीसृप, स्तनधारी प्रजातिको पनि बासस्थान थियो यो क्षेत्र। स्वच्छ पानीले भरिएको यो तालको वरपर पाटे बाघ, एक सिंगे गैंडा, जंगली हात्ती, मगर र घडियाल गोही, सुनगोहोरो, भुँडीफोर गरूड, जीवाहारा महाचील, उत्क्रोशी फ्यालफ्याले, मालक हाँस, बोक्सी चीलजस्ता दूर्लभ प्राणि सहजै भेटिन्थे।

अन्तराष्ट्रिय महत्वको यो सिमसार क्षेत्रलाई १३ अगष्ट २००३ मा रामसार सूचीमा सूचीकृत गरियो। अन्तराष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील, संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थिकीय समुदायलाई आश्रय प्रदान गर्न सिमसारहरूलाई रामसारको सूचीमा सूचीकृत गरी संरक्षण गर्ने लक्ष्य राखेर रामसार महासन्धि बनेको थियो। नेपाल सन् १९८७ मा उक्त महासन्धिको पक्ष राष्ट्र बन्यो। सोही महासन्धिअनुसार सन् २००३ मा बिसहजारी ताललाई रामसार सूचीमा सूचीकृत गरेर संरक्षण गर्न थालियो।

तर बिसहजार ताल अहिले पानीमात्रैको ताल जस्तो बन्दै गएको छ। वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारी बिसहजारी तालमा अचेल चराहरू देखिनै छाडेको बताउँछन्।

‘दुर्लभ चराहरू हेर्न भनेर देश, विदेशबाट पाहुनाहरू आउँछन्। उनीहरू रामसार क्षेत्रमा सूचीकृत बिसहजारी तालका चरा हेर्न चाहन्छन्। तर बिडम्बना यो तालमा अचेल चराहरू देख्न असाध्यै मुस्किल छ,’ बिडारी भन्छन्, ‘पहुनालाई नजिकका अन्य तालमा लगेर चरा देखाउनु परेको छ।’

वर्ड एजुकेशन सोसाइटीले आइतबार गरेको ‘मिड–विन्टर वाटरवर्ड काउन्ट–२०२४’ मा बिसहजारी तालमा तीन प्रजातिका चराहरूमात्रै भेटिए। ती पनि रैथाने चरा थिए। सुइरो ठुँडे हाँस भनिने डार्टर एउटा, जल अप्सरा भनिने ज्याखना, आस्कोटे बकुल्ला भनिने पण्ड हेरनमात्रै भेटिए।

‘१५–२० वर्षअघि हिउँदमा यहाँ अन्य देशबाट बसाइसरेर आउने कम्तीमा ३०–४० प्रजातिका चराहरू देखिन्थे। ती चराहरू अचेल यो तालमा देखिनै छाडे। रैथाने सुइरो ठुँडे हाँस एकै ठाउँमा ३०–४० वटा देखिन्थे। अहिले एक–दुईवटामात्रै देखिन्छन्। ती पनि बिस्तारै हराउने चिन्ता छ,’ बिडारी भन्छन्, ‘यो अवस्थाले त बिसहजारी ताल रामसार सूचीबाटै हट्ने हो कि भन्ने चिन्ता छ।’

बिडारीकाअनुसार यहाँ पहिले ज्याकना चराहरू चार–पाँच सय वटासम्म देखिन्थे। मरूल भनिने कमन कुट सयौं संख्यामा देखिन्थे। सिलसिले भनिने लेसर ह्वीस्टिङ डक पनि निकै संख्यामा देखिन्थे। तर केही वर्षदेखि यी चराहरू यहाँ देखिनै छाडेका छन्। बिगतमा यो तालमा देखिने लामो सुइरे हाँस, बेल्चा ठूँडे हाँसहरू पनि अचेल देखिन छाडेका छन्।

बिसहजारी ताल अचेल झट्ट हेर्दा कञ्चन देखिन्छ। रूखको छायाँ तालको पानीमा छर्लङ्गै देखिन्छ। सुन्दर ताल हेर्न भनेर मान्छेहरू टिकट काटेर पुग्छन्। तर यहाँ चरा देखिन कम हुनुको कारण बिसहजार तालको फेरिएको स्वरूप पनि एक हुनसक्ने अनुमान चरा विज्ञहरूको छ।

‘माओवादी युद्धको समयतिर ताल पुरै घाँसले छोपिएको थियो। पछि घाँस, झार, उखेलेर ताललाई सफा बनाइयो,’ बिडारी भन्छन्, ‘पुरै झार फालेर सफा गर्दा चराहरूलाई सुरक्षित हुन लुक्ने ठाउँ पनि भएन। मान्छेको चहलपहल बढ्यो। पानीमा प्रदूषण पनि बढ्दै गएको छ। यसको असर यहाँको पारिस्थिकीय प्रणालीमा परेको हुनसक्छ।’

पहिले यहाँ देखिने केही चराहरू अचेल आसपासका अन्य तालहरूमा देखिन्छन्। बिसहजारी तालदेखि केही पर रहेको बाटुली पोखरीमा अहिले पनि बसाइसरेर आएका ग्रेट कर्मरेन्ट (जलेवा), कमन कुट (मरूल), रोडी सिल्ड डक (चखेवा)लगायतका धेरै प्रजातिका चराहरू भेटिएका छन्।

अति संकटापन्न अवस्थामा रहेको ग्रेटर एडजुटेन्ट स्टर्क (राजगरूड) पनि यहाँ देख्न पाइन्छ। जलपंक्षी गणनामा यहाँ यो प्रजातिका चारा ५ वटा देखिएका थिए। यहाँ सिलसिले हाँस पनि भेटिन्छन्। गत वर्ष जिल्लाभरमा १६८ वटा सिलसिले हाँस भेटिएको थियो। तीमध्ये धेरै यहाँ, चितवन राष्ट्रिय निकुञ्जभित्रको लामी तालमा रेकर्ड भएका थिए।

बाटुली पोखरीमा ठडिएका सुकेका रूखहरूमा यसपाली पनि ओपन बिल स्टर्क (धुँगीफोर) नामका चराहरूले गुँड लगाएका छन्। यी चराहरू चर्ने बेलामा विभिन्न ठाउँमा छरिन्छन्। तर बस्ने बेलामा यही पोखरीमा रहेका रूखमा रहेका गुँडहरूमा आइपुग्छन्। पहिले यिनीहरू प्रायः चेपाङ तालका रूखमा बस्थे। बाटुली पोखरीलाई ओरिन्टियल डार्टर(सुइरो ठुँडे), ज्याकना, क्रेक, किङ फिसर नामका चराहरूले पनि बासस्थान बनाएका छन्।

नेचर गाइड गजेन्द्र पोखरेलले बाटुली पोखरीमा २० भन्दा बढी प्रजातिका जलपंक्षीहरू देखिने गरेको बताए। उनले बढ्दो मानवीय चहलपहलले चराको संख्या भने घट्दै गएको बताए।

‘तालहरूलाई क्षणिक आनन्द लिन प्रयोग गरियो। तत्कालको आम्दानीका लागि मान्छेहरूको भिड बढाइयो। यसले संरक्षणलाई दीर्घकालीन बनाउन सकेको छैन,’ उनी भन्छन्, ‘पर्यटकहरूलाई चरा देखाउन ल्याउँदा खोजेका जस्ता चरा देखाउन सकिँदैन।’

पहिले धेरै चराहरू देखिने वरण्डाभार क्षेत्रकै कुमाल ताल र चेपाङ तालमा पनि अचेल धेरै चरा देखिन छाडेका छन्। चरा गणनाकाक्रममा कुमाल तालमा कमन टिल, कमन पोचार्ड, गडवाल, ग्रेट कर्मरेन्टलगायतका बसाइसरेर आएका ७ प्रजातिका चरा भेटिएका थिए। चेपाङ तालमा केही जलेवा र ग्रेट कर्मरेन्ट भेटिए।

वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरी चराहरू घट्दोक्रममा रहेको र भएका पनि अधिकांश संकटमा रहेको बताउँछन्। नदी, ताल, वन क्षेत्रमा बढ्दो मानवीय चापका कारण चराको बासस्थान मासिँदै गएको उनले बताए।

‘जलवायु परिवर्तनको असर पनि छ। खोला प्रदूषण बढेको छ, विषादी प्रयोग गरेर चारा मार्नेक्रम रोकिएको छैन,’ गिरी भन्छन्, ‘यसमा नियन्त्रण गरिएन भने केही वर्षमा धेरै चराहरू लोप हुन सक्छन्।’

उनले चराहरूको अवस्था, उनीहरूको बासस्थानबारेमा नियमित अभिलेख राखेर संरक्षणका लागि नीतिगत तहमा दबाब बढाउने उद्देश्यले हरेक वर्ष चराको गणाना गर्ने गरिएको बताए। यस वर्ष आइतबार पूर्वी चितवनका विभिन्न क्षेत्रमा एकै साथ जलपंक्षीको गणाना गरिएको छ। ८ समूहमा रहेका ६० जना प्रतिनिधिले चराको गणना गरेका छन्। पश्चिम चितवनमा माघ २ र ३ गते गणना गरिँदैछ। सबै क्षेत्रको गणनापछि चराहरूको तथ्यांक सार्वजनिक गरिन्छ।

नेपालमा सन् १९८७ देखि हरेक वर्ष जलपंक्षीको गणना हुँदै आएको अध्यक्ष गिरीले बताए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: