Loktantra Khabar National Weekly
Ad

सर्भर असाध्य स्लो हुँदा नागरिकता जारी हुन सकेन, सेवाग्राही मारमा

लोकतन्त्र खबर
३ मंसिर २०८२

मलंगवा, ०१ मंसिर – ‘सर्भर’ ले काम नगर्दा सर्लाहीमा आज नयाँ र प्रतिलिपी नागरिकता जारी हुन सकेको छैन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले उज्यालो अभियानसँग कुरा गर्दै केन्द्रबाटै सर्भरमा समस्या आउँदा आज बिहानदेखि देशैभर नागरिकता सम्वन्धी सेवा प्रवाह हुन नसकेको जानकारी दिएका छन् । सर्भरमा आएको प्राविधिक समस्या समाधानका लागि काम भइरहेको जानकारी प्राप्त भएको सिडिओ कडरियाले बताए ।
सर्भरमा आएको प्राविधिक समस्याका कारण सर्लाहीमा सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकतासम्वन्धी सेवा लिन पुगेका सेवाग्राही मारमा परेका छन् । यि तीन कार्यालयमा नागरिकता सम्वन्धी सेवा लिन पुगेका ३०० बढी सेवाग्राही प्रभावित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले त सूचना जारी गरेरै आज एक दिन नागरिकता सम्वन्धी सम्पूर्ण सेवा अवरुद्ध रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले टाढाबाट आएका सेवाग्राही कुरेर बस्नु नपरोस् भनेर सूचना जारी गरेरै जानकारी गराइएको बताएका छन् ।
प्राविधिक समस्या हल गर्ने प्रयास भइरहेको जानकारी पाएकाले यदि तत्कालै मर्मत भइहालेको खण्डमा आजै पनि सेवा सूचारु हुनसक्ने अवस्था रहेको सिडिओ कडरियाको भनाइ छ ।
नियमित सेवा प्रवाह भइरहँदा नै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा नयाँ तथा प्रतिलिपी नागरिकता लिन पुग्ने सेवाग्राहीको भिडभाड हुने गरेको छ । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: