Loktantra Khabar National Weekly
Ad

बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

लोकतन्त्र खबर
११ पुष २०८०

जनकपुरधाम  पुस ११, बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।

डिएसपी न्यौपानेका अनुसार सिंहसहित ४ जनाको जनाको समूह नेपाल आएको सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताए ।

प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: