Loktantra Khabar National Weekly
Ad

अन्तिम चरणमा पुग्यो निर्वाचनको तयारी

लोकतन्त्र खबर
१६ फाल्गुन २०८२

लालबन्दी, १६ फागुन – सर्लाहीमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार मतदान केन्द्रहरुमा पठाउनका लागि अहिले चारवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम भइरहेको छ ।

मतपत्र प्याकिङको काम सकिएपछि मतदान अधिकृतहरुलाई मतपत्र, मतपेटिका र निर्वाचन सामग्री समयमै बुझाएर मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत थपलियाले बताए । सर्लाहीका ३१२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन हजार ७०० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । निर्वाचनमा खटिन काठमाडौंसहित विभिन्न ठाउँबाट जिल्लामा थप मद्धतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत आइसकेका छन् । जिल्लामा उपलब्ध तथा थप मद्धतमा आएका प्रहरी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भइसकेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

सिडिओ कडरियाका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हिजोदेखि बिदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति र राजनीतिक दलसमेतको बैठकको निर्णय बमोजिम निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि बिदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी कडरियाले निर्णय बिपरीत सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटसहितका सवारी साधन हिजो बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिइरहेको बताए । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: