Loktantra Khabar National Weekly
Ad

प्रजनन केन्द्रहरूमा इजरायली बम हमला, जन्मदर ४१ प्रतिशतले घट्यो

लोकतन्त्र खबर
१६ माघ २०८२

काठमाडौं , १५ माघ । मयसेरा अल–कफर्ना नामकी एक प्यालेस्टिनी महिला अहिले पनि ती स–साना नीलो रङका कपडाहरू सुम्सुम्याउँछिन्, जुन उनले आफ्नो जन्मिन बाँकी सन्तानका लागि सजाएर राखेकी थिइन् ।

तर इजरायलको भीषण युद्धले उनको मातृत्वको सपनालाई मात्र चकनाचूर पारेको छैन, बरु सम्पूर्ण गाजा क्षेत्रको स्वास्थ्य प्रणाली र भविष्यमा सन्तानको योजना बनाइरहेका प्रजनन केन्द्रहरूलाई समेत तहसनहस बनाइदिएको छ ।

वर्षौँको प्रयासपछि ‘इन–भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) प्रविधि अपनाएकी अल–कफर्नाले युद्ध सुरु हुनुअघि नै आफ्ना चारवटा भ्रूणहरू एक प्रजनन केन्द्रमा सुरक्षित राखेकी थिइन् । इजरायली सेनाले उक्त क्लिनिकमै आक्रमण गरेपछि आफ्ना सुरक्षित भ्रूणहरू नष्ट भएको खबर सुन्दा उनलाई आफ्नै शरीरको अङ्गहरू गुमेको झैँ पीडा महसुस भएको छ । गाजाका चिकित्सा अधिकारीहरूका अनुसार इजरायलले यस क्षेत्रमा रहेका १० मध्ये ९ वटा प्रजनन क्लिनिकहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ, जसका कारण हजारौँ दम्पतीहरूको भविष्यको आशा निभाइदिएको छ ।

अधिकारवादी र संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरूले इजरायलको यस्तो कदमलाई सन् १९४८ को राष्ट्र सङ्घीय महासन्धिले परिभाषित गरे अनुरूपको ‘नरसंहारकारी नीति’ को संज्ञा दिएका छन् । राष्ट्रसंघको छानबिन आयोगका अनुसार इजरायलले जानाजानी प्रजनन क्लिनिक र प्रसूति वार्डहरूलाई निशाना बनाउनुको मुख्य उद्देश्य प्यालेस्टिनी जनताको जनसङ्ख्या वृद्धि र वंश विस्तारलाई रोक्नु हो । महासन्धिले ‘कुनै पनि समूहभित्र जन्म रोक्ने उद्देश्यले उपायहरू लाद्नु’ लाई नरसंहारका पाँच प्रमुख कार्यहरूमध्ये एक मानेको छ ।

सन् २०२४ को सेप्टेम्बरमा सार्वजनिक गरिएको प्रतिवेदनमा इजरायलले यीमध्ये चारवटा कार्यहरू गरेको पाइएको छ। यी कार्यहरूमा अल–बास्मा आईभीएफ क्लिनिकमा बमबारी गरी हजारौँ भ्रूण र प्रजनन सामग्रीहरू नष्ट गर्नु पनि रहेका छन् । इजरायली अधिकारीहरूलाई उक्त केन्द्र एक प्रजनन क्लिनिक हो भन्ने थाहा हुँदाहुँदै पनि आक्रमण गरिएको आयोगको निष्कर्ष छ ।

यस युद्धले प्रजनन स्वास्थ्यमा पारेको प्रभाव निकै भयावह देखिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा अघिल्ला वर्षहरूको तुलनामा जन्मदर ४१ प्रतिशतले घटेको छ। प्रत्यक्ष आक्रमणका साथै औषधि र खाद्यान्नको नाकाबन्दीका कारण गर्भवती महिलाहरू कुपोषणको सिकार भएका छन् भने गर्भपतन, प्रसूति जटिलता र नवजात शिशुहरूको मृत्युदरमा भारी वृद्धि भएको छ ।

हाल गाजाका करिब ५ लाख ४५ हजार प्रजनन उमेरका महिला र किशोरीहरू आधारभूत स्वास्थ्य सेवाबाट पूर्ण रूपमा वञ्चित छन् । यस्तो संकटपूर्ण अवस्थामा पनि डाक्टर अब्देल नासेर अल–कलहौत जस्ता विशेषज्ञहरूले भविष्यमा परिस्थिति सहज भएमा पुनः काम सुरु गर्ने र मानिसहरूमा आशा जगाउने विश्वास व्यक्त गरेका छन् । यद्यपि, इन्धन र तरल नाइट्रोजनको अभावले गर्दा बाँकी रहेका थोरै भ्रूणहरू पनि अझै जोखिममा छन् । यसले प्यालेस्टिनी जनताको आगामी पुस्तामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: