काठमाडौंको तार्केश्वर नगरपालिका-४ मिलन बस्ती बस्ने ३४ वर्षीय सुजन बस्नेतले काठमाडौं जिल्ला अदालतबाट आफ्नो सुन फिर्ता पाएका छन्।
जिल्ला अदालतका स्रेस्तेदार रामबाबु शर्माले सुजनको रानीहार अदालतभित्रै ‘मिसप्लेस’ भएको पाइएको र भेटेपछि शुक्रबार फिर्ता दिइएको बताए।
‘सरकारी वकिलमार्फत अदालतमा मुद्दा आउँदा दर्ता फाँटमा दर्ता भयो। अभियोगपत्रसहित आएको सुन दर्ता फाँटले दराजमा राख्यो। अभियोगपत्र दर्ता गरी भ्याएपछि कर्मचारीले सुन जिन्सी शाखामा बुझाए। यसरी बुझाउँदा सुनका केही टुक्रा त्यही दराजमा छुटेको रहेछ, त्यो बेला थाहा भएन,’ उनले भने, ‘त्यसैले जिन्सी फाँटमा जस्तो सुन आयो त्यही विवरण उतार्यो। जब सुजनजी आउनुभयो र आफ्नो सुन त्यस्तो थिएन भन्ने गुनासो गर्नुभयो हामीले के भएको भनेर सबै कुरा खोज्यौं।’
दर्ता फाँटमा रहेका कर्मचारीको पनि सरूवा भइसकेकाले यसबारे बुझ्न समय लागेको उनले बताए।
‘दर्ता फाँटका कर्मचारी सरूवा भएर गइसक्नुभएको थियो। उहाँसँग बुझ्न समय लाग्यो। उहाँसँग बुझ्दा अदालतमा आउँदा नै टुक्रा परिसकेको र सबै टुक्रा अदालतमा रहेको बताउनुभयो। छुटेको टुक्रा दराजमै छ कि भनेर भनेपछि हामीले खोज्दा भेट्यौं,’ उनले भने।
सुजनले पनि आफ्नो सुनको रानीहार अदालतबाट बुझेर शुक्रबार फिर्ता लिइसकेको बताए।
‘मलाई शुक्रबार बोलाउनुभएपछि अदालतमा गएको थिएँ। उहाँहरूले यतै कतै परेको रहेछ भनेर भन्नुभयो,’ सुजनले भने, ‘प्रहरीकहाँ देख्दा सिंगै हार थियो। अहिले चार टुक्रामा प्राप्त गरेँ।’
असोज ५ गते दिउँसो सुजनको मिलन बस्तीस्थित फ्ल्याटमा चोरी भएको थियो। चोरी भएको ४५ दिनपछि प्रहरीले यसमा संलग्न चार जनालाई पक्राउ गरेको थियो।
अनिल विक, रामचन्द्र घले, संचित तामाङ र सुशील भन्ने जितबहादुर घले पक्राउ परेका थिए।
उनीहरू पक्राउ परेपछि उनका गरगहना पनि बरामद भएका थिए। सुजनको घरमा चोरी भएकोमध्ये एउटा ७ लालको सुनको टुक्रा, ३१ लालको अर्को टुक्रा, ६५ लालको तिलहरी, २ तोला ३ लालको रानीहार र १ तोला १२ लालको बाला बरामद गरेको थियो।
मुद्दा दर्ता भई बकपत्र सकिसकेपछि सुजन सोमबार अदालतमा आफ्नो सुन फिर्ता लिन पुगेका थिए। तर सुन बुझ्नेबेलामा रानीहारका केही अंश नभेटिएपछि उनले नबुझी फर्केका थिए। उनले यसबारे स्रेस्तेदार रामबाबु शर्मालाई समेत जानकारी गराएका थिए।
त्यसपछि अदालत प्रशासनले यसबारे खोजबिन गरेको थियो। सेतोपाटी

