Loktantra Khabar National Weekly
Ad

१६ औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि

लोकतन्त्र खबर
१२ मंसिर २०८०

काठमाडौं  मंसिर १२, १६ औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागेको बताए ।

‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौं, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’ उनले भने ।

२०६२ सालमा सुरु भएको ढोरपाटन महिला डबल लिग २०७६ सम्म लगातार आयोजना भएको थियो । यसवर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने अध्यक्ष छन्त्यालले बताए ।

प्रतियोगिताका खेलहरु डबल राउण्ड रोविन लिगका आधारमा हुनेछ । उपत्यका बाहिरको टिमलाई खान बस्नका लागि ८० हजार रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।

यस पटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेर बिजेतालाई ५ लाख १ हजार र उपविजेतालाई २ लाख ५० हजार दिइने भएको छ ।

तेस्रो हुनेले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि ५१ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने क्लबको अनुमान छ । ढोरपाटन भलिबलको उपाधि हालसम्म सबैभन्दा धेरै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ७ पटक जितेको छ भने पोखराको ज्ञानुबाबा स्कुलले ५ पटक जितेको छ ।

यस्तै नेपाल पुलिस क्लब, रिड मोडल कलेज र बृभुवनले एक-एक पटक उपाधि जितेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: